छोरालाई शिक्षा दिए
छोरा मात्रै शिक्षित हुन्छ
छोरीलाई शिक्षा दिँदा
पूरै समाज शिक्षित हुन्छ
र एउटा
शिक्षित समाज नै
परिवर्तनको संवाहक हुन्छ
आज हामी यहाँ
हरेक छोरीहरूमाझ
हरेक आमाहरुमाझ
चेतना फैलाउने प्रयासमा छौं
भनिन्छ
भगवान सबै ठाउँमा हुन नसकेर
उनले आमा बनाए
त्यसैले आमाको अगाडि
भगवान स्वयं आफैं झुक्दछन्
आमाको दर्जा भगवानले
आफैभन्दा नि माथि राख्दछन्
जननी हुन्, त्याग हुन्,निस्वार्थ ममताकी खानी हुन् आमा
आफैं मरी अर्को बचाउने एकमात्र कहानी हुन् आमा
फगत्
रगतको डल्लो मानी जीवन भरिदिने जिन्दगानी हुन् आमा
त्यसैले त
जगतमै सबभन्दा ठूली बरदान हुन् आमा
नास्तिकले पनि पुज्ने भगवान हुन् आमा
यिनै भगवानका,
सन्तानलाई अमृत पिलाउने अंगहरु
कहिलेकाहिँ
आफ्ना लागि भने विष बन्न सक्छन्
तर
बेलैमा होश पुर्याउँदा
लक्षणले धेरै कुरा अगाडि नै भन्न सक्छन्
आफ्ना लागि विष बन्न सक्छन्
लक्षणले धेरै कुरा अगाडिनै भन्न सक्छन्
न यो भिरिङ्गी हो
न समाजमा लज्जा मान्नुपर्ने
निकृष्ट कार्यबाट
सर्ने कुनै यौनरोग
तपाईं लाजले बाँधिएर बसिरहँदा
उता,
रोग भने,
तपाईंकै शरिरभित्र निर्लज्ज भएर बस्छ
तपाईं माथि नै रजाइँ गर्छ
अनि
आफ्नो साम्राज्य फैलाउँछ
अन्तत,
तपाईंको अस्तित्व नै मेटाइदिन्छ
त्यस दिन,
न तपाईंसँग सास हुन्छ
न परिवारसँग आश हुन्छ
मात्र विस्तारामा लम्पसार परेको
एउटा अवलाको लास हुन्छ
चाहे दरबार होस् या झुपडी
त्यसलाई घर बनाउने एउटा नारीले नै हो
नाता समेटेर परिवार बनाउने
आमाको, कलाकारीले नै हो
घर बनाउने एउटा नारीले नै हो
परिवार बनाउने
आमाको, कलाकारीले नै हो
अरूका लागि मात्र हैन
कहिलेकाहिँ
आफ्नै लागि पनि बाँच्ने गर्नुस्
अरूका लागि मात्र हैन
कहिलेकाहिँ
आफ्ना लागि पनि साँच्ने गर्नुस्
आफ्ना लागि नि बाँच्ने गर्नुस्
आफ्ना लागि पनि साँच्ने गर्नुस्
हजुर आफ्ना लागि पनि
अलिकति समय साँच्ने गर्नुस्
समयमै समय रहँदा
समयलाई समय दिनुपर्छ
समयमै समयलाई समय दिँदा
समयले पनि तपाईंलाई समय दिन्छ
समयमै पत्ता लगाए
रोगबाट बाँच्न सकिन्छ
रोगलाई निर्मूल पारेर
शोकबाट हाँस्न सकिन्छ
हजुर क्यान्सर जस्तो
रोगबाट पनि बाँच्न सकिन्छ
शोकबाट पनि उत्रिएर हाँस्न सकिन्छ
आफ्ना स्तनलाई आफैं पनि जाँच्न सकिन्छ
जाँच्न छ निकै सरल
बगेमा असामान्य तरल
छाला पनि देखिन सक्छ केही अर्कै
लक्षण हुनपनि सक्छ यो क्यान्सरकै
छालाहरू,
कहिलेकाहिँ
भित्रतिर गाडिन सक्छन्
सुन्तलाका बोक्राझै माडिन सक्छन्
रातो हुन सक्छ छाला
तातो हुन सक्छ छाला
सुनिन पनि सक्छन् पाताहरु
ख्याल राख्नुपर्छ माताहरु
स्तनमा, काखीमा,
कतै गिर्खा भेटीएलान्,
कतै नयाँ-नयाँ डल्ला
भेटेमा तुरुन्तै लिनुपर्छ
चिकित्सकसँग सल्लाह
उपचारदेखि नडराऊ
बीचैमा छोडेर नहराउ
केमोले केश खोस्न सक्छ
तर कसैको सौन्दर्य खोस्न सक्दैन
शरीरबाट रगत सोस्न सक्छ
तर कसैको हौसला सोस्न सक्दैन
शल्यक्रियाले उनको स्तन खोस्न सक्छ
तर उनको पहिचान, कहिल्यै खोस्न सक्दैन
एउटी आमाको पहिचान
एउटी नारीको पहिचान
उनको अंगमा होइन
उनको रंगमा हुन्छ
परिवारमा उनले ल्याएको
उमंगमा हुन्छ
जसलाई देखेर सृष्टिनै
अचम्ममा हुन्छ
त्यसैले
शल्यक्रियाले उनको स्तन त खोस्न सक्ला
तर कहिल्यै उनको पहिचान खोस्न सक्दैन
उपचारदेखि कहिल्यै नडराऊ
बीचमै छोडेर कहिल्यै नहराउ
जिन्दगीमा,
कति कुराहरु कहिल्यै वास्ता पनि हुँदा रहेनछन्
तर सोचेझै त्यसरी ती सस्ता पनि हुँदा रहेनछन्
र
त्यही सस्तो मानेर वास्ता नगर्दा
सबैभन्दा महंगो पर्न आउने
जिन्दगी आफैं रहेछ
त्यसैले यो जिन्दगी जोगाऔं
र यो जिन्दगी बचाउ
आफू पनि बचौ
आफ्नालाई पनि बचाउ
अरूलाई पनि बचाऊ
र
अरूका आफ्नालाई पनि बचाउ
(डा बस्ताकोटी त्रिवि शिक्षण अस्पतालमा जनरल सर्जरी विभागका आवासीय चिकित्सक हुन्।)