रत्ननगर- चितवनको भरतपुर महानगरपालिका र विभिन्न नगरपालिकाको बजार क्षेत्रका सयौं घर डेंगु पोजेटिभ रहेको पाइएको छ।
डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट पार्ने अभियानका क्रममा डेंगु पोजेटिभ पाइएको हो। गत फागुन २८ देखि चैत ३ गतेसम्म भरतपुर महानगरपालिका, कालिका र राप्ती नगरपालिकामा सो अभियान चलाइएको थियो।
सो अभियान (सर्वेक्षण)को प्रतिवेदनबारे जानकारी दिँदै जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले खोजी अभियान चलाइएका क्षेत्रका घर हेर्दा ५ दशमलब २८ प्रतिशत घर डेंगु पोजेटिभ रहेको पाइएको बताए। कुनै पनि घरमा डेंगु सार्ने लामखुट्टेका लार्भा र प्यूपा भेटिए उक्त घर डेंगु पोजेटिभ सूचीमा राखिन्छ।
उनका अनुसार राप्ती, कालिका नगरपालिका र भरतपुर महानगरको बजार क्षेत्रका सात हजार ३ सय ६ वटा घरमा स्वयंसेविका खटाएर डेंगु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाइएको थियो। उक्त अभियानका क्रममा ३ सय ८६ घर डेंगु पोजेटिभ देखिएको केसीले बताए।
भरतपुर महानगरपालिकाको चार हजार ६ सय ५ घरमा खोजी अभियान चलाउँदा १४४ घर पोजेटिभ देखिएको केसीले बताए। स्थानीयले घर वरपर सरसफाइमा ध्यान दिने कुनै पनि भाँडाकुँडामा पानी जम्न नदिने र जमेको पानी नष्ट गर्दा रोगबाट बच्न सकिन्छ। पछिल्लो तथ्यांक अनुसार चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म एक हजार १ सय ६३ जनामा गरिएको परीक्षणमा ५८ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ। यस बीचमा मकवानपुरका एक व्यक्तिको डेंगुको कारण ज्यान लिएको थियो।
मुख्यगरी एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्ने चिकित्सक डा भोजराज अधिकारीले बताए। (रासस)