जलबिन्दु आँखाको प्रेसर बढेर, दृष्टिनशालाई क्षति पुर्याउने अवस्था हो, जसलाई समय मै पहिचान गरी उपचार नगरिएमा अन्धोपन निम्त्याउन सक्छ। त्यसैले जलबिन्दुबारे जनमानसमा सामान्य ज्ञान र चिकित्सकद्वारा समयमै पहिचान एवं उपचार गरि यसको हानिकारक असर रोक्न सकिन्छ। यस लेखमा जलबिन्दु, यसको जोखिमका कारणहरू, जलबिन्दुबाट हुन सक्ने अन्धोपन् र यसबाट जोगिन नियमित आँखा जाँचको महत्त्वपूर्ण भूमिका बारे सचेतना जगाउने उद्देश्य राखिएको छ।
प्रायः जलबिन्दुको सुरुवाती अवस्थामा कुनै लक्षणहरू देखिँदैनन्, तर समय मै पहिचान गर्न नसकिए यसले आँखामा असर पुर्याइ दृष्टिनशालाई सधैंका लागि हानी पुर्याउन सक्छ। फलस्वरुप, आँखाको ज्योति कम हुने वा असर बढ्दै जाँदा पूर्णरुपमा अन्धो समेत बनाउन सक्छ।
जलबिन्दुमा देखिन सक्ने लक्षणहरू:
सुरुवाती अवस्थामा सामान्यतया बिरामीहरूलाई कुनै लक्षण नहुन सक्छ
टाउको दुख्ने
उज्यालो प्रकाशको वरिपरि इन्द्रेणी-रङ्गको घेराहरू देखिने
दृष्टि धमिलो हुँदै जाने
साइड-साइडका वस्तुहरू स्पष्ट रूपमा देख्न गार्हौ हुने
हामीमध्ये जो कसैलाई पनि जलबिन्दु हुन सक्छ, तर केही कारणहरू भने रहन्छन जसले जलबिन्दु हुने जोखिम बढाउँछ। ६० वर्षभन्दा माथिका व्यक्तिहरू र लामो समयको लागि स्टेरोइड उपचार लिएका बिरामीहरु जलबिन्दुको जोखिममा रहन्छन। साथै, केहि कारणवस आँखामा चोट लागेका र , परिवारको कुनै सदस्यमा जलबिन्दु देखा परेमा सो परिवारका अन्य सदस्यहरुमा पनि जलबिन्दु हुने जोखिम उच्च रहन्छ।
नियमित आँखा जाँचको महत्व
जलबिन्दु सुरुवाती अवस्थामा पहिचान गर्न र यसको समुचित उपचारको लागि नियमित आँखाको जाँच गराउन आवश्यक छ। प्रायः जलबिन्दुको सुरुवाती अवस्थामा कुनै लक्षण नहुने हुँदा, नियमित आँखाजाँचले मात्र यसको प्रारम्भिक चरणमै रोगको पहिचान गर्न सक्छ। जसमा आँखाको प्रेस्सर नाप्ने, भिजुअल फिल्ड टेष्ट र दृष्टि नशाको अवस्था जाँच जस्ता परीक्षणहरूले आँखामा असर गर्नु अघि नै जलबिन्दुका लक्षणहरू पत्ता लगाउन मदत गर्छ।
उपचार विकल्प
जलबिन्दुको समयमै उपयुक्त उपचारले यसलाई अगाडि बढ्न र यसबाट आँखाको देख्न सक्ने क्षमतामा हृास आउनबाट बच्न सकिन्छ। यसका उपचार विकल्पहरूमा औषधि (आँखामा लगाउने ड्रपहरू, मुखबाट खाने औषधि), लेजर थेरापी र शल्यक्रिया पर्दछन जुन रोगको गम्भीरतामा निर्भर गर्दछ। सुरुवाती अवस्थामा औषधि तथा आँखामा लगाउने ड्रपबाट यसको उपचार गर्न सकिन्छ भने रोगको प्रक्रिति हेरेर लेजर थेरापी वा सर्जरी पनि गर्नुपर्ने हुन सक्छ। समयमै उपचारले आँखाको दृष्टि जोगाउने मत्र नभई जलबिन्दु भएका बिरामीहरुको जीवनको गुणस्तर समेत राम्रो बनाउन मदत गर्छ। त्यसैले जलबिन्दु र यसको स्क्रिनिङ बारेमा सचेत हुनु आवश्यक छ।
(लेखक आँखारोग विशेषज्ञ हुन्।)