हरेक वर्ष अगस्टको सुरुवाती सातामा विश्वभर विश्व स्तनपान सप्ताह मनाइन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युनिसेफ तथा साझेदार संस्थाहरूको सहकार्यमा आयोजना हुने यस अभियानले स्तनपानलाई शिशु र आमाको स्वास्थ्य सुधार गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र दिगो उपायका रूपमा प्रवर्द्धन गर्दै आएको छ। यस वर्षको मूल सन्देश “दिगो जीवनको स्वस्थ सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ” ले प्रत्येक आमा र नवजात शिशुले स्तनपानसम्बन्धी गुणस्तरीय सेवा, परामर्श र आवश्यक सहयोग सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माणमा जोड दिएको छ।
स्वास्थ्य संस्था, समुदाय, परिवार, कार्यस्थल तथा सरकारी नीतिबीच प्रभावकारी समन्वयमार्फत स्तनपानमैत्री वातावरण सिर्जना गर्नु यस वर्षको प्रमुख उद्देश्य हो।
शिशुको पहिलो खोप
स्तनपान शिशुको पहिलो खोप र सम्पूर्ण प्राकृतिक आहार हो। जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नु, जन्मदेखि पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउनु र त्यसपछि पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनु बाल स्वास्थ्यका लागि विश्वव्यापी रूपमा सिफारिस गरिएको अभ्यास हो।
आमाको दूधले शिशुलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउनुका साथै रोगप्रतिरोधात्मक क्षमता विकास गर्न, झाडापखाला, निमोनिया तथा अन्य सङ्क्रमणबाट जोगाउन, मस्तिष्कको विकासमा सहयोग पुर्याउन र भविष्यमा हुने केही दीर्घकालीन रोगको जोखिम कम गर्न महत्वपूर्ण भूमिका खेल्छ।
स्तनपानले आमाको स्वास्थ्यमा पनि उल्लेखनीय लाभ पुर्याउँछ। नियमित स्तनपानले प्रसूति पश्चात् स्वास्थ्य पुनःस्थापनामा सहयोग गर्नुका साथै स्तन तथा डिम्बाशयको क्यान्सर, टाइप–२ मधुमेह तथा केही अन्य नसर्ने रोगको जोखिम कम गर्न मद्दत गर्छ। यसले आमा र शिशुबीचको भावनात्मक सम्बन्धलाई समेत थप सुदृढ बनाउँछ।
तर स्तनपानको अवस्थामा क्रमिक सुधार भए पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको लक्ष्य अझै हासिल हुन सकेको छैन।
विश्वव्यापी अवस्था
विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको छ। सन् २०१२ मा करिब ३७ प्रतिशत रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपान दर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यसैगरी, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट बढेर ५० प्रतिशत पुगेको छ (डब्लुएचओ, २०२६)।
यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाउँछन्। तर अझै पनि विश्वका ठूलो सङ्ख्याका शिशुहरू सिफारिसअनुसार पूर्ण स्तनपानबाट वञ्चित छन्। त्यसैले प्रभावकारी कार्यक्रमलाई सीमित क्षेत्रमा मात्र नभई सबै आमा र शिशुसम्म पुर्याउनु अहिलेको प्रमुख आवश्यकता हो।
नेपालमा स्तनपानको अवस्था
नेपालमा पनि स्तनपानको अवस्था विगतका वर्षहरूको तुलनामा सुधार हुँदै गएको छ। तर अझै केही महत्वपूर्ण चुनौती कायम छन्। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (NDHS) २०२२ अनुसार, ५५ प्रतिशत शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराइन्छ भने ५६ प्रतिशत शिशुले मात्र जन्मदेखि छ महिनासम्म पूर्ण रूपमा आमाको दूध पाउने गरेका छन्।
नेपालमा झन्डै सबै शिशुले जीवनको कुनै न कुनै समयमा स्तनपान गर्ने भए पनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरेअनुसार पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउने अभ्यास अझै अपेक्षित स्तरमा पुग्न सकेको छैन।
स्वास्थ्य संस्थामार्फत दक्ष स्तनपान परामर्श, समुदायमा आधारित परामर्श सेवा, पर्याप्त र सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूध तथा अन्य उत्पादनको अनियन्त्रित प्रवर्द्धनमाथि प्रभावकारी नियन्त्रण स्तनपान प्रवर्द्धनका महत्वपूर्ण तथा लागत–प्रभावकारी उपाय हुन्।
यस्ता कार्यक्रमको विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ। त्यस्तै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीबाट स्वास्थ्य उपचार खर्चमा कमी, बालबालिकाको बौद्धिक विकास, शैक्षिक उपलब्धि तथा भविष्यको आम्दानीमा सुधारमार्फत करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने आकलन गरिएको छ।
यस अर्थमा अबको चुनौती कुन उपाय प्रभावकारी छ भन्ने होइन, प्रभावकारी कार्यक्रमलाई पर्याप्त लगानीसहित सबै आमा र शिशुसम्म कसरी विस्तार गर्ने भन्ने हो।
‘अमृत कोष’ : आवश्यक नवजातका लागि जीवनदायी मानव दूध
नेपालमा स्तनपान प्रवर्द्धनका लागि बेबी फ्रेन्ड्ली हस्पिटल इनिसिएटिभ, स्तनपान परामर्श सेवा तथा मानव दूध बैंकजस्ता कार्यक्रम सञ्चालन भइरहेका छन्।
स्तनपानसम्बन्धी उपयुक्त अभ्यासको कमी, आमाको दूधको सीमित उपलब्धता तथा त्यसबाट वञ्चित नवजात शिशुको स्वास्थ्यमा देखिने चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले नेपालको पहिलो मानव दूध बैंक ‘अमृत कोष’ सन् २०२२ अगस्टमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा स्थापना गरिएको हो।
विशेषगरी समयअघि जन्मिएका, कम तौल भएका वा बिरामी नवजात शिशुका लागि मानव दूध बैंक महत्वपूर्ण सेवाका रूपमा विस्तार भइरहेको छ। आमाको बिरामी अवस्था, पर्याप्त दूध उत्पादन नहुनु, आमाको मृत्यु, शिशुको समयअगावै जन्म वा अन्य चिकित्सकीय कारणले आमाको दूध उपलब्ध हुन नसक्ने अवस्थामा सुरक्षित रूपमा सङ्कलन र प्रशोधन गरिएको दाता आमाको दूध महत्वपूर्ण विकल्प बन्न सक्छ।
मानव दूध बैंकले स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाद्वारा जारी वृहत् स्तनपान व्यवस्थापन केन्द्र सम्बन्धी निर्देशिका मा उल्लेखित कार्यसम्पादन मापदण्डलाई अवलम्बन गर्दै सेवा सञ्चालन गरिरहेको छ।
यी प्रक्रियाहरू दाता आमाको पहिचान तथा छनोटबाट सुरु भई दाता आमाको दूध सङ्कलन, परीक्षण, प्रशोधन, भण्डारण तथा आवश्यकताअनुसार प्राप्तकर्ता नवजात शिशुलाई उपलब्ध गराउने चरणसम्म निरन्तर सञ्चालन हुन्छन्।
हालसम्म ३,७४२ जना दाता आमाबाट करिब २,३४३ लिटर मानव दूध सङ्कलन गरी ४,७९२ जना आवश्यकतामा रहेका नवजात शिशुलाई दूध उपलब्ध गराइएको छ। यो उपलब्धिले मानव दूध बैंकले समयअघि जन्मिएका, कम तौल भएका तथा बिरामी नवजात शिशुको जीवनरक्षामा पुर्याउन सक्ने योगदानलाई स्पष्ट पार्छ।
किन आवश्यक छ ‘अमृत कोष’?
