विचार/ब्लग

जंगबहादुर राणाले खोलेका थिए पहिलो सरकारी स्वास्थ्य संस्था : नेपालको चिकित्सा इतिहास

 डा हेमांग दीक्षित

इतिहासकै कुरा गर्ने हो भने सातौं सताब्दीमा राजा अंशुवर्माको समयमा नेपालमा आरोग्यशालाहरु रहेको प्रमाण फेला पर्छ। त्यही समयमा ग्रिकमा पनि ‘टेम्पल अफ हिलिङ’ रहेछ। आरोग्यशाला भएपछि स्वास्थ्य कार्यकर्ता पनि रहेको अनुमान गर्न सकिन्छ। तर तिनीहरुले गर्ने अभ्यास परम्परागत थियो। 

जुन बेलामा पश्चिमी चिकित्सा आयो, त्यो बेला नेपालमा धेरैजसो फादरहरु इटलीबाट आउँथे। उनीहरु यहाँबाट चीनतिर जान्थे। किनभने त्यहाँ त्यतिबेला क्रिस्चियनहरुको बाहुल्यता थियो। उनीहरु जाडो महिनामा तराई पार गर्थे र भक्तपुर आएर बस्थे। एक–दुई महिना बसेर गर्मी लागेपछि फेरि पहाड चढेर तिब्बततिर लाग्थे। भक्तपुरमा रहेकै बेला क्रिस्चियन मिसनरीहरुले उपचार थालेका हुन्। 

पृथ्वीनारायण शाहका भाईलाई पनि उनीहरुले नै उपचार गरेका थिए भनिन्छ। तर, पृथ्वीनारायणले उपत्यका विजय गरेपछि क्रिस्चियनहरुलाई धपाइदिए। उनीहरु मकवानपुर, रक्सौल हुँदैं भारतमा गए र रक्सौलमा डंकन अस्पताल खोले। पछि त्यो ठाउँ नेपालीहरु उपचार गर्न जाने थलो पनि बन्यो। यसरी यो क्षेत्रमा पश्चिमा चिकित्सा सुरु भयो। 

नेपालको सन्दर्भको कुरा गर्दा रत्नराज वैद्यले सन् १९०२ मा भारतको कलकत्तामा गएर बंगाली भाषामा एलएमएफ कोर्स गरेको पाइन्छ। त्यसपछि देवीप्रसाद उपाध्याय र  गणेशलाल मास्केले १९१८ मा त्यही कोर्स गरे। १९२१ मा मेरो बुबा सिद्धिमणि दीक्षितले त्यही कोर्स गर्नुभयो। त्यो बेला एमबिबिएस थिएन। त्यसपछि धेरै नेपाली डाक्टरले एलएमएफ र एलएमएपी गरे। डा तुल्सी गिरि, जोगेन्द्र झाले पनि त्यही कोर्स गरे। भारत स्वतन्त्र भएपछि यो कोर्स चाहिँदैन भनेर सबैलाई अपग्रेड गरी एमबिबिएस डिग्री दिए। 

जहाँसम्म नेपालको मेडिकल शिक्षाको कुरा छ। सन् १९६३ तिर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग कुरा हुँदा मेडिकल शिक्षा चाहिन्छ भन्ने भयो। भारतबाटै मिस्टर भण्डारकर भन्ने व्यक्ति आएका थिए। उनी महाराष्ट्रका सर्जन थिए। उनले नेपालको स्वास्थ्य क्षेत्रलाई भारतले सहयोग गर्न चाहन्छ भने। यहाँबाट भारतका ८–१० वटा मेडिकल कलेजमा अध्ययन भ्रमण पनि भयो। दुई डाक्टरलाई पढ्न पठाइयो। 

त्यो समय डाक्टरलाई तालिम दिँदा सीमित संख्यामा मात्र हुने भएकाले हेल्थ असिस्टेन्ट तालिम गर्ने कि भन्ने सोच आयो। त्यो बेलासम्म डाक्टर, नर्स, अनमी, अहेब सबैको तालिम स्वास्थ्य मन्त्रालयले दिन्थ्यो। १९७२ तिर नयाँ शिक्षा लागू भयो। त्यसपछि त्रिभुवन विश्वविद्यालयको १० वटा फ्याकल्टीमध्ये एक फ्याकल्टीका रुपमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) स्थापना भयो। आइओएमले १९७८ मा पहिलो कोर्स सञ्चालन गर्‍यो। पहिलो ब्याचमा २२ जना थिए। र, आइओएमको ९ नम्बर कोठामा डा मोइन शाहले पहिलो लेक्चर दिनुभएको थियो। डा शाहपछि आइओएममा म आएँ। 

