काठमाडौं- ३७औँ विश्व एड्स दिवसका अवसरमा यौनरोग सम्बन्धी सचेतनात्मक गीत सार्वजनिक भएको छ। महिलाको निम्ति महिला मञ्च नेपालले दिवसलाई लक्षित गरेर प्रत्यक्ष दोहोरी गीत रेकर्ड गरी सार्वजनिक गरेको हो।
गीतमा एचआईभी, एड्स र यौनजन्य रोगका कारण, रोकथाम र उपचारका विषयमा छलफल गरिएको छ। प्रश्नोत्तर शैलीमा तयार भएको दोहोरीले आमजनमाझ सचेतना फैलाउन मद्दत पुग्ने परियोजना अधिकृत वर्षा लुइँटेलले बताइन्।
उक्त दोहोरी गीतमा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका लोकराज पाण्डे अतिथिका रुपमा उपस्थित छन्। उनले एचआईभी नियन्त्रणमा रहेको बताउँदै यसबारे सचेतनान जरुरी भएको बताए। उनले थपे, 'एचआइभी र यौनरोगको औषधि उपचार नि:शुल्क छ। पहिले प्राणघातक रोगका रुपमा चित्रण गरिन्थ्यो, अहिले दीर्घ व्यवस्थापन गर्ने सकिने रोगका रुपमा यसलाई लिइन्छ। नियमित औषधि सेवन गर्दा लामो समयसम्म बाँच्न सकिन्छ। पहिले नै रोकथाम गर्ने उपाय पनि छन्।'
गीत महिलाको निम्ति महिला मञ्च नेपालको सचेतनामूलक दोहोरी अभियान अन्तर्गतको हो। महिलाको निम्ति महिला मञ्च नेपाल मनोरञ्जन तथा सत्कार (डान्सबार, दोहोरी साँझ, क्याबिन रेस्टुरेण्ट, खाजाघर तथा स्पा/मसाज पार्लर) क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको नेतृत्वमा दर्ता भएको नेपालकै पहिलो गैरसरकारी संस्था हो। यो संस्था मनोरञ्जन तथा सत्कार क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको अधिकार प्रवर्द्धनन तथा सुनिश्चिताको लागि अभियानरत छ। महिला श्रमिकहरुको कामको सम्मान साथै कार्यरत क्षेत्रमा हिंसामुक्त, सुरक्षित र मर्यादित काम गर्ने वातावरण हुनु पर्दछ भन्ने उद्देश्य र मान्यताका साथ आफ्ना गतिविधिहरु संचालन गर्दै आइरहेको मञ्चले जनाएको छ।