डक्टर्स आर्टिकल

पेट दुखाइ पत्ता लगाउन इन्डोस्कोपिक अल्ट्रासाउन्ड र यसका १० फाइदा

 डा सन्दीपराज कुँवर

धेरैजसो बिरामी पेटको दुखाइका कारण अस्पताल आउने गर्छन् । प्रायः ग्यास्ट्रिकको समस्या भयो भन्दै आउँछन् । तर, लामो समयसम्म दुखाइ कम नहुने, ग्यस्ट्रिकको औषधिले दुखाइ कम भएजस्तो हुने तर दुखाइ निको नहुने समस्या लिएर बिरामी अस्पतालको ढोका सम्म आइपुग्छन् । पेटको दुखाइ भइरहनु भनेको ‘अबसेक्युर एब्डोमिनल पेन’ हो ।

यसमा बिरामीलाई औषधि दिँदा केही हदसम्म निको भएजस्तो अनुभव हुन्छ तर दुखाइ निरन्तर रहन्छ । यस्तो समस्याले बिरामीलाई मात्र होइन डाक्टरलाई पनि गाह्रो पार्छ । रोग पत्ता लगाउन मुस्किल हुने अवस्था आउन सक्छ । 

हामीले इन्डोस्कोपिक अल्ट्रासाउन्ड (इयुएस) मेसिनबाट बिरामीको परीक्षण गर्दा यो समस्या के हो भन्ने पत्ता लगाएका छौं । यस्तो समस्या लिएर आउने बिरामीको रोग पत्ता लगाउन यो मेसिन उपयोगी भएको छ । 

निरन्तर पेटको दुखाइ भएका बिरामीलाई यो मेसिनबाट परीक्षण गरेपछि रोग पत्ता लागेको छ । यस्ता समस्या भएका ५० प्रतिशत बिरामीलाई ‘क्रोनिक प्याङ्क्रियाटाइटिस’ भएको पाइयो । माथिल्लो भागको पेट दुखाइमा ग्यास्ट्रिकको जस्तै लक्षण देखिए पनि औषधिले निको नहुने यो समस्या भएका बिरामीका लागि इन्डोस्कोपी मेसिन एकदमै उपयोगी साबित भएको छ । 

इन्डोस्कोपिक अल्ट्रासाउन्ड भनेको पनि इन्डोस्कोपी नै हो । यो मेसिनको सहायताले पाइप हालेर पेटभित्र हेरिन्छ जहाँ इन्डोस्कोपीसँगै अल्ट्रासाउन्ड पनि हुन्छ । त्यसैले छुट्टाछुट्टै गर्नु पर्ने झन्झट रहँदैन । मेसिनको सहायताले पेटभित्रबाट अल्ट्रासाउन्ड गरिन्छ । पेटभित्रबाट अल्ट्रासाउन्ड गर्दा प्याङ्क्रियाजको समस्या के छ छर्लङ्ग हुन्छ । प्याङ्क्रियाजको समस्या जे कारणले भएको हो, त्यो हेर्न मद्दत पुग्छ । 

प्याङ्क्रियाज बिग्रिएको छ कि छैन, नलीहरुको अवस्था कस्तो छ भन्ने कुरा मेसिनको सहायताले मूल्यकंन गर्न सकिन्छ र रोगहरु पत्ता लगाउन सकिन्छ । यो मेसिनकै मद्दतले  सुइमार्फत प्याङ्क्रियाज नमूना निकालेर बायप्सी जाँच गर्न सकिन्छ । 

प्याङ्क्रियाटाइटिसको समस्या हुने बिरामीका लागि इन्डोस्कोपिक अल्ट्रासाउन्डले सिटी स्क्यान र एमआरआईभन्दा माथिलो स्तरको काम गर्छ । 

अस्पतालहरुमा इन्डोस्कोपिक अल्ट्रासाउन्डको मेसिन भएर मात्र हुँदैन, यसको उच्चतम प्रयोग गर्ने ज्ञान पनि हुनु उत्तिकै जरुरी छ । 

इन्डोस्कोपिक अल्ट्रासाउन्डका फाइदा 

–    रोग पत्ता लगाउन धेरैतिर धाउनुपर्दैन । 
–    तुरुन्त बायप्सी लिनका लागि सजिलो माध्यम । 
–    प्याङ्क्रियाटाइटिस समस्यामा मात्र सीमित नभएर यसलाई धेरै रोगका लागि प्रयोग गर्न सकिन्छ । 
–    यो मेसिन खासगरी प्याङ्क्रियाजकै रोगका लागि नै बनेको हो । 
–    पेटको खाने नलीको वरिपरि गाँठागुठी के प्रकारमा छन्, त्यसलाई यो मेसिनको माध्यमबाट बायप्सी गर्छ सकिन्छ । 
–    मेसिनले कस्तो खालको क्यान्सर लागेको छ भनेर भनिदिन्छ, अनि काहाँसम्म फैलिएको छ भन्ने कुरा जानकारी दिन्छ । 
–    पेटभित्रका धेरै रोग पत्ता लगाउन मद्दत गर्छ । कलेजोमा समस्या भएका मान्छेको नसा फुलेको छ कि छैना भनेर पत्ता लगाउन सकिन्छ । 
–    दुखाइ कम गर्न सहयोग गर्छ । प्याङ्क्रियाटिक क्यान्सर भएका मान्छेको उमेर पनि छोटो हुन्छ र उनीलाई धेरै गाह्रो हुने भएकाले यो मेसिनको माध्यमबाट सुइ (थेरापिटिकल इन्जेक्सन) दिएर दुखाइ कम गर्न सकिन्छ । 
–    प्याङ्क्रियाटिक सिरोसिस (प्याङ्क्रियाजमा भएका पानीका थैलाहरु ठूलो भएर दुःख दिनु) को उपचार पहिला शल्यक्रियाबाट मात्र हुन्थ्यो । अब यो मेसिनको माध्यमले प्याङ्क्रियाटिक सिरोसिसबाट पानी निकाल्न सहज भएको छ । 
–    पित्तथैलीको पत्थरी पत्ता लगाउन मद्दत गर्छ । पित्तथैलीको पत्थरी कहिलेकाहीँ पित्तथैलीको नलीमा गएर बस्छ, यो समस्या पत्ता लगाउन अल्ट्रासाउन्डले मात्र कहिलेकाहीँ नदेखिन सक्छ। तर इन्डोस्कोपिक अल्ट्रासाउन्डबाट यो समस्या पत्ता लाग्छ ।

(डा सन्दीपराज कुँवर नर्भिक अस्पतालमा पेट तथा कलेजो रोग विशेषज्ञ रुपमा कार्यरत छन्)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने