गलकोट - बागलुङको निसीखोला गाउँपालिकाले पालिका अन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ।
गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ।
अध्यक्ष घर्तीमगरले भने, 'उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ।'
गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाइने उनले बताए। उनले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्क समेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताए। अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको जानकारी दिए।
गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णय समेत गरेको छ। गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पुर्याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन। अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ।