कतिपय अभिभावकले बच्चा ५ वर्ष पूरा हुँदा पनि आफैँ खाना खुवाइदिने गर्छन्। यसले उनीहरूमा परनिर्भरता बढाउने तथा विकासमा समेत असर गर्ने बालरोग विशेषज्ञहरू बताउँछन्। बच्चालाई ९ देखि १२ महिनाको उमेर भएपछि आफैँ खाना खान दिन सुरु गर्नुपर्ने बालरोग विशेषज्ञ डा. ज्योतिरत्न शाक्य बताउँछन्।
उनका अनुसार यो उमेरमा बच्चामा वस्तुहरू औँलाले पक्रने क्षमताको विकास हुन्छ र उनीहरू आफैँ खाना टिपेर मुखमा हाल्न योग्य हुन्छन्। पूर्ण रूपमा सफा र स्वतन्त्र तरिकाले चम्चा र काँटाको प्रयोग गरेर खाना खान भने बच्चाहरूलाई २ देखि ३ वर्षको उमेर लाग्छ।
उमेर अनुसार खाना खाने बानीको विकास
६ देखि ९ महिना:
यो उमेरमा बच्चाले खानामा रुचि देखाउन थाल्छन्। यो समयमा उनीहरूको हातमा मकैको गेडा जत्रो नरम खानेकुरा वा मिचेको फलफूल दिएर आफैँ मुखमा लैजाने अभ्यास गराउन सकिन्छ।
९ देखि १२ महिना (१ वर्ष):
बच्चाहरू बुढीऔँला र चोरऔँलाको मद्दतले साना खानेकुराका टुक्रा आफैँ टिपेर खान सक्छन्। यो समयमा उनीहरूलाई प्लास्टिकको हलुका चम्चा समात्न दिनुपर्छ।
१२ देखि १८ महिना (डेढ वर्ष):
बच्चाहरू चम्चाले खाना कोट्याउन र केही मात्रामा खाएर पोख्दै मुखसम्म पुर्याउन थाल्छन्। यो चरणमा खाना बढी पोखिन्छ, जुन एकदमै स्वाभाविक हो।
२ देखि ३ वर्ष:
यो उमेरसम्म आइपुग्दा बच्चाहरू चम्चा र काँटाको राम्रो प्रयोग गर्दै थोरै मात्र पोखेर वा नपोखीकन आफैँ पूरै खाना खान सक्षम भइसकेका हुन्छन्।
अभिभावकले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुराहरू
खाना पोख्न र खेल्न दिने:
सुरुमा बच्चाले खाना पोख्छन् र लुगा वा भुइँ फोहोर गर्छन्। यसो गर्दा उनीहरूको मस्तिष्क र हातको समन्वय बलियो हुने भएकाले गाली नगरीकन स्वतन्त्र रूपमा खान दिनुपर्छ।
नरम टुक्राहरू दिने:
आफैँ खान दिँदा बच्चाको घाँटीमा अड्किन नदिन राम्ररी पाकेको, नरम र साना टुक्रा पारिएका खानेकुराहरू मात्र दिनुहोस्।
सँगै राखेर खुवाउने:
परिवारका अन्य सदस्यहरूसँगै डाइनिङ टेबल वा भुइँमा राखेर खुवाउँदा बच्चाहरूले अरूको सिको (नक्कल) गर्दै चाँडो आफैँ खान सिक्छन्।
स्क्रिनबाट टाढा राख्ने:
खाना खाने समयमा मोबाइल वा टिभी देखाउने बानी पूर्ण रूपमा बन्द गर्नुपर्छ। यसले बच्चाको ध्यान खानामा केन्द्रित हुन दिँदैन।