दाङ– दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा छिट्टै शैक्षिक कार्यक्रम सुरु गरिने भएको छ। राप्ती प्रतिष्ठानको पाँचौ वार्षिकोत्सव समारोहमा बोल्दै स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचीव डा रोशन पोख्रेलले प्रतिष्ठानमा अब छिट्टै शैक्षिक कार्यक्रम सुरु गर्नका लागि मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।
'अस्पताल मैले निरीक्षण गरेँ, सेवा विस्तार र गुणस्तरीय भएको छ', डा पोखरेलले भने, 'स्थापनाको पाँचौ वर्षमा आइपुग्दा अब शैक्षिक कार्यक्रम शुरु गर्नका लागि मन्त्रालयले आवश्यक कार्य गरिरहेको छ।'
तीन सय शय्याबाट सेवा दिइरहेको प्रतिष्ठानको सेवा गुणस्तरीय सेवा प्रदान गरिरहेको भन्दै उपकुलपति डा विकास लामिछानेले अब छिटोभन्दा छिटो शैक्षिक कार्यक्रम सुरु गरिने बताए। त्यस्तै प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ डा आरपि बिच्छाले प्रतिष्ठानको समग्र विकासका लागि सहयोग गर्न आफुहरु तयार रहेको बताए। उनले प्रतीष्ठानको स्त्तोरन्नतिसहितको विकासमा प्रधानमन्त्रीसँग लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उपचारात्मक सेवालाई गुणस्तरीय बनाउँदै शैक्षिक कार्यक्रम सुरु गर्न नगरपालिकाले सहयोग गर्ने बताए। तुल्सिपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले अब दाङमै डाक्टर र नर्सको पढाइ हुने गरि प्रतिष्ठानलाई मेडिकल कलेजका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
सो अवसरमा विभिन्न प्रतीयोगितात्मक कार्यक्रमका बिजयीहरुलाई पुरस्कृत गरिएको थियो।