काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान मणि शाहको स्वास्थ्य स्थिति जटिल बनेको छ।
शाहको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनलाई भेन्टिलेटरमा राखिएर उपचार भइरहेको छ।
उनी विगत केही वर्षदेखि कलेजोको समस्याले ग्रस्त थिए। त्यही समस्या अहिले बल्झिएपछि उनको अवस्था जटिल बनेको हो। उनकी श्रीमती नविनाका अनुसार, शनिबार उनलाई ज्वरो आएपछि नर्भिक पुर्याइएको थियो।
यता अखिल नेपाल फुटबल संघ (एन्फा)ले शाहको उपचारका लागि सहयोग गर्ने जनाएको छ। एन्फाका महासचिव इन्द्रमान तुलाधरले शाहको उपचारका लागि सबै प्रकारका सहयोग गर्न तयार भएको नेपाल लाइभलाई बताए। यसअघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फा पदाधिकारी शाहलाई भेट्न सोमबार नर्भिक अस्पताल पुगेका थिए। शाहले सन् १९८५ को दोस्रो दक्षिण एसियाली खेलकुदमा राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका थिए।
त्यतिबेला उनको उमेर १७ वर्ष मात्र थियो। उनले सन् १९९८ मा थाइल्यान्डको बैंककमा आयोजित एसियाडमा देशको झन्डा बोक्दै इतिहास रचेका थिए। एसियाडमा राष्ट्रिय झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी हुन्।
उनको नेपाली फुटबलमा सम्झनलायक थुप्रै खेल छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको एक मात्र स्वर्ण फुटबलबाट प्राप्त भएको थियो। त्यतिबेला नेपाललाई स्वर्ण दिलाउन शाहकै भूमिका निर्णायक थियो।
भारत विरुद्ध फाइनलमा खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्रि-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए। उनको ‘ट्रेडमार्क’ बायाँ खुट्टाको फ्रि-किक गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अन्तत: नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४–३ गोलले जित्यो। पेनाल्टीमा पनि उनले महत्वपूर्ण गोल गरे।
फर्ममा रहेकै अवस्थामा उनले सन् १९९७ मा फुटबलबाट संन्यास लिए।
असीको दशक, जतिबेला अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोना चर्चामा थिए, त्यही बेला उनको जस्तै शैली भएका कारण शाहलाई 'नेपाली म्याराडोना' भन्ने गरिन्छ। म्याराडोनाको जस्तै उचाइ, लामो र कर्ली परेको कपाल, देब्रे खुट्टाले प्रहार गर्नसक्ने र १० नम्बर जर्सी पहिरिएर मैदान उत्रने शाह र म्याराडोनाका समानता हुन्।