डक्टर्स आर्टिकल

कसरी गर्ने ‘इमर्जेन्सी म्यानेजमेन्ट’ ?

 डा. रमेश महर्जन, इमर्जेन्सी फिजिसियन, टिचिङ अस्पताल

-

मानिसको स्वास्थ्यमा जुनसुकै बेला आपतकालिन अवस्था (इमर्जेन्सी) आउन सक्छ । बाटोमा हिँड्दाहिड्दै लडेर अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । घरमा खाना पकाउँदा–पकाउँदैं आगोले जलेर अस्पताल लैजानुपर्ने अवस्था आउन सक्छ  । सवारीसाधन दुर्घटनामा परेर आकस्मिक रुपमा अस्पताल लैजानुपर्ने हुन सक्छ । यस्तो अवस्था विभिन्न कारणले आउँछन् । यसका साथै छाती तथा पेट दुख्ने, टाउकोदेखि खुट्टासम्म दुख्ने, बेहोस हुने, काम्ने, ज्वरो आउने, बेहोस भएर लड्ने, हृदयाघात हुनेजस्ता समस्यामा आकस्मिक रुपमा अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । 

किन चाहिन्छ इमर्जेन्सी सेवा ? 

कुनै पनि रोगको सही तरिकाले रोकथाम गर्न इमर्जेन्सी सेवा चाहिन्छ । यस्तोमा रोग पत्ता लगाएर सही उपचार दिइन्छ । प्रायशः हामीहरु बिरामी पर्‍यौं भने भोलि जाउँला, पहिले औषधि पसलबाट किनेको औषधि खाऊ न भन्छौं । परिणाम, रोग बढ्दै जान्छ  र आपत्कालिन अवस्थामा अस्पताल जानुपर्ने अवस्था आउन सक्छ । 

बिरामीहरुमा आफूलाई लागेको रोगको लक्षण र त्यसबारेको ज्ञानमा कमी छ । जस्तै पेट दुखेको छ भने मुटु दुख्यो भन्छन् । त्यसपछि मुटु अस्पताल जाँदा समय र पैसा दुवै जान्छ त्यसै पनि  बिरामीहरु सधै अन्तिम समयमा आउने गर्छन् । यो अवस्था आउन नदिन रोगसम्बन्धी सचेतना नै जरुरी हुन्छ । कुनै दुर्घटना पर्‍यो भने टिचिङ अस्पताल दौडाउन हतार हुन्छ मानिसलाई ।  नजिक भएको अस्पताल कसैले पनि सम्झदैन । प्रहरीले पनि नजिकको अस्पताल सम्झदैनन् । त्यसैले प्रहरीलाई पनि ‘फस्ट  एड’को प्रयोगबारे तालिम दिनुपर्छ । त्यसैले त यस्तो केसमा कहिलेकाहीँ बिरामी ल्याउँदाल्याउदै बाटोमा नै मृत्युका घटना हुन्छन् । बिरामी बचाउन  ठूला डाक्टर र ठूला अस्पताल नै चाहिन्छ भन्ने छैन । घटनास्थलमा प्राथमिक उपचार दिएर पनि बचाउन सकिन्छ । घाउमा ब्यान्डेज गर्न सकिन्छ, हातखुट्टा भाचिएको छ भने राम्रोसँग राखेर ल्याउन सकिन्छ । 

एम्बुलेन्समा उपचार सुविधा 

एम्बुलेन्स भनेको गुड्ने सानो ‘इमर्जेन्सी रुम’ हो, जहाँ बिरामीलाई उपचार गर्दै अस्पतालमा पु¥याउने भन्ने बुझिन्छ  । तर नेपालमा एम्बुलेन्स भनेको साइरन बजाउँदैं दौडने मात्र भन्ने बुझिन्छ, न त सहयोगी हुन्छन् न त आपतकालिन प्राथमिक उपचार नै । 

इमर्जेन्सी म्यानेजमेन्ट गर्न के गर्नुपर्छ ? 

