काठमाडौं- नेपालमा प्रजनन उमेर समूह (१५–४९ वर्ष) का झन्डै आधा पुरुष सुर्तीजन्य पदार्थको कुलतमा रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ अनुसार यस उमेर समूहका ४१.८ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको सेवन गर्छन्। सोही उमेर समूहमा महिलाको हिस्सा ५.१ प्रतिशत रहेको छ।
यसअघि सन् २०१९ मा गरिएको 'नेपाल स्टेप्स सर्भे' ले १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सुर्तीजन्य पदार्थको लतमा रहेको देखाएको थियो। अहिलेको सर्वेक्षणमा उमेर समूहको दायरा (१५–४९ वर्ष) सीमित भएकाले तथ्याङ्कमा केही कमी देखिएको हुनसक्ने विज्ञहरूको विश्लेषण छ।
आर्थिक अवस्था र सुर्ती सेवनको सम्बन्ध
सर्वेक्षणको अर्को रोचक पक्ष भनेको आर्थिक अवस्था र सुर्तीजन्य पदार्थको प्रयोग बीचको उल्टो सम्बन्ध हो। प्रतिवेदन अनुसार धनी वर्गको तुलनामा गरिब वर्गमा यसको लत बढी देखिएको छ:
अति गरिब वर्ग: २५.५ प्रतिशत कुलतमा।
अति धनी वर्ग: १६.१ प्रतिशत मात्र कुलतमा।
१५ वर्ष नपुग्दै चुरोट तान्नेमा काठमाडौं अगाडि
कलिलो उमेरमै चुरोटको लतमा फस्ने दर पनि डरलाग्दो देखिएको छ। देशभरको औसत हेर्दा ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्षको उमेर नपुग्दै कम्तीमा एक खिल्ली चुरोट वा बिडी पूरै सेवन गरिसकेका छन्।
प्रादेशिक तथा क्षेत्रीय आधारमा १५ वर्षअघि नै कुलतमा लाग्ने किशोर-किशोरीको संख्या निम्न छ:
१. काठमाडौँ उपत्यका: ५.५ प्रतिशत (सबैभन्दा बढी)।
२. गण्डकी प्रदेश (ग्रामीण क्षेत्र): ४.४ प्रतिशत।
३. सुदूरपश्चिम प्रदेश (ग्रामीण क्षेत्र): ४.१ प्रतिशत।
चिन्ताजनक अवस्था: १७ वर्ष मुनिकाले दैनिक २० खिल्ली बढी चुरोट तान्छन्
सर्वेक्षणले सबैभन्दा डरलाग्दो तथ्य १५ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरूमा देखाएको छ। यस उमेर समूहका कुल १,८९९ सहभागीमध्ये ९.५ प्रतिशतले आफूले दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्ने गरेको स्वीकार गरेका छन्। यो तथ्याङ्कले विद्यालय जाने उमेरका किशोरहरूमा सुर्तीजन्य पदार्थको निर्भरता अत्यधिक रहेको पुष्टि गर्दछ।