काठमाडौं- आजकाल दीक्षान्त समारोहहरु कर्मकान्डी बनेका छन्-विद्यार्थीले प्रमाणपत्र पाउँछन्, क्याप उफार्छन् र अग्रभागमा आसिनहरुले केही शब्दका थुप्रो प्रस्तुत गर्छन्।
यही देशको मध्यसहर (पाटन)मा केही दिनअघि एउटा दीक्षान्त समारोह भएको थियो। तर, त्यसले त्यहाँ उपस्थित विद्यार्थीहरुलाई दीक्षाको अन्त होइन, दीक्षाको आरम्भ भएको महसुस गरायो। कतारका राजाको भ्रमणको कोलाहलमा त्यो विद्वत समारोहले अपेक्षित स्थान भने पाउन सकेन।
त्यो थियो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास)को पहिलो दीक्षान्त समारोह। 'पास' ले पहिलोपल्ट गरेको यो दीक्षान्त समारोह सभ्य, भव्य र गम्य रह्यो, जसका लागि प्रतिष्ठानका पदाधिकारी र कर्मचारीले मिहिनेत गरे। गम्य बनाउने भूमिका थियो, कैलाश सत्यार्थीको। बाल अधिकारका लागि विश्वभर परिचित उनी नोबेल शान्ति पुरस्कार तथा हार्भर्ड ह्युमेनेटेरियन अवार्डबाट पुरस्कृत भइसकेका छन्। उनले दीक्षान्त समारोह 'अन्त' नभएर 'आरम्भ' भएको महसुस गराए।
चिकित्सा शिक्षामात्रै होइन, मानवीयतासमेत मिसाएर पढाइरहेका कारण सत्यार्थी पासको निम्तो स्वीकारेर आइपुगेका थिए। झन्डै एक घन्टा लामो आफ्नो प्रवचनमा उनले मानवीयता, आफ्नो तर्फबाट अथक प्रयास र ज्ञानका बहुस्रोतबारे बुझाउने कोशिस गरे।
उनले सुरु गरे, 'युवा साथीहरु , आज तपाईंको दिन हो, तपाईं उत्सव मनाउनुहोस्। यो तपाईंको जीवनकै महत्वपूर्ण दिन हो।'
उनले सचेत गराए, 'तपाईंको अबको यात्रा अझै उत्साहप्रद र चुनौतीपूर्ण हुनेछ!'
त्यसपछि उनले आफ्नो मिहिनेतले डिग्री हासिल गरेको भन्ने हरेक दीक्षित विद्यार्थीको अभिमानको जरा काट्न थाले। त्यही क्रममा उनले भने, 'आज तपाईंको हातमा एउटा प्रमाणपत्र छ, जुन तपाईंको तपस्याको प्रतिफल हो। तर, त्यो तपाईंको तपस्याको मात्रै होइन । तपाईंको परिवारको, साथीको, शिक्षकको, प्रोफेसर सबैको हो।'
सुझाउँदै गए, 'तपाईं सर्वप्रथम तपाईंको आमाप्रति कृतज्ञ बन्नुहोस्, जो तपाईंको पहिलो शिक्षक हो। जसले अक्षराम्भ गराए, ती शिक्षकलाई सम्झिनुहोस् । त्यसपछि धेरै शिक्षक आए, धेरै कुरा सिकाए। उनीहरुप्रति आभार प्रकट गर्नुहोस्। तपाईंलाई जीवन यात्रामा ममताका साथै सत्मार्गतर्फ अघि बढाउन प्रेरित गर्ने हजुरआमा र हजुरबुवालाई सम्झिनुहोस्। खासमा ती सबैप्रति अनुग्रहित बन्नुहोस्, जसले तपाईंलाई तपाईं बनाए।'
