बाल विकासका चरणहरू
पहिलोपटक पाइला सार्नु, पहिलोपटक मुस्कुराउनु, वा कसैलाई बिदा गर्दा 'बाई-बाई' भन्दै हात हल्लाउनु जस्ता सीपहरूलाई बाल विकासको भाषामा 'माइलस्टोन' (विकासका सूचक) भनिन्छ। धेरैजसो बालबालिकाले एक निश्चित उमेरभित्र यी शारीरिक वा मानसिक कोशेढुङ्गाहरू हासिल गर्छन्। बालबालिका कसरी खेल्छन्, सिक्छन्, बोल्छन्, व्यवहार गर्छन् र हिँडडुल गर्छन् (जस्तै: घिस्रिने, हिँड्ने वा उफ्रिने) भन्ने कुराबाट यी सूचकहरू मापन गरिन्छ।
जीवनको पहिलो वर्षमा शिशुहरूले आफ्नो दृष्टि केन्द्रित गर्न, हात फैलाएर वस्तुहरू समात्न, वरिपरिको वातावरण नियाल्न र नयाँ कुराहरू सिक्न थाल्छन्। संज्ञानात्मक अर्थात् मस्तिष्कको विकास भन्नाले स्मरणशक्ति, भाषा, सोच्ने र तर्क गर्ने क्षमताको सिकाई प्रक्रियालाई बुझाउँछ। भाषा सिक्नु भनेको केवल अस्पष्ट आवाज निकाल्नु वा 'मा-मा', 'बा-बा' भन्नु मात्र होइन। वरपरका मानिसहरू र सामानहरूको नाम सुन्नु, बुझ्नु र चिन्नु पनि भाषा विकासकै महत्त्वपूर्ण पाटो हो।
यस चरणमा शिशुहरूले आफ्ना आमाबुबा र वरपरका मानिसहरूसँग माया र विश्वासको बलियो सम्बन्ध गाँस्छन्, जसले उनीहरूको सामाजिक र संवेगात्मक विकासको जग बसाल्छ। आमाबुबाले शिशुलाई अङ्गालो हाल्ने, काखमा लिने र उनीहरूसँग खेल्ने तरिकाले नै भविष्यमा उनीहरूले अरूसँग गर्ने व्यवहार र सम्बन्धको निर्धारण गर्छ।
सकारात्मक अभिभावकत्वका केही उपायहरू
यस महत्त्वपूर्ण समयमा आफ्नो शिशुको चौतर्फी विकासका लागि अभिभावकले निम्न कुराहरूमा ध्यान दिन सक्छन्:
शिशुसँग कुराकानी गर्नुहोस्: तपाईंको आवाजले शिशुलाई शान्त र सुरक्षित महसुस गराउँछ।
शिशुको आवाजको जवाफ दिनुहोस्: शिशुले कुनै अस्पष्ट आवाज निकाल्दा त्यसलाई दोहोर्याइदिनुहोस् र त्यसमा थप शब्दहरू जोड्नुहोस्। यसले उनीहरूलाई भाषा सिक्न मद्दत गर्छ।
शिशुलाई पढेर सुनाउनुहोस्: पुस्तक वा कथाहरू पढेर सुनाउँदा उनीहरूमा भाषा र विभिन्न आवाज बुझ्ने क्षमताको विकास हुन्छ।
गीत गाउनुहोस् र संगीत सुनाउनुहोस्: यसले शिशुमा संगीतप्रति रुचि जगाउनुका साथै मस्तिष्कको विकासमा टेवा पुर्याउँछ।
शिशुको प्रशंसा गर्नुहोस्: उनीहरूलाई भरपूर माया र सकारात्मक ध्यान दिनुहोस्।
अङ्गालोमा बाँध्नुहोस् र काखमा राख्नुहोस्: धेरै समय काखमा लिँदा शिशुले आफ्नो ख्याल राखिएको महसुस गर्छन् र उनीहरूमा सुरक्षाको भावना जागृत हुन्छ।
शिशु फुर्तिलो र फुरुङ्ग भएको बेला खेल्नुहोस्: शिशु थाकेको वा रोएको छ कि भनेर नजिकबाट नियाल्नुहोस्, ताकि आवश्यक परेको बेला उनलाई खेलबाट विश्राम दिन सकियोस्।
सुरक्षित वातावरणमा राख्नुहोस्: जब शिशु यताउता सर्न वा सामानहरू छुन थाल्छन्, उनले छुन नहुने चीजहरूबाट ध्यान हटाउन खेलौनाको प्रयोग गर्नुहोस् र उनलाई सुरक्षित ठाउँमा सार्नुहोस्।
बाल सुरक्षा: पहिलो प्राथमिकता
घरमा नयाँ शिशुको आगमन भएसँगै घरलाई सुरक्षित स्थान बनाउनु आवश्यक छ। आफ्नो घरको वातावरण नियाल्नुहोस् र शिशुका लागि खतरनाक हुन सक्ने चीजहरू हटाउनुहोस्। साथै, नयाँ शिशुको जिम्मेवारीका लागि तपाईं मानसिक र भावनात्मक रूपमा पनि तयार हुनुपर्छ। शिशुलाई सुरक्षित राख्न निम्न उपायहरू अपनाउनुहोस्:
