आत्मदाह गरी भन तिमी, कुन शान्ति पाउन सक्छौ ?
सबै पिडा सक्यो रे अब, भन फिर्ता आउन सक्छौ ?
मानें तिम्रो जिन्दगीमा, असह्य पिडा थियो
आत्मप्रेम हराएको, जिवनसंगै घृणा थियो
भदौरे झरीझैं आमाको आंखामा, फेरि चमक ल्याउन सक्छौ ?
सबै पिडा सक्यो रे अब, भन फिर्ता आउन सक्छौ ?
आमा तिम्रो मुहार सम्झी, रातभरी टोलाउछिन् रे
सानी बहिनी भित्र बाहिर, तिम्रै नामले बोलाउँछिन् रे
सिलिङ हेर्दै अर्धचेत छन् बाबा, के तिमी झक्झकाउन सक्छौ ?
सबै पिडा सक्यो रे अब, भन फिर्ता आउन सक्छौ ?
मन भित्र दन्केको आगो, न देख्यौं न देखाउन सक्यौ
कस्तो बाटो रोज्यौ साथी, न समयमा रोक्न सक्यौं
तिम्रो यादमा बिक्षिप्त छु साथि, भन मलाइ फकाउन सक्छौ ?
आफ्नालाई रुवाइ भन तिमी, कुन शान्ति पाउन सक्छौ ?
जिन्दगी हो एकनास हुन्न, तलमाथि हुन्छ साथी
समस्या नै नभएको, संसारमा कुन छ साथी ?
समाधान बिनाको समस्या हुन्न, नलडी जित पाउन सक्छौ ?
सबै पिडा सक्यो रे अब, भन फिर्ता आउन सक्छौ ?
आत्मदाह गरी भन तिमी, कुन शान्ति पाउन सक्छौ ?
सबै पिडा सक्यो रे अब, भन फिर्ता आउन सक्छौ ?
-(घिमिरे चितवन मेडिकल कलेजकी सहायक प्राध्यापक हुन्।)