त्यसबेला आइओएममा विदेशी सहयोगको कुरा आयो। रुसले पनि सहयोगको अफर गरेको थियो र जापानले पनि। राजा वीरेन्द्र जापान गएका बेला एउटा अस्पताल जापानले उपहारस्वरुप दिने कुुरा भयो। रुसले पनि बेसिक साइन्स भवन बनाउने कुरा आयो। पछि जापानले अस्पताल पनि बनाइदिने भन्यो। 

म आइओएमको डिन रहेकै बेला निजी क्षेत्रमा मेडिकल कलेज नखोल्न निर्णय भएको थियो। पछि सरकारले भारतीय सरकारको सहयोगमा धरानमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खोल्ने निर्णय ग¥यो। तत्कालीन भारतीय प्रधानमन्त्री चन्द्रशेखरले आफ्नो सहयोगको अस्पतालमा भारतीयहरु पनि आउने बताउनुभएको थियो। 

सन् १९९४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा पोखराको मणिपाललाई स्वीकृति दिइयो। काठमाडौं विश्वविद्यालयले पनि मेडिकल कलेजलाई स्वीकृति दियो। अहिले आएर त्रिविअन्तर्गत ७ वटा र केयूअन्तर्गत ९ वटा मेडिकल कलेज छन्। त्यसपछि न्याम्स आयो। हरेक कलेजले पिजी सुरु गरेका छन्। अहिलेसम्मको विकास यही हो। 

मेरो विचारमा नेपालमा सरकारी स्वास्थ्य संस्था खोल्ने जस प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणालाई दिइनुपर्छ। उनले सन् १८५० मा बेलायत जाँदा रोयल कलेज अफ सर्जनमा गएर चिरफार गर्ने उपकरणहरु ल्याए। सुगौली सन्धिपछि ब्रिटिसहरु नेपाल आउने क्रम सुरु भयो। जंगबहादुरकै पालमा लैनचौरमा रेजिडेन्सियल अस्पताल खोलियो। सम्भवतः त्यो नै नेपालको पहिलो अस्पताल थियो। 

बेलायती दूतावासमा चाहिँ नन–रेजिडेन्सियल अस्पताल खुलेको थियो। ब्रिटिस डाक्टरहरुले दरबारका मानिसलाई हेर्थे। तर, जंगबहादुर ब्रिटिस चिकित्सकलाई भन्थे रे– तिमीहरुको सेवा राम्रो भए पनि म आयुर्वेदिक माध्यमबाट नै उपचार गर्छु।’ उनी आफैंले पनि औषधि बनाउने गरेको बताइन्छ। 

वीर शम्शेरले वीर अस्पताल खोल्नुको कारणबारे एउटा रोचक सन्दर्भ पाइन्छ। उनीभन्दा धेरै पहिले जंगबहादुरले तक्मा पाएका थिए। सत्तामा आएपछि वीर शम्शेरले पनि आफूलाई तक्मा चाहिने कुरा ब्रिटिसहरुलाई भनेछन्। ब्रिटिसहरुले जवाफ दिएछन्, ‘हामी तक्मा त्यसै दिदैनौं, तक्मा पाउन जनस्वास्थ्यका लगि केही गर्नुपर्छ।’ यही कारण उनले काठमाडौंमा वीर अस्पताल र वीरगन्जमा अस्पताल खोले। सँगै, खोकनाको कुष्ठरोग केन्द्रलाई बिस्तार गरियो। 

यस्तै, चन्द्र शम्शेर आफैं पनि दमका बिरामी थिए भने उनकी एक रानी क्षयरोगको बिरामी थिइन्। उनै रानीको नाममा चन्द्र शम्शेरले लोककुमारी अस्पताल भनेर खोलेका थिए। सन्  १९२१ मा त्यो अस्पतालमा मेरो बुबाले पनि काम गर्नुभएको थियो। उनैले क्षयरोगीलाई अलग्गै राख्न टोखामा अस्पताल राख्ने अवधारणा ल्याएका थिए। तर, चन्द्रले काम पूरा गर्न नपाएपछि जुद्ध शम्शेरले पूरा गरे। 

त्यतिबेला जुन सार्वजनिक संस्था खोलिन्थ्यो, त्यसको नाम तत्कालीन राजा र श्री ३ को नाममा राख्ने चलन थियो। वीर अस्पतालको नाम पनि सुरुमा वीर पृथ्वी थियो। पछि पृथ्वी भन्न छाडेर वीर मात्रै भन्न थालियो। राणाहरुले वीर अस्पतालको नाममा गुठी राखिदिएका थिए। पछि त्यो कता हरायो कता। 