शिशुलाई कहिल्यै पनि नहल्लाउनुहोस् : शिशुको घाँटीको मांसपेशी निकै कमजोर हुन्छ, जसले टाउकोको भार थाम्न सक्दैन। शिशुलाई जोडले हल्लाउँदा उनको मस्तिष्कमा गम्भीर क्षति पुग्न सक्छ वा ज्यान समेत जान सक्छ।
उत्तानो पारेर सुताउनुहोस्: 'अचानक शिशु मृत्यु सिन्ड्रोम' (SIDS) को जोखिमबाट बचाउन शिशुलाई सधैँ उत्तानो पारेर (पिठ्युँको भरमा) सुताउने बानी गर्नुहोस्।
धुम्रपानबाट जोगाउनुहोस्: आफ्नो शिशु र परिवारलाई चुरोटको हानिकारक धुवाँबाट बचाउनुहोस्। घरभित्र कसैलाई पनि धुम्रपान गर्न नदिनुहोस्।
खाना अड्किने जोखिमबाट बचाउनुहोस्: शिशुलाई खुवाउने खानाका टुक्राहरू निकै साना बनाउनुहोस्। साथै, सजिलै निल्न सक्ने स-साना खेलौना वा वस्तुहरूसँग खेल्न नदिनुहोस्।
अनुहार छोपिने चीजहरूबाट टाढा राख्नुहोस्: शिशुको अनुहार छोपिन सक्ने वा सास थुनिन सक्ने कुनै पनि सामानसँग उनलाई खेल्न नदिनुहोस्।
तातो चीजहरू लिँदा सावधानी अपनाउनुहोस्: शिशुको नजिकै वा उनलाई काखमा लिएको बेला तातो तरल पदार्थ (चिया, कफी, सुप) वा तातो खानेकुरा कहिल्यै नलिनुहोस्।
खोप अनिवार्य लगाउनुहोस्: शिशुलाई गम्भीर रोगहरूबाट जोगाउन खोप (Vaccines) अत्यन्तै महत्त्वपूर्ण छ। आफ्नो शिशुको खोप तालिका पूर्ण छ कि छैन भन्नेबारे चिकित्सकसँग नियमित परामर्श गर्नुहोस्।
स्वस्थ शरीर र पोषण
शिशुका लागि स्तनपान सबैभन्दा प्राकृतिक र सर्वोत्तम पोषण हो। जीवनको पहिलो ६ महिनासम्म शिशुका लागि आवश्यक सम्पूर्ण पौष्टिक तत्व आमाको दूधबाटै प्राप्त हुन्छ। ६ महिनादेखि १२ महिनाको उमेरमा शिशुले स्वस्थ ठोस खानेकुरामार्फत नयाँ स्वाद र बनोटको अनुभव गर्न थाल्छन्। यद्यपि, यस अवधिमा पनि आमाको दूध पोषणको मुख्य स्रोतका रूपमा रहिरहनुपर्छ।
धैर्यताका साथ खुवाउनुहोस्: शिशुलाई बिस्तारै र धैर्यतापूर्वक खुवाउनुहोस्। जबरजस्ती नगरी नयाँ स्वादका खानेकुरा खान प्रोत्साहन गर्नुहोस् र उनीहरूको पेट भरियो कि छैन भन्ने कुरामा ध्यान दिनुहोस्।
शिशुलाई सक्रिय राख्नुहोस्: शिशुहरू ठूला केटाकेटी जस्तै दौडिन र खेल्न नसके पनि दिनभरि आफ्ना साना हातगोडाहरू चलाएर सक्रिय रहन सक्छन्।
भुइँमा खेल्न दिनुहोस्: शिशुलाई भुइँमा राखेर यताउता चल्न दिँदा उनको शरीर बलियो हुन्छ, साथै उनले नयाँ कुराहरू सिक्ने र खोज्ने अवसर पाउँछन्।
एउटै साधनमा धेरै बेर नराख्नुहोस्: शिशुलाई पिङ, स्ट्रोलर, बाउन्सर सिट वा वाकर जस्ता साधनहरूमा धेरै समयसम्म राखिराख्ने गल्ती नगर्नुहोस्।
स्क्रिन टाइम सीमित गर्नुहोस्: १८ महिनाभन्दा कम उमेरका शिशुहरूका लागि अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले भिडियो च्याटिङ बाहेक अन्य कुनै पनि प्रकारको डिजिटल स्क्रिन (मोबाइल, टिभी, ट्याब्लेट) प्रयोग नगर्न सिफारिस गरेको छ।
पर्याप्त निद्रा सुनिश्चित गर्नुहोस्: शिशुको उमेर अनुसार पर्याप्त निद्रा आवश्यक छ। ४ देखि १२ महिनाका शिशुका लागि २४ घण्टामा (दिउँसोको छोटो निद्रासहित) १२ देखि १६ घण्टाको निद्रा अनिवार्य हुनुपर्छ।
-(यो सामग्री अमेरिकाको सिडिसीबाट लिइएको हो।)