पछिल्लो समय अधिकांश अभिभावकको साझा समस्या आफ्ना बालबालिकाहरूलाई मोबाइल चलाउने लतबाट कसरी छुटाउने भन्ने रहेको छ।
किनकि अधिकांश बच्चाहरू अत्यधिक मात्रामा मोबाइल चलाउने मात्र होइन, खाना खाँदा, गृहकार्य गर्दा वा निदाउन पनि मोबाइलकै माग गर्दछन्। अझ कतिपय अभिभावक त आफैँ बच्चालाई मोबाइल दिएर भुलाउने र आफ्नो काम गर्ने गर्दछन्। तर चिकित्सकहरू भने दैनिक ५ घण्टाभन्दा बढी समय मोबाइलमा बिताउने बच्चाहरूमा रोगको खतरा हुने चेतावनी दिन्छन्। अझ ९ देखि १० वर्षका बच्चाले अत्यधिक मात्रामा मोबाइल चलाएमा यसले मस्तिष्कको बाहिरी पत्र (Cortex) मा समेत समस्या देखापर्ने बताउँछन्।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (AAP) ले बच्चालाई मोबाइलको लतबाट कसरी हटाउने भन्ने विषयमा निम्नानुसार सुझाव दिएको छ:
१. समय सीमा तय गर्नुहोस्
२–५ वर्षका बच्चा: दिनमा १ घण्टाभन्दा कम।
ठूला बच्चा: निश्चित समय तालिका (जस्तै १–२ घण्टा) तोक्ने।
समय बिस्तारै घटाउँदै लैजानुहोस्, एक्कासि बन्द नगर्नुहोस्।
२. अभिभावकले नै उदाहरण दिनुहोस्
बच्चाले तपाईंको व्यवहार हेरेर सिक्छन्।
घरमा 'नो फोन टाइम' (No Phone Time) लागू गर्नुहोस् (जस्तै: खाना खाने बेला, सुत्ने बेला)।
३. विकल्प दिनुहोस्
मोबाइल हटाउँदा सिर्जना हुने खाली समयमा बच्चालाई अन्य क्रियाकलापमा संलग्न गराउनुहोस्:
बाहिरी खेलकुद
किताब पढ्ने
चित्र बनाउने वा रचनात्मक काम गर्ने
साथीहरूसँग खेल्ने
४. सुत्ने बेलामा मोबाइल निषेध
सुत्नुभन्दा १ घण्टा अगाडि नै मोबाइल बन्द गर्ने।
मोबाइललाई सुत्ने कोठाभन्दा बाहिर राख्ने बानी बसाल्ने।
५. भावनात्मक ध्यान दिनुहोस्
धेरैजसो बच्चाले एक्लोपन वा झर्को (Boredom) लाग्दा मोबाइल प्रयोग गर्छन्।
बच्चासँग गुणस्तरीय समय बिताउनुहोस्, उनीहरूको कुरा सुन्नुहोस् र पर्याप्त माया दिनुहोस्।
६. आवश्यक परे विशेषज्ञको सहयोग लिनुहोस्
यदि बच्चामा अत्यधिक रिसाउने, निद्रा बिग्रने, पढाइमा गम्भीर असर पर्ने जस्ता लक्षण देखिएमा बालरोग विशेषज्ञ वा मनोपरामर्शदातासँग परामर्श गर्नुहोस्।