एउटा व्यक्ति बन्न परिवार, समाज, शिक्षालय र राष्ट्रको कति लगानी हुन्छ भन्नेतर्फ उनले ध्यान केन्द्रीत गराउँदै लगे। गाउनमा सजिएर हातमा प्रमाणपत्र सुमसुम्यारहेका विद्यार्थीलाई उनले अझै गहिराइमा पुर्याए, 'हिमाल, पहाड, तराईको दूरदराजमा बस्ने ती किसान सम्झिनुहोस्, जसले तपाईंका लागि खाना उत्पादन गरिरहेका छन्। तपाईं आज साह्रै राम्रो देखिनुभएको छ, त्यो लुगाका लागि धागो उत्पादन गर्नेदेखि कपडा बुनेर सिलाउनेसम्म धेरै हातहरु छन्। तिनीहरुको पनि तपाईं आजको व्यक्ति बन्नुमा योगदान छ भन्ने याद गर्नुहोस्। तपाईं बसेको र पढेका यी घरहरुका ज्यामीदेखि सम्झिनुहोस् । अस्पताल सफा गर्नेदेखि सबै-सबैको योगदान रहेको कुरा महसुस गर्नुहोस्। र, तपाईंको शिक्षक, सरकार र राष्ट्रप्रति आभार प्रकट गर्नुहोस्। समाज र राष्ट्रलाई के दिन सकिन्छ भन्नेमा प्रयत्न गर्नुहोस्, जुन तपाईंको उत्तरदायित्व हो।'
त्यसपछि फेरि एकपल्ट उनले दीक्षितहरुलाई पुलपुल्याए, 'अब तपाईं आफ्नै भित्री आत्मादेखि उत्साह मनाउनुहोस्, तपाईंको क्षमता, लगाव र दृढ विश्वासले यहाँ ल्याइपुर्याएको हो। यो तपाईंको सपनाको दिन हो। तपाईं कृतज्ञ हुनुहोस्, भगवानले तपाईंलाई सपना देख्ने अवसर दिनुभएको छ।'
सपनाका दुई रुप उनले तुरुन्तै देखाए। पहिलो रुप हो, 'राम्रो कार, राम्रो घर।' पहिलो रुपबाट मोहित नहुन उनले सजग गराए- तपाईंहरु ठूलो सपना देख्नुहोस्। शक्ति, पैसा र ऐसआरामको सपना देख्नेहरुको इतिहास लेखिँदैन।'
आफ्ना लागि सपना देख्नेहरुको इतिहास नलेखिने उनले बताए। उनले थपे, 'इतिहास अरुका लागि सपना देख्नेहरुले बनाएका छन्। तिनीहरुले नै यो विश्व बनाएका हुन्। उनीहरुले नै यो विश्व धानेका छन्।'
विश्वविद्यालयहरुका यस्ता समारोहमा सत्यार्थीको त्यति रुचि छैन। उनी जीवनलाई पनि विश्वविद्यालय नै ठान्छन्। 'पास' मा आइपुग्नुको कारण उनले यहाँ मेडिकल ह्युम्यानिटी पढाइ हुने कुरा एउटा रहेको बताए। उनले प्रतिष्ठानका उपकुलपति डा राजेश गंगोलतर्फ हेर्दै भने, 'यहाँ मेडिकल ह्युम्यानिटी पढाइने रहेछ । मेडिकल क्षेत्रमा मानवीयता र करुणा जरुरी छ। विश्वका दर्जनौंले दीक्षान्त समारोह गरेका छन्। तपाईंहरुले त्यही पछ्याएको होइन । तपाईंहरुले फरक अभ्यास गर्नुभएको छ, तपाईंहरुले महत्वपूर्ण काम गर्नुभएको छ। तपाईंहरुले थप अध्ययन, थप अनुसन्धान गर्नुहोस्, मानक राख्न सक्नुहोस्, जुन विश्वले पछ्याओस्।'
उनले मानवीयता र संवेदनाको कुरा गर्दा पनि सचेत बनाए। जहाँ उनी 'तीन दिदीबहिनीकोको कथा' प्रस्तुत गरे।
