१. म ४५ वर्षीय पुरुष हुँ। एकवर्षदेखि मेरो लिंग शिथिल हुने समस्या छ। म विगत ६ वर्षदेखि मधुमेह तथा उच्च रक्तचापको समस्याबाट पीडित छु। मेरो समस्याको समाधान के हुन सक्ला ?
नपुंसकता अर्थात् इम्पोटेन्सीका लागि मधुमेह, उच्च रक्तचाप, मोटोपना मुख्य कारक हुन्। चुरोट, सूर्ति तथा मदिरा सेवनबाट पनि लिंग शिथिल हुने समस्या आउन सक्छ। यस समस्या समाधानका लागि सुगर लेबल र रक्तचापलाई नियन्त्रित गर्नु आवश्यक हुन्छ। साथै नियमित रुपले शारीरिक अभ्यास गर्नुहोस्। यति गर्दा पनि समस्याको पूर्ण समाधान नभएमा सेक्सोलोजिष्टसंग सम्पर्क राख्नुहोस्।
२. म एक विवाहित पुरुष हुँ। मलाई दैनिक सेक्स गर्ने इच्छा हुन्छ, तर, पत्नीको सक्रिय साथ पाउँदिन। यद्यपि सेक्सका क्रममा उनले पूरै साथ दिन्छिन्। म हस्तमैथुन पनि गर्छु। विवाहित भएर पनि हस्तमैथुन गर्दा कुनै समस्या त पैदा हुँदैंन?
यो कुनै समस्या होइन। पुरुषजस्तै महिलाहरु दिनहुँ सेक्सका लागि तयार नहुन पनि सक्छन्। पुरुषको सेक्स मष्तिष्क र लिंगकेन्द्रित हुन्छ भने महिलाका लागि मष्तिष्क र पूरै शरीरसंग संबन्धित हुन्छ। महिलाहरु महिनावारीभन्दा अगाडि र पछि अण्डाणुको निर्माणको समयमा जति चासोपूर्वक सेक्समा भाग लिन्छन्, अरु बेला उनीहरुको चासो कमै हुन्छ। यसैले पत्नीसंग दिनहुँ जबर्जस्ती सेक्स गर्नुभन्दा हस्तमैथुन नै उपयुक्त हुन सक्छ।
३. म २० वर्षीया युवती हुँ। मेरो चाँडै नै बिहे हुँदैंछ। बाहिर सुनिएका कुराअनुसार सेक्सका विषयमा मलाई डर लागिरहेको छ। महिलामा सेक्ससंबन्धी समस्या कस्ता–कस्ता हुन्छन् र तिनीहरुको उपचार सम्भव हुन्छ कि हुँदैंन?
सर्वप्रथम त तपाईंले अनावश्यक रुपमा डराउनुपर्ने कुनै कारण छैन। यद्यपि महिलामा सेक्ससंबन्धी समस्या उत्पन्न नहोलान् भन्न पनि सकिन्न। महिलामा विशेषतः सेक्सका क्रममा पीडा हुने, योनिवरिपरी अत्यधिक संकुचन तथा चरम सुख (क्लाइमेक्स) को अभाव आदि प्रमुख हुन्। पुरुषको जस्तै महिलाको पनि यौन समस्याको उपचार सम्भव छ।