यौन स्वस्थ जीवनको आवश्यकता हो र यसलाई कनै रोगमा पनि पूणरूपमा वर्जित विषय मानिदैन। शारीरिक तथा मानसिक अवस्था एवं उपर्युक्त व्यक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन्।
यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल बढ्ने तथा रक्तचाप पनि केही बढ्ने भएकोले मुटुलाई थप दबाबचाहिँ पर्न सक्छ। यही कारणले गर्दा मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ। जो व्यक्तिलाई सामान्य हिँडडुल गर्दा वा भर्याआङ चढ्दा छाती भारी हुने गर्छ त्यस्तोलाई यौन सम्पर्कको समयमा हृदयाघातको केही जोखिम हुन सक्छ। यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग परीक्षण गराई मुटुरोगको अवस्थाका बारेमा सही जानकारी लिने, उचित उपचार गर्ने तथा सावधानीका उपायहरू सोध्ने गर्न सकिन्छ।
हृदयाघात भएका व्यक्तिले सुरुको दुई हप्तासम्म बढी शारीरिक परिश्रम गर्नु राम्रो हुँदैन। त्यसपछि जब हिँडडुल गर्दा छाती भारी नहुने तथा स्वयं बिरामीलाई मध्यम तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ, तब यौन सम्पर्क सुचारु गर्न सकिन्छ। तर यस्तो कुरा व्यक्तिपिच्छे फरक पर्न सक्दछ। साथै हृदयाघातपछि कहिले यौन सम्पर्क गर्ने भन्ने कुराको सही उत्तरचाहिँ जब व्यक्तिले आफूलाई स्वस्थ महसुस गर्छ र यौनको लागि तयार तथा सक्षम ठान्दछ भन्ने हो।
हृदयाघात पश्चात् यौनको लागि व्यक्तिले आफूलाई बिस्तारै तयार गर्दै लग्नुपर्छ। यौन सम्पर्क मात्र नभई विभिन्न स्वास्थ्य यौनजन्य गतिविधिहरू सुरुको अवस्थामा उपयोगी हुन सक्छन्।
आफ्नो रुचि तथा अवस्थाको बारेमा श्रीमान्-श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्ने, एक अर्काको अवस्था बुझेर सो अनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खानेबित्तिकै यौन सम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौन सम्पर्क गर्दागर्दै छाती भारी भएमा सो कार्य रोकेर नाइट्रेट समूहको औषधि सेवन गर्ने (सो कुरा डाक्टरले बताइसकेको हुन सक्छन्) एवं यस्तो समस्या भएमा तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ।
उच्च रक्तचाप तथा मुटुजन्य रोगसँगै जोडिएर आउने यौनसम्बन्धी अर्को मुख्य विषयचाहिँ यौनमा रुचि कम हुनु तथा पुरुषको लिङ्ग उत्तेजित नहुनु हो। जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरूमा बोसो जम्मा भई साँघुरिने हुन्छ, त्यसरी नै लिङ्ग तथा योनिको रक्तनलीहरूमा पनि साँघुरिने भई रक्तप्रवाह घट्न जान्छ।
यसले गर्दा दुबैमा यौन रुचि घट्न सक्छ। त्यस्तै पुरुषमा लिंग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म धान्न नसक्ने आदि हुन सक्छ भने महिलामा पनि योनी सुक्खा भई बढी पीडा हुन सक्छ।
त्यस्तै मुटु तथा प्रेसर सम्बन्धी केही औषधिले पनि यौन कार्यमा प्रभाव पार्दछन्। प्रेसरका लागि चलाइने थायजाइड तथा बिटाब्लकर समूहका औषधिले यौन रुची कम गराउने, चरम सुख नहुने तथा लिङ्गको उत्तेजनामा कमी ल्याउने गर्दछन्। युवा तथा प्रौढ उमेरका करिव १० प्रतिशत व्यक्तिमा यस्तो असर पाइएको अध्ययनहरूले देखाएका छन्। व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ। त्यस्तै मुटुरोगको लागि चलाइने डिजोक्सीन् तथा स्पारोनोल्याक्टोन जस्ता औषधिले यौन इच्छा कम गर्ने तथा पुरुषहरूको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन्।
त्यस्तै मुटुको पम्प कमजोर भएका बिरामीहरूमा पनि यौन इच्छा कमी तथा यौन सुख नहुन सक्दछ। यसबाहेक उच्च रक्तचाप बढ़ने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरू जस्तै थाइरोइडको रोग, मधुमेह, मिर्गौला फेल आदिमा पनि यौन इच्छा घट्न सक्दछ।
त्यस्तै लिङ्गको उत्तेजना बढाउन भियग्रालगायतका औषधि सेवन गर्न सकिन्छ। मुटुरोगी तथा अन्य सबैले यस्तो औषधि सेवन गर्नु अगाडि चिकित्सकको परामर्श लिनुपर्दछ। त्यस्तै नाइट्रेट समूहको औषधि सेवन गरिरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुन सक्छ। त्योबाहेक हालसालै हृदयाघात भएका तथा मिर्गौला एवं कलेजो सम्बन्धी रोग भएकोले पनि यसको सेवन गर्नु हुँदैन।
-(डा लम्सालको पुस्तक 'रक्तचाप समस्या तथा समाधान'बाट)