काठमाडौं- सिंहदरबार परिसरका कर्मचारीलाई लक्षित गर्दै खोलिएको हेल्थ डेस्कले बिहिबारबाट सुगरको जाँच सेवा पनि सुरु गरेको छ। सुरुकै दिन हिजो ७ जनाको रगत परीक्षण गरिएको थियो। परीक्षणमा सबैको सुगर सामान्य आएको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी दीपक मुडभरीले जानकारी दिए।
सुगर जाँचका लागि प्रधानमन्त्री कार्यालयले उपकरण उपलब्ध गराएको हो। औषधि र अन्य व्यवस्था भने स्वास्थ्य मन्त्रालय र वीर अस्पतालले गरेको छ।
हेल्थ डेस्क सञ्चालनमा आएसँगै सेवा लिन आउनेको संख्या पनि बढीरहेको छ। गत फागुन १५ गते स्थापना भएको उक्त डेस्कमा हालसम्म ७ सय २० जनाले सेवा लिइसकेको मुडभरीले बताए। उनका अनुसार सेवा लिन आउनेमध्ये ६५ प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको मुडभरीले बताए।
डेस्कामा आएका बिरामीमध्ये हालसम्म १७ जनालाई वीर र शिभिल अस्पतालमा रेफर गरिएको छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणमा रहेको हेल्थ डेस्कमा हाल तीनजनाको टोली छ। स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मुख्य सचिव लोकदर्शन रेग्मीले डेस्कको औपचारिक उद्घाटन गरेका थिए।
सिंहदरबारभित्रका कर्मचारीहरु उपचारका लागि बाहिर निस्कने र कार्यालय नफर्कने क्रम बढेपछि सरकारले भित्र नै डेस्कको स्थापना गरेको हो। डेस्कले रेफर गरेपछि मात्र कर्मचारी थप उपचारका लागि बाहिरका अस्पताल जानुपर्ने हुन्छ।
हेल्थ डेस्कमा सिंहदरबार परिषरमा रहेका सबै कर्मचारीहरुले निशुल्क स्वास्थ्य परीक्षण र औषधि लिन पाउनेछन्।