काठमाडौं- भारतको अग्रणी फर्मास्युटिकल कम्पनी साभा हेल्थ केयर लिमिटेडले श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारका लागि नयाँ ड्राई पाउडर इनहेलर (डीपीआई) नेपाली बजारमा ल्याएको छ।
नेपालको ह्युमनकाइन्ड हेल्थकेयर प्रालिसँगको समन्वयमा साभाले आफ्नो नयाँ उत्पादन 'साभाकोर्ट' (फर्मोटेरोल एन्ड बुडेसोनाइड) नेपाली बजारमा भित्र्याएको हो। साभाले अन्तर्राष्ट्रिय बजारमा ख्याति कमाइसकेको र विश्वका ४० भन्दा बढी देशमा आफ्नो उत्पादन उपलब्ध गराइसकेको छ। खासगरी दमका बिमारीको उपचारमा चाहिने अत्यावश्यक औषधि साभाकोर्ट डीपीआई निकै प्रभावकारी रहेको दाबी कम्पनीको छ। नजल स्प्रे र ड्राइ पाउडर इनहेलर सेगमेन्टमा साभा अग्रणी मानिन्छ।
ड्राई पाउडर इनहेलर श्वासप्रश्वाससम्बन्धी समस्याको उपचारमा महत्त्वपूर्ण विकल्प मानिन्छ। सुक्खा पाउडर भएको इनहेलरको प्रयोग गर्दा औषधि फोक्सोको गहिराइसम्म जान सक्ने विज्ञहरू बताउँछन्।
कार्यक्रममा साभा हेल्थ केयर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिरुद्ध राजुरकरले भने, 'साभाकोर्टले श्वासप्रश्वासको हेरचाहमा एउटा नमुना परिवर्तनको प्रतिनिधित्व गर्छ, जसले बिरामीकेन्द्रित समाधानहरूप्रतिको प्रतिबद्धतालाई जनाउँछ।'
साभाको लन्चसँगै अब यो नयाँ औषधि नेपालका फार्मेसी पसलहरूमा सहजै पाइनेछ। स्वास्थ्य सेवाको दृष्टिले आफ्नो लागि यो एक महत्त्वपूर्ण विस्तार भएको साभा हेल्थकेयरले जनाएको छ।
अमेरिकी स्वास्थ्य एवं मानव सेवा विभागका अनुसार, श्वासप्रश्वाससम्बन्धी समस्या संसारभर बढिरहेको छ। विश्वमा अहिले ५४ करोड ५ लाख मानिस यो बिमारबाट पीडित छन्। नेपालमा मात्रै हरेक वर्ष १ लाखमध्ये १ सयभन्दा बढीको मृत्यु यही रोगका कारण हुने गरेको छ।
'नेपालमा साभाकोर्टको उपलब्धताले श्वासप्रश्वाससम्बन्धी बिरामीका लागि महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने र एक बहुराष्ट्रिय कम्पनीको औषधि सुपथ मूल्यमा नेपालमा उपलब्ध हुँदा बिरामी र स्वास्थ्यकर्मीलाई लाभ पुग्नेमा हामी विश्वस्त छौँ,' ह्युमनकाइन्ड हेल्थ केयर प्रालिका म्यानेजिङ डाइरेक्टर किरण दुवाडीले भने, ‘हामी नेपालीजनको श्वासप्रश्वाससम्बन्धी स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ।’