डक्टर्स आर्टिकल

के हो बच्चाले धेरै चकचक गर्ने रोग ‘एडीएचडी’ ?


काठमाडौं-

धेरैजसो बालबालिकाहरु कुनै पनि कुरामा एकाग्र हुन सक्दैनन् । चकचक गरिरहन्छन् । यसलाई हामी सामान्य रुपमा लिँदैं ‘बच्चाको बानी’ भन्छौं र त्यति वास्ता गर्दैनौं । तर यो एउटा स्वास्थ्य समस्या पनि हो । यसलाई एटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर’(एडीएचडी) भनिन्छ।

विश्वको तथ्यांक हेर्ने हो भनी यस्तो समस्या करिब ३ देखि ५ प्रतिशत बच्चामा देखिन्छ । यस्तो समस्या भएका बच्चाहरु चकचक गरिराख्ने, एकै ठाउँमा बस्न नसक्ने, अरुलाई चलाइ राख्ने ,पढाइमा ध्यान दिन नसक्ने जस्ता समस्या हुन्छन् । टिभी, कम्प्युटर, भिडियो गेममा चाहिँ भुल्छन्।

तर ध्यान दिनुपर्ने कुरा के हो भने ५ वर्षभन्दा मुनीका बालबालिका चकचक गरे सामान्य मान्न सकिन्छ । तर यो उमेरभन्दा बढीका बालबालिकामा एकै ठाउँमा नबस्ने, सामान तोडफोड गर्ने, रिस देखाएर नडराउने, केही कुरा गर्न पनि नडराउने, बढी बोल्ने, अरुलाई जे पनि भन्ने, पिट्ने, कुनै कुरामा पनि ध्यान दिन नसक्ने, दिएको काम पूरा गर्न नसक्ने जस्ता समस्या देखिए एडीएचडीकै कारण हो भन्न सकिन्छ।

मानिसको मष्तिष्कमा ध्यान दिने र शान्त हुने भाग हुन्छ । एडीएचडीको समस्या भएका बालबालिकामा मष्तिष्कको त्यो भाग विकास भएको हुँदैंन । कसैको १३– १४ देखि १७–१८ वर्षको उमेरसम्मविकास हुन्छ भने कतिपयलाई जीवनभर नै एडीएचडीको समस्या हुन्छ।

यस्ता बच्चाहरु छिटो एक्सन लिने अर्थात् देखेपछि गरिहाल्ने खालका हुन्छन् । यस्तो समस्या भएका बच्चाहरु बाटो काट्नु पर्‍यो भने सोच्दै नसोची दौडन्छन् । हामफाल्नु पर्यो भने हामफालिहाल्ने र झगडा गरिहाल्ने खालका हुन्छन्।

कोही ठुला मान्छे बोलेका छन् भने सोच्दै नसोची बोलिहाल्छन् । पालो कुर्न सक्दैनन् । कतै लाइन बस्नु पर्‍यो भने अगाडिका लाई धकेलेर भएपनि जानुपर्छ । कक्षामा शिक्षकले जे प्रश्न गरेपनि पनि हात उठाउँछन् । हेर्दा चनाखोजस्तै देखिन्छन् । तर उनीहरुमा एडीएचडी समस्या भएको हुन सक्छ। 

यस्ता समस्या दुई खालका हुन्छन् । एउटा कुनैपनि कुरामा राम्रोसंग ध्यान दिन नसक्ने खालका हुन्छन् । तिनीहरुलाई बढ्न गाह्रो हुन्छ । बच्चा हेर्दा चलाखजस्तै देखिएपनि उसको बुद्धि विकासअनुसार पढाइमा प्रगति गर्न गाह्रो हुन्छ । पढाईमा राम्रोसंग ध्यान दिन सकेन भने राम्रोसँग सिक्न सक्दैन पनि।

