काठमाडौं– ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा नगदरहित बीमा कार्यक्रम सुरु भएको छ। अस्पतालले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा उक्त कार्यक्रमको सञ्चालनमा ल्याएको हो।
‘स्वास्थ्य अब नेपालीहरुको पहुँचमा’ भन्ने नारासहित अस्पताल र प्रिमियर इन्स्योरेन्सबीच सम्झौता भएको छ। अस्पतालमा मंगलबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले नगदरहित १० लाखसम्मको स्वास्थ्य बीमाको सम्झौतापत्रमा हस्तक्षर गरेका हुन्।
बीमा गरेर आफ्नो स्वास्थ्यका लागि एकदमै फाइदा हुने, सेवा सबैको पहुँचमा हुने र आर्थिक भार पनि बिरामीलाई नपर्ने अस्पतालका अध्यक्ष डा उपेन्द्र महतोले बताए।
‘बिरामी पर्दा एकैपटक ठूलो रकम निकाल्न समस्या पर्छ,’ महतोले भने, ‘तर, समयमा नै बीमा भयो भने यसले तपाईंको उपचारमा ठूलो मद्दत गर्छ।’ उनले सबैलाई वर्षमा एक पटक नियमित स्वास्थ्य जाँच गर्न पनि आग्रह गरे।
सामान्यतया स्वास्थ्य बीमामा बिरामीले अस्पतालमा रकम भुक्तानी गरिसकेपछि मात्र बीमा दाबीका लागि बीमा कम्पनीहरुमा पठाउने र बीमा कम्पनीहरुले काँटछाँट गरी लागेको भन्दा कम रकम भुक्तानी गर्ने परिपाटी रहेकोमा नेपाल मेडिसिटीमा भने बिरामीले खरिद गरेको पोलिसी अनुसार नगद भुक्तानी गर्नुनपर्ने गरी सेवा प्रदान गर्नेगरी कार्यक्रम सुरुवात गरिएको अध्यक्ष महतोले जानकारी दिए।
प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेशलाल श्रेष्ठले सामाजिक अभियानका रुपमा काम गर्न मेडिसिटीसँग सहकार्य गरेको बताए।
के हो नगतरहित स्वास्थ्य बीमा?
नगदरहित स्वास्थ्य बीमा भनेको बीमा गरेका व्यक्ति बिरामी परेर उपचारका लागि अस्पतालमा पुग्दा कुनै पनि शुल्क तिर्नुनपर्ने गरी मिलाइएको व्यवस्था हो। यसमा बीमा गरेको व्यक्तिको निश्चित बीमा नम्बर हुन्छ। उक्त नम्बरका आधारमा अस्पतालले बिरामीको निःशुल्क उपचार गर्छ। अस्पतालले उक्त नम्बरका आधारमा बीमा कम्पनीसँग उपचारको शुल्क लिन्छ। यसका लागि व्यक्तिले बीमा कम्पनीको नियम अनुसार निश्चित रकम तिरेर बीमा गरेको हुनुपर्छ।
मेडिसिटीसँग भएको यो सम्झौता अनुसार एक जना व्यक्तिले १२ सय ५० रुपैयाँ प्रिमियम तिरेमा ५० हजारसम्म र २५ हजार रुपैयाँ तिरेमा १० लाख रुपैयाँसम्मको उपचार पाउनेछन्। परिवारको नै बीमा गरेमा १८ सय ७५ रुपैयाँमा ५० हजारसम्म र ३७ हजार ५ सय रुपैयाँमा १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइनेछ।