डक्टर्स आर्टिकल

बेवास्ता नगरौं जलबिन्दुका लक्षणलाई

 डा इन्दिरा पौडेल, जलबिन्दु विशेषज्ञ

काठमाडौं-

कहिलेकाहीँ प्रकाशमा हेर्दा इन्द्रेणीजस्तो देखिने, टाउको दुख्ने, वाकवाक लाग्ने, धमिलो देखिनेजस्ता समस्या देखिन सक्छन् । यस्ता लक्षण देखिए निको भइहाल्छ नि भनेर बेवास्ता गर्नुु हुँदैन । आँखामा लाग्ने रोग जलविन्दुका कारण यस्तो भएको हुन सक्छ । 

के हो जलबिन्दु ?

मानिसको स्वस्थ आँखामा एक प्रकारको तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न हुन्छ । यदि, यसको उत्पादन या प्रवाहमा अवरोध आयो भने आँखाको गेडीभित्र थुनिन्छ र आँखामा दबाब बढ्न थाल्छ । यो दबाबले आँखाले मस्तिष्कमा संकेत पठाउने नसालाई नष्ट गर्छ । यो नसा संवेदनशील भएकाले अलिकति दबाब पर्दा पनि यसले काम गर्न छोड्छ । जसले गर्दा दृष्टि कमजोर हुन्छ । समयमै उपचार भएन भने सधैंका लागि दृष्टि गुम्न पनि सक्छ । 

एकपटक दृष्टि गुमिसकेपछि फर्काउन गाह्रो हुन्छ । यो रोग सामान्यतः ४० वर्षभन्दा बढी उमेरका व्यक्तिमा लाग्छ । तथ्यांक अनुसार यो रोग १ सय जनामा २ जनालाई लाग्छ । 

जलबिन्दु हुने कारण 
–    वंशाणुगत 
–    उच्च माइनस तथा प्लस पावरको चश्माको प्रयोग 
–    आँखाको चोटपटक
–    आँखाको औषधि आफूखुशी प्रयोग 

कुनै मानिसमा भने लक्षणबिनै यो समस्या देखिन्छ । केहीमा भने एक्कासी आँखाको प्रेसर बढ्दा आँखा दुख्ने, टाउको दुख्ने, आँखा रातो हुने, आँखा देख्न नसक्नेजस्ता लक्षण देखिन्छन् । कुनै व्यक्तिमा प्रेसर बढे पनि सुरुमा थाहा हुँदैन । तर, अत्यधिक प्रेसर बढेपछि टाउको दुख्ने, धमिलो देखिने, प्रकाशमा हेर्दा इन्द्रेणीजस्तो देखिने हुन्छ । 

रोग पहिचान गर्न गाह्रो हुने भएकाले धेरै मानिस दृष्टि गुमिसकेपछि मात्र अस्पताल आउने गर्छन् । 

आँखाको प्रेसर १४ देखि २० सम्मलाई नर्मल मानिन्छ । तर, यत्तिकैमा ढुक्क भने हुन सकिँदैन । आँखाको प्रेसर नर्मल देखिएका व्यक्तिमा पनि जलबिन्दु रोग लाग्न सक्छ । 

जलबिन्दु २ प्रकारका हुन्छन्ः 
१. क्लोज एंगल (बन्द कोण)
२. ओपन एंगल (खुला कोण)

आँखाको चाप बढाउने अन्य कारण पनि हुन्छन् । जस्तै, मधुमेह, थाइराइड ग्रन्थीको अल्पविकास, आँखामा चोटपटक, आँखाको कुनै शल्यक्रिया आदि । वंशाणुगत कारणले कुनै बच्चा जन्मँदा नै जलबिन्दु भएका हुन्छन् । यस्तो अवस्थामा आँखाको पानी जम्ने बाटो पूर्ण रुपमा विकास नभएको हुन्छ । 

क्लोज एंगल जलबिन्दुलाई उच्च दूरदृष्टि भएका मानिसलाई हुन्छ । खासगरी पुरुषभन्दा महिलालाई बढी यो रोग लाग्ने जोखिम हुन्छ ।

ओपन एंगल जलबिन्दुमा आँखाको चाप बिस्तारै बढिरहेको छ भने स्नायुहरु पूर्णरुपमा क्षति हुँदासम्म कुनै लक्षण देखिँदैन । यस्तो बिरामीले केही अँध्यारोमा हेर्दा भने आफ्नो दृष्टि क्षय भएको थाहा पाउँछन् र चम्किलो बत्तीमा आँखा बढी संवेदनशील हुन्छन् ।  

जन्मजात जलविन्दुका लक्षण 

यदि, बच्चाको आँखाको आकार सामान्यभन्दा बढ्दै आइरहेको जस्तो लागे, धमिलो हुने, आँशु बगिरहने, उज्यालोमा खेल्न नसक्नेजस्ता लक्षण देखिए बाबुआमाले तत्काल डाक्टरकहाँ पुर्‍याउनुपर्छ । 

कस्ता मानिसलाई जलबिन्दु हुने खतरा हुन्छ ? 
–    ४० वर्षभन्दा बढी उमेर भएमा र नियमित रुपमा आँखाको परीक्षण नगराएको भएमा,
–    परिवारमा कसैलाई जलबिन्दु भएमा,
–    मधुमेहको समस्या भए या उच्च अदूरदृष्टि भएमा,
–    लामो समयदेखि स्टेरोइड समूहका औषधि प्रयोग गरिरहेमा, आदि ।

उपचार
आँखाको पानीको बहावलाई बढाउने अथवा घटाउने खालका उपचार गर्न सकिन्छ । तर, उपचारहरुले गुमिसकेको दृष्टि भने फर्काउन सक्दैन । पहिलो चरणको उपचार भनेको ‘बेटा ब्लकर्स’ थोपा औषधिको प्रयोग हो, जसले एक्युसको उत्पादन मात्रालाई घटाउँछ । अर्को  विकल्प प्रोस्टाग्लान्डिन, एनालोगोस, पाइलोकार्पिनजस्ता आँखामा लगाउने थोपा औषधि हुन्, जसले आँखाको पानीलाई बढी मात्रामा बग्न मद्दत पुर्‍याउँछन् । यदि, कुनै पनि थोपा औषधिले पानी बग्ने मात्रालाई राम्ररी घटाउन या बढाउन सकेन भने शल्यक्रिया नै आवश्यक पर्छ । 

विकीरणबाट उपचार 
यस विधिअन्तर्गत आँखाको नानी र आइरिसको संयोगस्थलमा विकीरणले मसिना प्वालहरु बनाइन्छ । यसो गर्नुको उद्देश्य एक्युसको बहावलाई बढाउन सकियोस् भन्ने हो । ओपन एंगल जलबिन्दुमा विकीरण उपचार गरिन्छ । क्लोज एंगल जलबिन्दुमा भने ‘पेरिफेरल इरिडेक्टोमी’ गरिन्छ । त्यसै भागबाट एक्युसको बहाव पर्याप्त हुन्छ । 

शल्य उपचार 
शल्य उपचार विधिलाई ट्रावेक्युलेक्टोमी भनिन्छ । यसअनुसार शल्यक्रिया गरी पानी बग्ने कृत्रिम बाटो बनाइन्छ ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने