काठमाडौं- चिनियाँ वैज्ञानिकहरूको टोलीले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) मोडलले चिकित्सकीय परीक्षणका क्रममा सुरुमा पहिचान हुन नसकेका १५ वटा क्यान्सरका केस पत्ता लगाएको छ।
डीएएमओ एलआईओएन (DAMO LiON) नामक उक्त एआई मोडलले दुई महिनासम्म गरिएको वास्तविक क्लिनिकल परीक्षणका क्रममा छुटेका क्यान्सरका केस पहिचान गर्न सहयोग गरेको हो। यसबाट ती बिरामीले समयमै शल्यक्रिया तथा औषधिमार्फत उपचार प्राप्त गर्न सकेका छन्।
अनुसन्धानकर्ताका अनुसारडीएएमओ एलआईओएन ले प्राथमिक कलेजो क्यान्सर पहिचान गर्नुका साथै अन्य अंगबाट कलेजोमा फैलिएका लिभर मेटास्टेसेस समेत पत्ता लगाउन सक्छ। यस्ता क्यान्सरका संकेतहरू सामान्य परीक्षणमा छुट्न सक्ने भएकाले एआईको सहयोग महत्वपूर्ण मानिएको छ।
प्रयोगका क्रममा उक्त एआई मोडलले घातक ट्युमर पहिचान गर्ने सटीकतामा सामान्य रेडियोलोजिस्टको तुलनामा राम्रो प्रदर्शन गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्।
चिकित्सकहरूले स्क्यानको विश्लेषण गर्दा डीएएमओ एलआईओएनको सहयोग लिँदा स्क्यान पढ्ने समय २७ प्रतिशतले घटेको र घातक ट्युमर पहिचान गर्ने संवेदनशीलता ११.५ प्रतिशतले बढेको अध्ययनमा उल्लेख छ। यसले क्यान्सर छुट्ने सम्भावना कम गर्न सहयोग गरेको बताइएको छ।
अनुसन्धानकर्ताहरूका अनुसार एआईले चिकित्सकलाई प्रतिस्थापन गर्नेभन्दा पनि मेडिकल इमेजिङ विश्लेषणमा सहयोगी उपकरणका रूपमा काम गर्दा प्रारम्भिक पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुर्याउन सक्छ।
यससम्बन्धी अध्ययन हालै प्रतिष्ठित वैज्ञानिक जर्नल नेचर मेडिसिनमा प्रकाशित भएको छ।