चन्द्र शम्शेरको पालामा पनि मिलिटरी लगायतका धेरै अस्पताल खुले। ती अस्पताल उद्घाटनमा ब्रिटिसहरु पनि आएका थिए रे। अस्पताल खुलेको खुसियालीमा ३ दिनसम्म जुवा फुकेको थियो। जुद्ध शम्शेरले धरहरा अस्पताल खोलेका थिए। भीम शम्शेरले तराईतिर अस्पताल खोले। मोहन शम्सेरको पालामा पशुपतिमा रामघाट अस्पताल खुल्यो। बागबजारमा युनानी अस्पताल पनि थियो। अहिले युनानी अस्पताल पुल्चोकमा छ। आयुर्वेदिक अस्पताल पनि खुल्यो। त्यसपछि नर्सिङ शिक्षा पनि सुरु भयो। 

मेरो बुबा पद्म शम्शेरको निजी फिजिसियन हुनुहुन्थ्यो। उहाँले नै कन्भिन्स गराएपछि केही व्यक्तिलाई सरकारले पढ्न विदेश पठायो। त्यसरी पढ्न जानेमा डा रघुवर वैद्य, डा दिनेशसिंह वैद्य, डा यज्ञराज जोशी हुनुहुन्थ्यो। उहाँहरु फर्केर आएपछि वीर अस्पतालको विकास हुन थाल्यो। त्यतिबेला हरेक वर्ष ४ जना सरकारी खर्चमा पढ्न भारत जान्थे। आफ्नै खर्चमा पढ्न जाने धेरै थिएनन्। 

‘कोलम्बो प्लान’ आएपछि भारतीय सरकारले बर्सेनि ८ वटा सिटमा छात्रवृत्ति दिन थाल्यो। आइओएमले एमबिबिएस सुरु गरेपछि भारतबाट एमबिबिएस छात्रवृत्ति रोक्का भयो। त्यसको सट्टा विशेष तालिम दिन पैसा दिने कुरा भयो। शिक्षण अस्पताल खुलेपछि सुरुवाततिरका सर्जनहरु जापान गए। करिब ५ जनाका लागि जापानले पनि छात्रवृत्ति दिएको थियो। 

अहिले आएर करिब २ हजार जनाले नेपालमै मेडिकल शिक्षा लिन्छन् भने केही संख्यामा विद्यार्थी विदेश जाने गरेका छन्। नेपाली विद्यार्थीको प्रमुख गन्तव्य भारत, चीन र बंगलादेश हुने गरेको छ। 
अहिले निजी मेडिकल क्षेत्र बदनाम भएको छ। निजी क्षेत्रमा माफिया हाबी भयो भनेर सरकारले भनेको छ। सरकारले निजी–सार्वजनिक साझेदारी पनि भनेको छ। किनभने, सरकारीले मात्र मुलुकका सबै क्षेत्रमा सेवा पुर्‍याउन सक्दैन। त्यसमा निजी क्षेत्रले पनि सहयोग गर्न सक्छ। अमेरिकामा निजी स्वास्थ्य संस्थालाई सरकारले प्रोत्साहित गर्ने नीति  छ। निजी अस्पताललाई सरकारले सहयोग गर्ने गरेको छ। 

आइओएमका तत्कालीन डिन मोइन शाहको पालमा नेपालमा कस्ता रोग छन् भनेर धनकुटा, बारा, तनहुँ गरेर चार ठाउँमा अध्ययन गरियो। त्यसको नतिजाका आधारमा चिकित्सा पाठ्यक्रम बन्यो। त्यसमा तीन महिना व्यवस्थापनको विषय पनि समावेश थियो। किनभने, डाक्टरले जिल्लामा गएर अस्पताल व्यवस्थापन गर्नुपर्छ। 

आइओएमले धरानमा पनि पिजी सुरु गर्‍यो। पिजीका विद्यार्थीले क्षेत्रीय अस्पतालमा गएर सेवा गर्नुपर्छ। तर, पिजीको रेजिडेन्सी गर्दा जिल्ला अस्पतालमा पठाउने कि भन्ने पनि कुरा आएको छ। नेपालमा अहिलेसम्म समुदायलाई नै सेवा दिनुपर्छ भन्ने सोचाइ छ। जुन राम्रो हो। 

नेपालको चिकित्सा क्षेत्रको विकासलाई हेर्ने हो भने कतिपय सकारात्मक छन् भने कतिपयमा सन्तुष्ट हुने ठाउँ छैन। कतिपय जिल्लामा औषधि नै पुगेका छैनन् भने कतिपयमा स्वास्थ्यकर्मी नै नपुगेको अवस्था छ। त्यसैले नयाँ संघीय संरचना अनुसार प्रदेश तहबाट स्वास्थ्य क्षेत्रका लागि केही होला कि भन्ने आशा गर्न सकिन्छ।

(कुराकानीमा आधारित)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने