काठमाडौं– स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको तेस्रो अधिवेशनले हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने, सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले र कोषाध्यक्षमा हाम्रो डाक्टर डटकमका उद्धवराज भेटवाललाई निर्विरोध रुपमा निर्वाचित गरेको छ।
कार्यसमितिको सदस्यहरुमा देशसञ्चार डटकमकी दीपा दाहाल, न्यूज २४ टेलिभिजनकी रिया भण्डारी, अनलाइन खवर डटकमबाट ऋचा अर्याल, रातोपाटी डटकमकी अञ्जु तामाङ र सौर्य दैनिककी यसिमा महत निर्वाचित भएका छन्।
शुभकामना दिँदै नेपाल पत्रकार महासंघ एशोसिएटका महासचिव तथा स्वास्थ्य खबरका समाचार सम्पादक डिबी खड्काले स्वास्थ्य पत्रकारको पेशागत दक्षता विकास र हकहितमा नयाँ कार्यसमिति खरो उत्रिने विश्वास व्यक्त गरे । उनले सम्पूर्ण स्वास्थ्य पत्रकारको साझा मञ्चका रुपमा विकास गर्न समेत सुझाए।
नवनिर्वाचित अध्यक्ष आचार्यले स्वास्थ्य पत्रकारिता प्रवद्र्धनार्थ गठित संस्थालाई लक्ष्य प्राप्तिमा डोर्याउने प्रतिवद्धता व्यक्त गरिन्।
निर्वाचन अधिकृतको भूमिकामा रहेका शिक्षा पत्रकार समूहका संस्थापक अध्यक्ष प्रकृति अधिकारीले स्वास्थ्य पत्रकार मञ्च देशको परिवर्तित समयलाई आत्मसाथ गर्दै अघि बढ्ने अपेक्षा व्यक्त गरे।