केही समयअघिको कुरा हो, एकजना युवक आफ्नी प्रेमिकाका साथ मेरो क्लिनिकमा आए। महिनाौँअघि उनले आफ्नो अण्डकोषमा केही फरक महसुस गरेका रहेछन्। जब उनकी प्रेमिकाले यो कुरा थाहा पाइन्, उनले जबरजस्ती तानेर उनलाई मकहाँ ल्याएकी थिइन्।
मैले शारीरिक परीक्षण गरेँ र भिडियो एक्सरे मार्फत शंका लागेको ठाउँको गहिरो जाँच गरेँ। भाग्यवश, त्यो गाँठो क्यान्सर नभएर एउटा सामान्य पानीको फोका (बेनाइन सिस्ट) मात्रै देखियो।
रिर्पोट सुन्नासाथ ती युवकले आफ्नी प्रेमिकातिर फर्कँदै रवाफिलो शैलीमा भने, 'देख्यौ, मैले त तिमीलाई पहिले नै भनेको थिएँ नि, मलाई केही भएको छैन। म ठीक छु।' तर, मैले उनलाई तुरुन्तै रोकेँ र भनेँ- तिमीले उनलाई अहिल्यै धन्यवाद दिनुपर्छ, किनकि यदि यो रिपोर्ट अर्कै आएको भए कथा निकै फरक हुन सक्थ्यो।
अण्डकोषमा देखिने धेरैजसो गिर्खाहरू क्यान्सर हुँदैनन्, तर केही भने निश्चित रूपमा क्यान्सर हुन्। र, त्यो क्यान्सर हो कि होइन भनेर छुट्याउने एकमात्र उपाय भनेको चिकित्सककहाँ गएर जाँच गराउनु नै हो। जब कुनै पुरुष परीक्षणका लागि डराएर बस्छ, उसले आफ्नो उपचारलाई मात्र पछि धकेलिरहेको हुँदैन, बरु आफ्नो ज्यान नै जोखिममा पारिरहेको हुन्छ। जबकि, समयमै पुगे चिकित्सकले केही मिनेटमै उसको चिन्ता दूर गरिदिन सक्छन् वा गम्भीर समस्या भए ज्यान जोगाउन सक्छन्।
म जब मेडिकल कलेजमा ‘युरोलोजी’ विधा पढ्दै थिएँ, त्यतिबेला मैले पहिलोपटक आफ्नो अण्डकोष आफैँ छामेर जाँच गरेँ। त्यहाँ केही फरक चीज भेटेपछि म निकै अत्तालिएँ र तुरुन्तै डाक्टरको अपोइन्टमेन्ट लिएँ। मेरो त्यो भर्खरै क्लिनिकमा आएका बिरामीको जस्तै कथा भयो- मलाई पनि एउटा सामान्य 'सिस्ट'मात्रै थियो, जुन सायद म जन्मिँदै त्यहाँ थियो। तर, त्यो मोडभन्दा अगाडि मलाई मेरो अण्डकोषको सामान्य अवस्था कस्तो हुन्छ भन्ने नै थाहा थिएन।
त्यसैले म मेरा हरेक बिरामीहरूलाई नियमित रूपमा आफ्नो अण्डकोष आफैँ जाँच गर्ने बानी बसाल्न सल्लाह दिन्छु। यसका लागि धेरै चिन्तित भइरहनु पर्दैन, न त महिना-महिनामा अनिवार्य जाँच गर्नैपर्छ भन्ने कुनै कडा नियम नै छ। तर, नुहाउने बेलामा कहिलेकाहीँ यसलाई छामेर आफ्नो शरीरको बनावट कस्तो छ भन्ने कुरासँग अभ्यस्त हुनुभयो भने, भविष्यमा केही तलमाथि हुनासाथ तपाईंले तुरुन्तै पत्तो पाउनुहुनेछ। यो पूरै जाँच गर्न दुई मिनेट पनि लाग्दैन।
आफ्नो शरीरको सामान्य अवस्था जति राम्रोसँग चिन्नुहुन्छ, त्यसमा आउने परिवर्तन ठम्याउन त्यति नै सजिलो हुन्छ।
अण्डकोषका दुई मुख्य काम
पुरुषको शरीरमा अण्डकोषका दुईवटा अति महत्वपूर्ण कामहरू हुन्छन्:
