'म' मेरो डाक्टर
बिहान घर पुछ्नु अघि नै पसिनाले शरीर पुछ्नु छ।
सूर्यनारायण उदाउनु अघि आफूभित्रको सूर्य खोज्नु छ।।
शरीरमा सलाइन चढाउनु भन्दा उत्तम शरीरको अङ्ग चलाउनु छ।
औषधिलाई खाना बनाउनु भन्दा खानालाई औषधि बनाउनु छ।।
रोग लागेपछि अस्पताल दौडिनु अघि योग र ध्यानमा पौडिनु छ।
रोगव्याधिको निदानमा मेडिसिन बाहेक जीवन विज्ञानमा जोडिनु छ।।
शरीरलाई ओछ्यानमा लामो समय थन्काउनु भन्दा शरीरलाई तन्काउनु छ।
रोग लागेपछि आँसु खसाल्नु भन्दा समयमै बोसो पगाल्नु छ।।
आगोले पकाएको खाना भन्दा घामले पकाएको खानामा बल गर्नुपर्छ।
प्रकृतिको नियम जानेर पनि बुझपचाएमा उमेरमै माथि जानुपर्छ।।
खानाको प्रकृति बुझेर लोभले होइन लाभले ग्रहण गर्नु।
आफ्नो स्वास्थ्य डाक्टरको हातमा छ भनेर भ्रममा नपर्नु।।
विचार गरेर हेरौँ प्राकृतिक जीवनशैली प्राकृतिक मरण।
अस्वस्थ आनीबानी, अस्पतालकै पटक–पटक शरण।।
कि त बनाऊ योगालय र ध्यान नजिकैको बास।
नत्र हुनेछ अस्पतालमा अथाह समय र धनको नास।।
जीवनमा कुन ऊर्जा छनोट गर्छौ, छ तिम्रै हातमा।
आनन्द उत्सव मनाउँदै जोडियौँ है अध्यात्मको साथमा।।
यस्तो गर्दागर्दै पनि रोग भागमा पर्यो भने त कसको के लाग्छ र प्रभु !