छुकछुक गरिराख्ने, अरुलाई काम गर्नमा बाधा पु¥याउने, घरमा एक ठाउँमा नबसिदिने, सामान तोडफोड गरिदिने र साथीलाई मनमा आयो त्यही भनेर पिट्न पनि पछि पर्दैनन् । यस्ता समस्या भएका बच्चालाई गाली गर्नुभन्दा पनि माया गरेर सम्झाउनु पर्छ । समस्याको समयमा नै पहिचान गरी उसलाई जे गर्दा खुसी मिल्छ त्यही गर्न लगाउनु पर्छ।

कक्षकोठामा नचली बस्न नसक्ने, एकै ठाउँमा बस्न नसक्ने बच्चा छन् भने बीचबीचमा उठ्न दिनुपर्छ । खेलकुदमा भाग लिन लगाउनुपर्छ । बच्चालाई जबर्जस्ती यो काम गर भन्नुभन्दा पनि उसले चाहेको कुरा गर्न दिनुपर्छ । जबसम्म दिमागको ध्यान दिने र शान्त भएर बस्ने भाग विकास हुँदैन । यो समस्या रहिरहन्छ । १७÷१८ वर्षको उमेरसम्म हामीले यो रोगको उपचार गरिरहनुपर्छ।

बच्चाहरुलाई हुर्काउने वातावरणले पनि प्रभाव पार्छ । बच्चाहरुलाई खेल्न नदिने, घरभित्रै राख्ने, टीभी मोबाइल दिने, साथीहरुसंग खेल्न छुट नदिने, कुनै काम नगर भन्ने, यहाँ नबस भन्नेजस्ता कुरामा पनि उनीहरुले ध्यान दिँदैंनन् । कुनै कुरामा जति नियन्त्रण ग¥यो, उति नै समस्या देखिन सक्छ।

आजभोलि बच्चाहरु सानै उमेरदेखि नै टेलिभिजन र मोबाइलमा धेरै समय बिताउँछन् । कुनै चिज मन परेन भने अर्को कुरा माग गर्छन् । यसोगर्दा पनि ध्यान एउटै कुरामा टिकीराख्न गाह्रो हुन्छ । त्यसैले यो समस्या दिनप्रतिदिन बढिरहेको छ । त्यसैले बच्चालाई टीभी, मोबाइलमा एक घण्टाभन्दा बढी समय बिताउन दिनुहुँदैन।

दुइ तिहाई बच्चामा उमेर भएपछि अर्थात् १५ वर्षसम्ममा यस्ता समस्या आफैँ सुधार भएर जान्छन् । एक तिहाई बालबालिकामा भने यो समस्या जीवनभर रहिरहन सक्छ । यस्तो समस्या ठूलो मानिसमा पनि हुन सक्छ । जसले गर्दा उनीहरु बढी बोल्ने, कुनै कुरामा ध्यान दिन नसक्ने, सवारीसाधन चलाउँदा दुर्घटनामा पर्नेजस्ता समस्या हुन्छ । यस्ता मानिस कुनै पनि काम राम्रोसँग गर्न  सक्दैनन् ।  जसको असर उनीहरुको सम्पूर्ण जिन्दगीमै पर्छ।

सामान्यतः  आमाबाबुले बच्चा धेरै चकचके छ भनेर घरमै राख्छन्, नियन्त्रण गर्न खोज्छन् । त्यसैले यो रोग पहिचान पनि ढिला हुन्छ । तर औषधी उपचार गरे यसलाई नियन्त्रण गर्न सकिन्छ । यसको औषधी भने नेपालमा पाइदैन । विदेशबाट ल्याउनु पर्छ । एडीएचडी उपचारबाट भन्दा पनि सहज वातावरण निर्माणबाट समाधान हुन्छ । यदि सबै उपाय गर्दा पनि निको भएन भने उपचार गर्न अस्पताल लैजानुपर्छ।

प्रस्तुति : सिर्जना खत्री

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



प्रतिकृया दिनुहोस

पढ्नै पर्ने