काठमाडौं - स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचना रहेको राष्ट्रिय भावले ओतप्रोत गीत ‘अन्धकार पन्छाएर’ श्रोता तथा दर्शकमाझ सार्वजनिक भएको छ। शिव परियारको स्वर र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो हालै सार्वजनिक गरिएको हो।
वीरेन्द्र भाट ‘विपिन’को निर्देशनमा बनेको भिडियोमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादव, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठलगायतको अभिनय देख्न सकिन्छ। सरला रिजालको प्रस्तुतिमा बनेको भिडियोको छायांकन महेश महाराले गरेका हुन् भने सम्पादन निर्देशक भाट स्वयंले गरेका छन्।
देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको यो गीत सशक्त जागरण गीतका रूपमा आएको छ। वर्ल्डकभर मिडियाको पोस्ट–प्रोडक्सनमा निर्माण भएको भिडियो बीआर प्रोडक्सनमार्फत सार्वजनिक गरिएको हो।
हामी फुटेर होइन, जुटेर अघि बढ्नुपर्छ भन्ने सन्देश बोकेको यो राष्ट्रभावको गीत आफूले श्रोता तथा दर्शकमाझ ल्याएको डा. रिजाल बताउँछन्। गीतले देश विकासमा जुट्न र परिवर्तनको पक्षमा उभिन प्रेरणा दिने सन्देश प्रवाह गरेको छ। ‘जाग युवा जाग, देश निर्माणमा लाग’ भन्ने आह्वान गीतको मूल भाव हो।
डा. भोला रिजाल शब्द, संगीत र स्वरका त्रिवेणी प्रतिभा हुन्। उनले रचना गरेका पहिलो रेकर्डेड गीत सन् १९६३ (वि.सं. २०२०) मा रेकर्ड भएको ‘म मान्दिनँ जात र धर्म कसैको’ हो। त्यसैगरी सन् १९६९ (वि.सं. २०२६) मा रेकर्ड भएको ‘मेरो पौवा पाटी’ उनका स्वरमा रेकर्ड भएको पहिलो गीत हो। डा. रिजालकै शब्द, संगीत र स्वरमा रेकर्ड भएको यो गीत उनको सांगीतिक यात्राको महत्वपूर्ण दस्तावेज बनेको छ।
पेशाले चिकित्सक भए पनि साहित्य सिर्जनामा निरन्तर सक्रिय रिजालका ‘मेरो पौवा पाटी’, ‘ईश्वर आफैँ बोल्छ’, ‘मेरी सान्नानी’, ‘शुभकामना’, ‘सगरमाथा रोइरहेछ’, ‘सारंगीको तार टुट्यो’, ‘यात्रा’, ‘पपकर्न’ लगायत १३ वटा गीति एल्बम प्रकाशित छन्। उनले ‘लक्ष्मी पूजा’, ‘छोरी बुहारी’, ‘जूनतारा’, ‘साथी’, ‘एक नम्बरको पाखे’, ‘अप्सरा’, ‘उकाली–ओराली’ र ‘गौँथली’ गरी आठवटा चलचित्र निर्माण गरेका छन्। ती चलचित्रमा उनले कथा तथा गीत लेखन पनि गरेका छन्। यीमध्ये ‘गौँथली’ महिला हक अधिकार र छोरी शिक्षाको पक्षमा सशक्त सन्देश बोकेको गीति चलचित्र हो।
‘मलाई पनि अंग्रेजीमा बोल्न सिकाइदेऊ न’, ‘निधारमा रातो माटो, शिरमा टोपी राखें’, ‘भागेर भए पनि आऊ’ जस्ता दर्जनौं हिट गीतका सर्जक डा. रिजाल अहिले पनि गीत लेखन र जीवनी लेखनमै सक्रिय छन्।