१. शुक्रकीट उत्पादन: एक स्वस्थ पुरुषको शरीरमा दैनिक करोडौँको संख्यामा शुक्रकीट बन्दछन्। यी शुक्रकीटहरू पूर्ण रूपमा विकसित भएर वीर्यमार्फत बाहिर निस्कन योग्य हुन करिब तीन महिनाको समय लाग्छ।
२. हर्मोन उत्पादन: पुरुषत्वका लागि आवश्यक हर्मोन, मुख्यगरी 'टेस्टोस्टेरोन' बनाउने काम अण्डकोषले नै गर्छ। अण्डकोषमा हुने विशेष प्रकारका कोषिका (Leydig Cells) ले यसको उत्पादन गर्छन्। पुरुषको मांसपेशीको विकास, हड्डीको घनत्व, यौन इच्छा, मुड र ऊर्जा- यी सबै कुरा यही हर्मोनमा निर्भर हुन्छन्।
हुन त पुरुषको शरीरमा दुईवटा अण्डकोष हुनु प्राकृतिक र उत्तम हो, तर एउटा मात्र अण्डकोष भए पनि पुरुषको शरीरले पूर्ण रूपमा काम गर्न सक्छ। एउटै अण्डकोषको सहारामा पनि पुरुषले सन्तान जन्माउने लगायतका सबै काम सहजै गर्न सक्छन् र सामान्य जीवन जिउन सक्छन्।
उत्पत्ति एकातिर, बसाइ अर्कैतिर
आमाको गर्भमा पुरुष भ्रूणको विकास भइरहँदा अण्डकोषहरू सुरुमा पेटभित्र, मिर्गौलाको नजिक बनेका हुन्छन्। गर्भावस्थाको अन्तिम महिनाहरूमा यी अण्डकोषहरू एउटा सानो बाटो हुँदै तल ओर्लन्छन् र अन्त्यमा अण्डकोशको थैलीमा आइपुग्छन्।
यसरी पेटबाट तल ओर्लिने प्रकृतिकै कारणले गर्दा अण्डकोष शरीरभन्दा बाहिर झुण्डिएको अवस्थामा हुन्छ र कहिलेकाहीँ अण्डकोष दुख्दा त्यसको लहर पेटसम्म पुग्ने गर्छ। शुक्रकीट उत्पादन हुनका लागि शरीरको भित्री तापक्रमभन्दा केही चिसो तापक्रम आवश्यक पर्छ। अण्डकोशको थैलीले थर्मोस्टेट (तापक्रम नियन्त्रक) जस्तै काम गर्छ- चिसो हुँदा यसले अण्डकोषलाई शरीरको नजिक तान्छ र तातो हुँदा तलतिर झुण्ड्याउँछ। त्यसैले त, चिसो पोखरीमा पस्दा र तातो पानीले नुहाउँदा यसको आकार र अवस्था फरक देखिन्छ।
त्यहाँ भित्र वास्तवमा के हुन्छ?
सामान्यतया अण्डकोशको थैलीभित्र दुईवटा अण्डकोष हुन्छन्। यी अण्डाकार, चिल्ला र केही कडा हुन्छन्— झण्डै सानो कुखुराको अण्डा जत्रो। यसको भित्र स-साना नलीहरूको सञ्जाल हुन्छ, जहाँ शुक्रकीट बन्दछन्।
हरेक अण्डकोषको पछाडिपट्टि एउटा कमलो, लेउ वा जुका जस्तो आकारको संरचना जोडिएको हुन्छ, जसलाई 'इपिडिदिमिस' भनिन्छ। यहाँ शुक्रकीटहरू परिपक्व हुन्छन्। त्यहाँबाट शुक्रकीटहरू एउटा लामो नली मार्फत पेटको तल्लो भाग हुँदै वीर्य थैलीतर्फ बग्छन्। पुरुषले स्थायी बन्ध्याकरण गर्दा काटिने नली यही नै हो।
अण्डकोषलाई जीवित र सञ्चालनमा राख्ने रक्तनली, नसा र लिम्फ्याटिक्सहरू सबै एउटा कर्ड भित्र बाँधिएका हुन्छन्, जुन अण्डकोषको माथिल्लो भागबाट सुरु हुन्छ। तपाईंले आफ्नो अण्डकोषको माथि हातले छाम्दा यो कर्ड महसुस गर्न सक्नुहुन्छ।
के सामान्य हो र के असामान्य?
