प्रा डा गोविन्द केसीले चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई स्वायत्त बनाउने प्रक्रियामा लैजान माग गरेका छन्।
त्रिविको आगामी सिनेट बैठक यही बैसाख २३ गतेका लागि तय गरिएको सन्दर्भमा डा केसीले सोही दिन आइओएमलाई स्वायत्त बनाउने प्रक्रियामा अघि बढ्न माग गरेका हुन्।
त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गर्दै डा केसीले यस्तो माग गरेका हुन्। केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै त्रिविको कुलपतिको हैसियतले आइओएमलाई स्वायत्त बनाउने सम्झौता गरेको समेत उनले स्मरण गराएका छन्।
पछिल्ला वर्षमा त्रिविका पदाधिकारीहरुले स्वायत्त बनाउनुको साटो आइओएमसँग भएका अधिकारहरु समेत खोसेको आरोप डा केसीले लगाएका छन्।
मेडिकल कलेजहरुलाई सम्बन्धन दिने, शुल्क लिने लगायत आइओएमका अधिकार अघिल्लो वर्ष त्रिविले खोसेको उनको भनाइ छ। त्रिवि पदाधिकारीहरुले शुल्क र सम्बन्धनमा आर्थिक चलखेल गर्न त्यसो गरेको डा केसीको आरोप छ।
यस्तै, डा केसीले चारबुँदे माग अघि सार्दै साथै चिकित्सा शिक्षा ऐन प्रथम अध्यादेश अनुरुप हुनेगरी यथाशीघ्र पारित गर्न ध्यानाकर्षण गरेका छन्।
डा केसीले गौरीबहादुर कार्की नेतृत्वको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग छानबिन आयोगले दोषी ठहर्याएका त्रिविका पदाधिकारीसहित सबै पदाधिकारीलाई आयोगको सिफारिस अनुसार कारबाही गर्न पनि माग गरेका छन्।
यसका साथै, माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय सधैंका लागि फिर्ता लिनुपर्ने उनको माग छ।