नेपाल मेडिकल काउन्सिलले सार्वजनिक सूचना जारी गरी नबुझिने प्रेस्कृप्सन लेखेमा कारबाही हुने जनाएको छ । प्रेस्कृप्सन लेख्न अधिकारप्राप्त व्यक्तिलाई औषधिको नाम, औषधिको मात्रा र खानुपर्ने समय अवधि समेत स्पष्ट रुपमा लेख्न निर्देशन दिएको छ । अबदेखि प्रेस्कृप्सन लेख्ने व्यक्तिले हस्ताक्षर गरेर मात्रै पुग्ने छैन । आफ्नो नामथर र सम्बन्धित काउन्सिलमा दर्ता भएको नम्बर समेत खुलाउनुपर्नेछ।
यसैगरी आफ्नो विधा भन्दा फरक रोगका लागि औषधिको प्रेस्कृप्सन लेख्नुलाई पनि गैरकानूनी मानिएको छ।
नेपाल मेडिकल काउन्सिल, औषधि व्यवस्था विभाग, नेपाल 4 काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पदाधिकारीहरुबिच बसेको बैठकले यस्तो निर्णय गरेको हो।
औषधि विक्री गर्ने पनि मान्यता प्राप्त हुनुपर्ने स्पष्ट पार्दै माथि उल्लेखित नियम पालना नगरेको अवस्थामा औषधि नबेच्न भनिएको छ।
काउन्सिलका अनुसार स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले बिरामीको अभिलेख कम्तिमा ५ वर्षसम्म राख्नुपर्नेछ।
यसैगरी विभिन्न अस्पतालहरुले चर्चित डाक्टरको नाममा अस्पतालको प्रचार गरिरहेका छन् । तर, उक्त चिकित्सक अस्पतालमा नहुने देखिएको छ । अस्पतालमा सेवारत नरहेको डाक्टरका नाममा प्रचार सामग्री तयार भएकाले त्यसलाई समेत आचारसंहिता विपरितको कार्य भन्दै रोक्ने भनिएको छ।