काठमाडौं- प्राध्यापक संघ आयुर्वेद क्याम्पस इकाइले आयुर्वेद क्याम्पस परिसरमा रहेका रुखहरु कटान गरेको विषयमा आपत्ति जनाएको छ। क्याम्पस परिसरमा रहेका रुखहरु त्रिवि केन्द्रीय कार्यालयका साथै वन विभागबाट स्विकृति नलिई मनोमानी ढंगमा फडानी गरेको भन्दै प्राध्यापक संघ क्याम्पस इकाइले आपत्ति जनाएको हो।
विगत समयमा पनि प्रशासन भवन र शैक्षिक भवनको बिचमा रहेका रुखहरु जरैबाट कटान भइरहेको तथा हाल आएर रुखका हाँगा काट्ने बाहनामा सिंगो रुख नै काटेको भन्दै संघले विज्ञप्ति जारी गर्दै उक्त कार्यको विरोध गरेको छ।
'विगत केहि समय देखि आयुर्वेद क्याम्पस परिसरमा रहेका रुखहरु कटान भैरहेको सम्बधनमा त्रिवि प्राध्यापक संघ आयुर्वेद क्याम्पस इकाइ समितीको गम्भीर ध्यानाकार्षण भएको छ,' इकाइद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
'विगत समयमा पनि प्रशासन भवन र शैक्षिक भवनको बिचमा रहेका रुखहरु जरैबाट कटान भैरहेको तथा हाल आएर रुखका हाँगा काटने बाहनामा सिग्डो रुखहरुलाई नै आधा भागसम्म रुखको अश्तित्व नै नरहनेगरी कटान गरी ती काठहरू ट्रकमा लोडगरी क्याम्पस बाहिर पठाएको प्रति हाम्रो गम्भीर आपत्ति छ। साथै रूखहरू जस्तो सम्वेदनशिल विषयमा क्याम्पसव्दारा प्राध्यापक संघ संग छलफल समेत नगरी तथा त्रिवि केन्द्रीय कार्यालय साथै वन विभागबाट स्विकृति नलिई आफ्नो मनोमानी ढंगमा फडानी गरेको प्रति हाम्रो गम्भीर प्रश्न छ,' विज्ञप्तिमा उल्लेख छ।