सामान्य अवस्था:
एउटा अण्डकोष अर्कोभन्दा केही तल हुनु सामान्य कुरा हो (प्रायः देब्रेपट्टि अलि तल हुन्छ)। त्यस्तै, एउटा अण्डकोष अर्कोभन्दा आकारमा सामान्य ठूलो हुनु पनि प्राकृतिक नै हो। अण्डकोषको माथि र पछाडि महसुस हुने कमलो, गिर्खा जस्तो संरचना 'इपिडिदिमिस' हो, यसलाई ट्युमर ठानेर आत्तिनु पर्दैन। त्यस्तै, तापक्रम वा उत्तेजनाका कारण अण्डकोष माथि-तल सरिरहनु पूर्ण रूपमा सामान्य हो। कहिलेकाहीँ अण्डकोषको माथिल्लो भागमा नसाहरू फुटेर 'केराउको झुप्पा' जस्तो सानो थैली महसुस हुन सक्छ, जसलाई 'वेरिकोसिल' भनिन्छ। यो सामान्यतया हानिरहित हुन्छ, तर दुखाइ बढेमा वा निःसन्तानको समस्या भएमा डाक्टरलाई देखाउनुपर्छ।
असामान्य अवस्था (खतराका संकेत):
यदि अण्डकोषमा कुनै कडा र नदुख्ने खालको गिर्खा वा गाँठो भेटियो भने त्यो सबैभन्दा ठूलो 'खतराको घण्टी' हो। यो अण्डकोषको क्यान्सरको मुख्य लक्षण हो। अमेरिकी क्यान्सर सोसाइटीका अनुसार, संयुक्त राज्य अमेरिकामा मात्र सन् २०२६ मा करिब ९,८०० पुरुषमा यो क्यान्सर निदान हुने अनुमान छ। यो रोग युवा र वयस्क (विशेषगरी २० देखि ३० वर्षका) पुरुषहरूमा बढी देखिन्छ। सुखद कुरा के छ भने, सुरुवाती अवस्थामै पत्ता लागेमा यो क्यान्सर निको हुने सम्भावना ९९ प्रतिशत रहन्छ।
यदि तपाईंले त्यस्तो कडा गिर्खा भेट्टाउनुभयो भने, दुखेको छैन भनेर बस्ने गल्ती नगर्नुहोस्, तुरुन्तै डाक्टरकहाँ जानुहोस्। धेरैजसो अण्डकोषका क्यान्सरहरू दुख्दैनन्। तर, यसको मतलब दुख्ने जति क्यान्सर होइनन् भन्ने पनि होइन।
प्रख्यात साइक्लिष्ट लान्स आर्मस्ट्रङलाई सन् १९९६ मा यो क्यान्सर भएको पुष्टि भएपछि संसारभर यस विषयमा ठूलो बहस सुरु भएको थियो। केही समयअघि हलिउड अभिनेता ड्वेन जोनसन 'द रक' लाई पनि यस्तै शंका लागेर परीक्षण गराउनुपरेको थियो। उनको हकमा भने त्यो क्यान्सर नभएर अण्डकोष सुन्निने समस्या मात्र थियो।
यदि अण्डकोष अत्यधिक सुन्निएको छ, रातो वा तातो भएको छ र पिसाब फेर्दा दुख्ने वा ज्वरो आउने जस्ता लक्षण छन् भने त्यो 'इपिडिदिमिस'को संक्रमण हुन सक्छ। यो एन्टिबायोटिक र औषधिको सेवनबाट सजिलै निको हुन्छ।
तर, यदि अचानक एउटा अण्डकोषमा असह्य र तीव्र दुखाइ भयो भने त्यो 'टेस्टिकलर टर्सन' हुन सक्छ। यो भनेको अण्डकोष बाँधिएको कर्ड आफैँमा बटारिएर रगतको प्रवाह ठप्प हुनु हो। यो एउटा 'मेडिकल इमर्जेन्सी' हो। यदि केही घण्टाभित्रै यसलाई शल्यक्रियामार्फत सिधा गरिएन भने अण्डकोष सधैँका लागि काम नलाग्ने भएर फाल्नुपर्ने हुन सक्छ।
डाक्टरकहाँ जाँदा के हुन्छ?