इमर्जेन्सी हेल्थ केयर सिस्टममा प्रि–हस्पिटल र इन–हस्पिटल गरेर दुइटा सेवा हुन्छन् । यो भनेको एउटा अस्पताल ल्याउनुभन्दा पहिले बिरामीलाई दिने सेवा र अर्को अस्पतालमा आइसकेपछि दिइने सेवा । जुनसुकै कारणले इमर्जेन्सी बिरामी भएपनि सुरुमै गर्ने भनेको प्राथमिक उपचार नै हो । यदि यो नै भएन भने बिरामी बचाउन गाह्रो हुन्छ । तर हामीले बिरामीको ज्यान बचाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने नै बुझेका छैनौँ । सुरुमा नजिकको अस्पतालमा लैजाने र त्यहाँ उपचार हुन सकेन भने अर्को अस्पताल लैजानुपर्छ भन्ने चेतना नै छैन हामी नेपालीमा । 
प्राथमिक उपचारका बारेमा विद्यालय तहदेखि नै शिक्षा दिनुपर्छ । सामुदायिक शिक्षकरुलाई तालिम दिइनुपर्छ । अहिले विद्यालयमा स्वास्थ्य शिक्षा पढाइ हुन्छ । तर विद्यार्थीहरुलाई सानातिना कुराको पनि ज्ञान छैन । 

अस्पतालमा किन हुन्छ तनाव ?

पछिल्ला समय अस्पतालमा बिरामी मृत्युको विषयलाई लिएर अस्पताल व्यवस्थापन र आफन्तबीच तनाव सिर्जना भएका घटना बारम्बार दोहोरिइरहेका छन् । यस्तोमा दोष डाक्टरको पनि हुँदैंन, अस्पतालको पनि हुँदैंन र बिरामीका आफन्तको पनि हुँदैंन । हामी नेपालीहरुमा ज्ञान सीपको कमीले गर्दा यस्तो भैराखेको छ । घटना भएपछि बिरामी आफैको पनि जिम्मेवारी हुन्छ । 

बुझाउनुपर्ने कुरा के हो भने बिरामीलाई  घटनास्थलबाट बचाउदैँ अस्पताल पु¥याइन्छ भने मात्र ठूलो अस्पतालका डाक्टरको काम छ । अन्तिम अवस्थामा ल्याइन्छ भने बिरामी बचाउन गाह्रो पर्छ। सुरुमा प्राथमिक उपचार दिनुपर्छ । हेल्थ पोस्टले पनि उपचारको दायित्व पूरा गर्नुपर्छ । एम्बुलेन्समा कसरी राखेर अस्पताल पु¥याउने हो भन्ने कुरा एम्बुलेन्सकर्मीलाई पनि थाहा हुनुपर्छ । बीच बाटैमा अस्पताल छ भने त्यहाँ पनि उपचार गर्नुपर्छ । त्यहाँ पनि सम्पूर्ण उपचार सुविधा छैन भने कुन तहको डाक्टर चाहिन्छ, त्यसका लागि अर्को अस्पतालमा रिफर गर्न सकिन्छ । अस्पतालले रिफर गर्दा यस्तो बिरामी छ पठाउँदै छु भनेर सूचना दियो भने अर्को अस्पतालले त्यस्तै प्रकारको तयारी गर्न पाउँछ र बिरामीले छिटो उपचार पाउछन् । विदेशमा यस्तो रिफर प्रणाली छ । त्यसैले बिरामीलाई स्वागत गर्न सबै तयारीका साथ बसेका हुन्छन् डाक्टर र अस्पतालहरु । 

तर नेपालमा यस्तो खालको पूर्वतयारी हुँदैंन । एम्बुलेन्स सिधै शिक्षण अस्पताल आइपुग्छ । बिरामी आइपुगेपछि तयारी गर्दा समय लाग्छ  । ६ मिनेटमा उपचार गरिसक्नुपर्ने बिरामीलाई ६० मिनेट लाग्छ । हामीकहाँ यस्तो इमर्जेन्सी काम गर्ने डाक्टरको कमी छ । नेपाली फिजिसियनहरु धेरै छन् । तर नेपालमा छैनन् सबै विदेशमा छन् । अब सरकारले सोच्नु पर्ने बेला भएको छ आफ्ना देशका फिजिसियनहरुलाई कसरी नेपाल ल्याएर काममा लगाउने भनेर । 

प्राथमिक उपचार (फस्ट एड) र सिपिआर तालिम सबै नागरिकलाई दिइनुपर्छ । अरु देशमा जस्तै नेपालमा पनि यसको शिक्षा अनिवार्य हुनुपर्छ । इमर्जेन्सी सेवाका बारेमा राज्यले एउटा नियम बनाउनु पर्छ र प्रणाली बनाउनु आवश्यक छ । र, इमर्जेन्सी सेवालाई पहिलो प्राथमिकतामा राखिनुपर्छ ।
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने