बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नेपालमै पहिलो पटक उच्च क्षमताको कार्डियाक सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ। गंगालालले मुटु रोगसहित धमनी लगायतका अन्य समस्याको समयमा नै पहिचान गर्न ६४० स्लाइस क्षमताको एक्विलियोन वान कार्डियाक सिटी भित्र्याएको हो।
सिटी स्क्यानका क्रममा बिरामीको भित्रि अंगको तस्बिर निकै राम्रो खिच्ने यो उपकरणबाट मुटु वा शरिरको अन्य भागमा के भएको छ भनेर सहजै पत्ता लगाउन सकिन्छ। विषेश गरी मुटु, मुटुका धमनी, मस्तिष्क, फोक्सोका धमनीका समस्या पत्ता लगाउन यसको प्रयोग गरिने गंगालालका प्राविधिक वैद्यनाथ यादवले जानकारी दिए।
‘यो मेसिनबाट स्क्यान गर्दा धेरै बेर सास रोक्न नसक्ने बिरामीको लागि पनि लाभदाहि हुने छ,’ उनले भने, ‘स्क्यान गर्दा ३ सेकेन्डमा क्लियर इमेज दिन्छ।’ उनका अनुसार यो उपकरणबाट छिटो नतिजा आउने भएकाले बिरामीले लाइनमा बस्नु पर्ने बाध्यता समेत हट्ने छ।
अत्याधुनिक प्रविधि भएका कारण आकस्मिक अवस्थामा आएका मुटु रोगीको समयमा नै समस्या पहिचान गरेर उपचार प्रक्रिया अगाडि बढाउन सकिने उनले बताए। अस्पतालले उक्त उपकरण १७ करोड ९७ लाखमा खरिद गरेको हो।