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल नेपालकै प्रमुख प्रसूति सेवा प्रदान गर्ने तथा राष्ट्रिय रेफरल अस्पताल हो। अस्पतालमा वार्षिक २० हजारभन्दा बढी प्रसूति हुने गरेका छन्। तीमध्ये करिब ३०–४० प्रतिशत प्रसूति सिजेरियन शल्यक्रियामार्फत हुने गरेका छन्।
अस्पतालमा हुने कुल प्रसूतिमध्ये करिब ११.१४ प्रतिशत शिशु कम तौलका जन्मिन्छन् भने ३.६ प्रतिशत शिशु समयअघि (Preterm) जन्मिने गरेका छन्। साथै, प्रत्येक वर्ष २०० भन्दा बढी नवजात शिशु विशेष नवजात शिशु स्याहार इकाईमा भर्ना हुने गर्छन्।
यस्ता नवजात शिशुमध्ये करिब ३५–४० प्रतिशतलाई उपचार अवधिमा डोनर आमाको दूध आवश्यक पर्ने गर्छ। त्यसैले मानव दूध बैंक केवल दूध सङ्कलन र वितरण गर्ने संरचना मात्र नभई जोखिममा रहेका नवजात शिशुको पोषण तथा जीवनरक्षासँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण स्वास्थ्य सेवा हो।
कामकाजी आमाका लागि चुनौती
स्तनपान प्रवर्द्धनमा अझै धेरै चुनौती छन्। बढ्दो शहरीकरण, कामकाजी आमाको सङ्ख्यामा वृद्धि, प्रसूति बिदापछि छिट्टै काममा फर्किनुपर्ने बाध्यता, कार्यस्थलमा स्तनपान वा दूध सङ्कलन गर्ने उपयुक्त स्थानको अभाव, स्तनपानसम्बन्धी अपर्याप्त परामर्श तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको बढ्दो प्रचारप्रसार प्रमुख चुनौतीका रूपमा देखिएका छन्।
स्तनपान सफल बनाउन आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र राज्यको निरन्तर सहयोग आवश्यक हुन्छ।
नेपाल सरकारले हालै प्रसूति बिदालाई छ महिनासम्म विस्तार गर्ने प्रस्ताव अघि सारेको छ। यो प्रस्ताव कार्यान्वयनमा आएमा आमाहरूलाई शिशुको जीवनको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउने विश्व स्वास्थ्य संगठनको सिफारिसलाई व्यवहारमा उतार्न थप सहज हुनेछ।
यसले मातृ स्वास्थ्य, नवजात शिशुको पोषण तथा परिवारको समग्र कल्याणमा सकारात्मक प्रभाव पार्नुका साथै महिलामैत्री र स्तनपानमैत्री कार्यस्थल निर्माणतर्फ पनि महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
स्तनपान सबैको साझा जिम्मेवारी
स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन; यो परिवार, समुदाय, स्वास्थ्य संस्था, रोजगारदाता र सरकार सबैको साझा दायित्व हो। सरकारको नीति वा आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवारको साथ, स्वास्थ्य संस्थाको दक्ष परामर्श, कार्यस्थलको अनुकूल वातावरण, समुदायमा आधारित सहयोग तथा राज्यको प्रभावकारी नीति र कार्यान्वयनले मात्र आमालाई आत्मविश्वासका साथ शिशुलाई स्तनपान गराउन सहज बनाउँछ।
विशेषगरी आमाहरूले दैनिक जीवनमा अपनाउन सक्ने केही सरल र दिगो अभ्यास तथा वरपरको सहयोगी वातावरणले स्तनपानलाई अझ प्रभावकारी बनाउन सक्छ। जन्मेको पहिलो घण्टामै स्तनपान सुरु गर्ने, पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने, आवश्यकता पर्दा दक्ष स्वास्थ्यकर्मीबाट स्तनपानसम्बन्धी परामर्श लिने तथा काममा फर्किएपछि पनि स्तनपानलाई निरन्तरता दिन उपयुक्त योजना बनाउने अभ्यास महत्वपूर्ण छन्।
त्यसैले विश्व स्तनपान सप्ताह केवल एक साताको अभियानमा सीमित हुनुहुँदैन। हरेक दिन, हरेक स्वास्थ्य संस्था, हरेक परिवार र हरेक कार्यस्थलले स्तनपानलाई सहज बनाउने वातावरण निर्माण गर्नुपर्छ।
स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ पुस्ताको आधारका रूपमा स्तनपानलाई प्रवर्द्धन गर्न अब आमालाई मात्र जिम्मेवार बनाउने होइन, आमालाई सहयोग गर्ने सम्पूर्ण प्रणालीलाई बलियो बनाउन आवश्यक छ।