जब तपाईं युरोलोजिष्टकहाँ पुग्नुहुन्छ, सुरुमा कुराकानीबाटै रोगको इतिहास बुझ्ने प्रयास गरिन्छ- समस्या कहिलेदेखि देखियो, कस्तो महसुस हुन्छ, पिसाबमा केही समस्या छ कि छैन आदि। त्यसपछि शारीरिक परीक्षणका क्रममा डाक्टरले अण्डकोश, अण्डकोष र त्यसको वरिपरिको कर्डलाई छामेर हेर्छन्। उनीहरूले पनि तपाईंले घरमा छामे जस्तै गरी हेर्ने हो, तर उनीहरूसँग लामो अनुभव र विशेषज्ञता हुन्छ।
शारीरिक परीक्षणपछि आवश्यकता अनुसार डाक्टरले स्क्रोटल अल्ट्रासाउन्ड गर्न सक्छन्, जसले भित्री भागको स्पष्ट तस्बिर दिन्छ। संक्रमणको शंका लागे पिसाबको जाँच, क्यान्सरको शंका लागे 'ट्युमर मार्कर' का लागि रगतको जाँच वा हर्मोनको समस्या भए हर्मोन टेस्ट गराइन्छ। कहिलेकाहीँ अझ सूक्ष्म रूपमा हेर्नुपरेमा एमआरआई पनि गर्न सकिन्छ।
आफैँ कसरी जाँच गर्ने?
म सधैँ नुहाउने समयमा आफ्नो अण्डकोष आफैँ जाँच गर्न सल्लाह दिन्छु। मनतातो पानीले नुहाउँदा अण्डकोशको थैली खुकुलो र नरम हुन्छ, जसले गर्दा भित्रका कुराहरू छाम्न सजिलो हुन्छ।
दुई मिनेट समय निकाल्नुहोस् र पालैपालो एउटा-एउटा अण्डकोषलाई आफ्नो बुढीऔंला र बाँकी औंलाहरूको बीचमा राखेर बिस्तारै गुडाउनुहोस्। याद गर्नुहोस्, जोडले थिच्ने वा निचोर्ने होइन। केवल यसको आकार, कडापन र सतह कत्तिको चिल्लो छ भन्ने कुरा महसुस गर्ने हो।
यसको पछाडिपट्टि रहेको कमलो भाग (इपिडिदिमिस) लाई चिन्नुहोस् र माथितिर गएको कर्डलाई पनि महसुस गर्नुहोस्।
सधैँ सम्झनुहोस्- यदि तपाईंले आफ्नो अण्डकोषमा कुनै पनि नयाँ परिवर्तन, कडा गिर्खा, अचानक आकारमा आएको बदलाव वा लगातार भइरहने दुखाइ फेला पार्नुभयो भने, लाज मानेर वा डराएर नबस्नुहोस्। स्वास्थ्यको मामलामा सचेत र पूर्वतयारी नै सबैभन्दा ठूलो ओषधि हो। समयमै जाँच गराउनुहोस् र ढुक्क हुनुहोस्।
(सिएनएनबाट)