डक्टर्स आर्टिकल

'मूड'को  मानसिक समस्या अर्थात् बाइपोलर डिसर्डर, सम्भव छ मनोसामाजिक उपचार?


समय, परिस्थिति र घटनाक्रम अनुसार खुसी-दु:खी हुनु जीवनचक्र हो। तर कहिलेकाहीँ लगातार खुसी हुनु, रिसाउनु वा दु:खी हुनु कुनै परिस्थिति मात्र नभई रोग पनि हुन सक्छ। 

यस्तै एउटा हो, मनोरोग- बाइपोलर डिसर्डर। विश्वको तथ्यांक हेर्ने हो भने १.२ प्रतिशत मानिसमा बाइपोलर डिसर्डर  देखिएको छ। नेपालमा भने यो रोगको कुनै तथ्यांक छैन। 

बाइपोलर डिसर्डर एउटा  'मूड'को  मानसिक समस्या हो। यो रोगमा  एकै व्यक्तिको मूडमा केही हप्ता वा महिनासम्म निरन्तर उदासी (Depressive phase) र केही समयको लागि अस्वाभाविक चञ्चलता, खुसी वा चिढचिढापन अर्थात् म्यानिया (euphoric or irritable mania phase) का  लक्षण देखिने गर्दछ। र पुन: मूड सामान्य अवस्था (euthymic phase) मा फर्किने गर्दछ। यस्ता लक्षण देखिएर दैनिक, व्यक्तिगत र सामाजिक जीवनमा खलल पुग्नु बाइपोलर डिसर्डर को लक्षण हुन सक्छ। 

कतिपय पीडितमा भने मात्र म्यानियाको लक्षण देखिने गर्दछ, जसलाई रिक्रुट युनिपाेलार मेनिया ( Recurrent unipolar mania) भनिन्छ। बाइपोलर डिसर्डर एउटा 'मूड’ को मनोरोग मात्रै नभएर मस्तिष्कका रासायनिक परिवर्तनहरुको कारणले निम्त्याउने मनोजैविक (Neurobiological) रोग पनि हो। त्यसैले यसमा देखिने लक्षणहरु व्यक्तिको नियन्त्रणमा हुँदैन र ’मूड’ लाई सामान्य राख्न नियमित औषधि सेवन अत्यावश्यक हुन्छ।

बाइपोलर डिसर्डरका लक्षणहरु
यो मानसिक रोगले पीडितको व्यक्तित्व, जीवनशैली र व्यवहारमा अस्वाभाविक परिवर्तन ल्याउने गर्छ। यसमा लक्षण यस्ता छन्–
मन भारी हुने
उदास र  नरमाइलो लाग्ने
एक्लै बस्न मन लाग्ने
पहिले  रमाइलो लाग्ने गतिविधिमा सहभागी हुन मन नलाग्ने
रुन मन लाग्ने
अत्यधिक थकावट महसुस हुने
जीवन अर्थहीन लाग्ने
भविष्य निराशाजनक लाग्ने
मनमा आफूलाई नोक्सान गर्ने र जिन्दगी समाप्त गर्ने विचार आउने
आफ्नो बारेमा हीन भावना खेल्ने
भोक, निन्द्रा कम र बढी लाग्ने
आफ्नो सरसफाइ गर्न मन नलाग्ने आदि।

बाइपोलर डिप्रेसनमा आत्महत्या र आत्मनोक्सानको अत्यधिक सम्भावना रहने हुनाले माथि उल्लिखित लक्षणहरुलाई सावधानीपूर्वक लिन जरुरी हुन्छ।

अत्यधिक मन खुसी, चञ्चलता र चिढचिढापन हुने, निन्द्रा कम लागे पनि शरीरमा अत्यधिक फुर्ती महसुस हुने, आफ्नो क्षमताभन्दा धेरै काम गर्ने जाँगर  चल्ने, भविष्यका बारेमा अचानक ठूलाठूला योजना बुन्ने, धेरै बोल्ने र रिसाउने,गालीगलौज गर्ने, सामाजिक परिस्थितिको ख्याल नगर्ने, आफ्नोबारे ठूलो कुरा गर्ने, आलौकिक शक्तिहरुको भ्रम हुने,पैसा धेरै खर्च गर्न मन लाग्ने म्यानिया (Mania Phase)  का लक्षण हुन्। 

म्यानिया रोगको लक्षण देखिएपछि आकस्मिक मानसिक स्वास्थ्य सेवाको जरुरी हुन्छ। किनभने रोगले च्याप्दै जाँदा व्यक्तिगत र सामाजिक जीवनमा उपयुक्त निर्णय लिने क्षमतामा उल्लेख्य कमी आउन सक्छ र पीडित व्यक्ति क्रमश: आफ्नो स्वाभावबाट टाढिँदै जान्छ।    


पहिले नै  बिरामी र तिनका आफन्तले यी लक्षणहरु तुरुन्तै चिनेर उचित उपचार गराए रोगको नयाँ झट्का (Relapse) लाई समयमै रोकथाम गर्न सकिन्छ। विशेषगरी जीवनका महत्वपूर्ण घटनाक्रम वा समस्याले पैदा गर्ने तनावले पनि रोगका लक्षणहरु देखिन थाल्दछन्। 

बाइपोलर डिसर्डरको औषधोपचार कस्तो हुन्छ?
बाइपोलर रोग बारम्बार लक्षणहरु देखिइरहने दीर्घ मानसिक रोग भएको हुनाले यसलाई नियन्त्रणमा राख्न नियमित औषधि सेवन गर्नु अत्यावश्यक हुन्छ। यस रोगको उपचारका दुई चरण हुन्छन्– नयाँ लक्षणलाई चाँडै नियन्त्रण लिन गरिने आकस्मिक उपचार (acute phase) र रोगलाई दोहोरिन नदिन गरिने दीर्घकालीन उपचार (maintenance phase)। यसरी ’मूड’ लाई सामान्य अवस्थामा राख्ने ओखतीलाई मूड स्टेपिलाइजर (Mood Stabilizer)भनिन्छ जसमा लिथियम (Lithium), भ्यालप्राेएट (Valproate), ल्यामाे ट्रिजिन कार्वाम्याजेपिन (Lamotrigine, Carbamazepine) तथा एन्टी साइकोटिक औषधिहरु (Antipsychotic drugs) पर्दछन्। यस रोगलाई नियन्त्रणमा नलिए बारम्बार लक्षणहरु देखा परिरहने हुन्छ। विशेषगरी मस्तिष्कका रासायनिक पदार्थहरुमा दीर्घकालीन असर हुन पुग्छ। बिडिएनएफ  जस्ता मस्तिष्क तन्तुहरुको विकासमा अत्यावश्यक रसायनहरुको कमीले स्मरणशक्ति सम्बन्धी विभिन्न समस्या आउन सक्छन्।

औषधिको सही मात्रमा सेवन र विशेषगरी लिथियम (Lithium), भ्यालप्राेएट (Valproate) को  लागि  नियमित रगत जाँच (serum level) गराउनु र नकारात्मक असरहरु बारेमा आफ्नो  मानसिक रोग विशेषज्ञलाई जानकारी गराउनु जरुरी हुन्छ। 

ध्यान दिनु पर्ने कुरा के छ भने, यी औषधि जथाभावी आफैले चलाउने वा छोड्ने गर्नु हुँदैन। बाइपोलर डिप्रेसनको हकमा जान्नुपर्ने महत्वपूर्ण कुरा यसको उपचारका लागि बिना कुनै मूड स्टाबिलाइजर मात्रै एन्टिडिप्रेसन्ट (Antidepressant monotherapy) प्रयोग गर्नु हुँदैन। यसले म्यानियाको लक्षण निम्त्याउन सक्छ।

बाइपोलर डिसर्डरको मनोसामाजिक उपचार सम्भव छ?
बाइपोलर डिसर्डरको उपचारका लागि विभिन्न मनोवैज्ञानिक पद्धतिहरुको विकास, अध्ययन र प्रयोग भएको छ। 
जस्तै कग्नेटिभ बिह्याभिअरल थेरापी (Cognitive Behavioural Therapy), साेसियलल रिदम थेरापी (Social Rhythm Therapy), इन्टरपर्सनल थेरापी (Interpersonal Therapy) इत्यादि।

तर यी सबै पद्धतिको मुख्य अंग र उद्देश्य बाइपोलर रोगको बारेमा उचित जानकारी अर्थात् मनोशिक्षा नै हो। यसबाहेक नियमित निद्रा र खानपिन, व्यायाम, दैनिक जीवनशैली, अन्तरव्यक्तिगत स्वास्थ्य र  सामाजिक सम्बन्धको अभ्यास, तनाव व्यवस्थापन जस्ता जीवनशैलीमा सकारात्मक परिवर्तन गर्न सके रोग नियन्त्रणमा फाइदा पुग्दछ। नियमित र उचित औषधी सेवनले मात्र दीर्घकालीन रुपमा रोग मुक्त रहन सकिन्छ। 

महत्वपूर्ण पक्ष भनेको नशा सेवनबाट टाढा रहनु हो। मदिरा, गाँजा जस्ता नशाजन्य पदार्थको प्रयोगले रोगका लक्षणहरुलाई बढाउँछ र लिइरहेको औषधिलाई समेत प्रभावहीन बनाउन सक्छ। त्यसैले बाइपोलर डिसर्डरबाट पीडितहरु नशामुक्त रहनु जरुरी हुन्छ।

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत




पढ्नै पर्ने