कथा सार यस्तो थियो- एकै घरमा रहेका उनीहरु सधैं सँगै स्कुल जान्थे । तर, एकदिन उनीहरु पालैपालो गए । पहिलो बहिनी गइन्, उनले बाटोमा एकजना चोटग्रस्त भएर लडिरहेको मान्छे देखिन् । खुट्टाबाट रगत आइरहेको थियो । उनी नजिकै गइन्, 'कस्तो नराम्ररी चोट लागेछ, बिचरा भन्दै स्कुल जान हतार भएको' भनेर बाटो लागिन्।
त्यसपछि दोस्री बहिनी आइन्। उनले पनि बाटोमा त्यही व्यक्ति भेटिन्, जो चोटग्रस्त थियो र रोइरहेको थियो। उनी नजिकै गइन्। आँखाबाट आँशु चुहियो। एकछिन रोइन् र स्कुलतिर लागिन्। स्कुल पुग्दा पनि उनको आँशु रोकिएन।
अन्तिममा तेस्री बहिनी आइन् । उनले चोटबाट छटपटाइरहेको मान्छे देखिन्। उनी स्तब्ध भइन्। हतार-हतार तिनको उद्धार गर्न खटिइन् र नजिकैको मेडिकल पुर्याएर उपचार गराइन् र आफ्नो पकेट मनीको पैसा तिरेर स्कुलतिर लागिन्।
उनले प्रष्ट्याउँदै गए, 'यी तीन बहिनी थिए - सिम्प्याथी (सहानुभूति), इम्प्याथी (समानुभूति) र कम्प्यासन (करुणा)। पहिलोले सहानुभूति दर्साइन्, दोस्रोले उसको दुखाइ महसुस गरिन् । यी दुवै राम्रो बानी हुन् तर समस्या समाधान गर्दैनन्। तेस्रोसँग सहानुभूति, दुखाइ महसुस गर्ने क्षमताका साथै समस्या समाधान गर्ने स्वभावसमेत थियो।'
उनले चिकित्सकको सानो प्रयासले बिरामीको जीवनमा ठूलो प्रभाव पार्ने बताए। जोन हप्किन्स युनिभर्सिटीको एक अध्ययनलाई आधार बनाएर उनले आफ्नो भनाइ राखे। चिकित्सकले क्यान्सरका बिरामीसँग थप ४० सेकेन्ड बिताउँदा आएको सुधारका बारेमा उल्लेख गरे। 'बिरामीको हात समातेर चिकित्सकले भन्छन्- हामी तपाईंसँगै छौं। जहाँ बिराम र उपचारको कुरा हुँदैन। यसले बिरामीले मानसिक रुपमा सुरक्षित महसुस गरे। निको हुन सघायो।'
उनले फेरि पनि जीवनको 'अर्को विश्वविद्यालय' भएकोमै जोड दिए। जहाँ उत्साह मात्रै होइन, निराशा र अप्ठ्यारा पनि प्रशस्त आइलाग्ने कुरा उल्लेख गरे। धेरैले पढेको 'हमिङ बर्ड'को कथा दोहोर्याहए।
कथासार यस्तो छ- जंगलमा आगो लाग्छ। सबै जनावरहरु भाग्छन् । जंगलको राजा भन्ने सिंह पनि भाग्न थाल्छ र उसले हमिङ बर्ड भने आगो निभाउन चुच्चोमा पानी ल्याइरहेको देख्छ । सिंहले सोध्छ- आत्मदाह गर्न खोजेको ? उसको उत्तर हुन्छ- मैले मेरातर्फबाट प्रयास गरिरहेको छु।
उनले दीक्षित विद्यार्थीतिर हेर्दै भने, 'तपाईंबाट पनि संसारले त्यही हमिङ बर्डको चुच्चोमा रहेको पानी जति योगदान खोजेको हो। तपाईं भगवानको अवतारले उद्धार गर्ला भनेर नपर्खिनुहोस्, तपाईं कुनै राजनीतिज्ञले कायापलट गर्ला भनेर नपर्खिनुहोस्।'