काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ई-सिगरेटको आयात रोक्न भन्सार विभागलाई पत्र लेखेको छ। सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिकाले आयात तथा विक्री वितरण रोकेको तर्फ ध्यानाकर्षण गराउँदै पत्र लेखेको छ।
निर्देशिकाको परिच्छेद ३ को दफा २८ को उपदफा ३ मा कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन गर्न नपाउने उल्लेख छ।
उक्त व्यवस्था कार्यान्वयनको लागि सम्बन्धित निकायहरुलाई पत्राचार गर्न स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले निर्णय गरेको हो। 'श्रीमान् महानिर्देशकज्यू स्तरबाट समेत निर्णय भई आएकोले सुर्तीजन्य पदार्थ ई-सिगरेट (भ्यापिङ)को उत्पादन, आयात, विक्री वितरण, सार्वजनिक स्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चार माध्यमबाट प्रवर्द्धन तथा विज्ञापन निषेध कार्य कार्यान्वयनको लागि अनुरोध गर्दछ,' राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक केशवराज पण्डितले पत्रमा भनेका छन्।
पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबार, अर्थ मन्त्रालय, भन्सार विभाग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पठाइएको छ।