सरकारले तीन प्रकारका गम्भीर प्रकृतीका बिरामीलाई जीविकोपार्जन भत्ता दिने निर्णय गरेपनि कार्यान्वायन रोकेकोमा बिरामीहरुले दबाबमुलक कार्यक्रम सुरु गरेका छन्। सरकारले मापदण्ड नबनेको भन्दै भत्ता वितरण गरेको छैन।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गत पुस १३ गते मन्त्रिपरिषद्ले भत्ता दिने निर्णय गरेको थियो। देउवा आफैं वीर अस्पतालमा गएर बिरामीलाई भत्ता दिएर यो कार्यक्रमको औपचारीक सुरुवात गरेका थिए।
तर, त्यसबाहेक थप बिरामीले भत्ता पाउन सकेका छैन। सरकारले यसमा चासो नदिएपछि बिरामीहरुले दबाबमुलक कार्यक्रम सुरु गरेका छन्।
इस्पाइनल कर्ड इन्जरी संघर्ष समिति नै गठन गरेर उनीहरुले दबाब दिएका छन्। बिहिबार उनीहरु स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालय पुगेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरुले आफ्नो पीडा सुनाउन खोजे पनि व्यस्तताका कारण ओलीले भेट दिएनन्।
संघर्ष समितिमा आबद्ध स्पाइनल कर्ड इन्जरीका बिरामी ऋषिराम ढकालका अनुसार बिरामीहरुले भत्ताका लागि देशभरी कागजपत्र बुझाइसकेका छन्। तर, कसैले प्राप्त गर्न गरेका छैनौं।
‘हामीलाई सरकारले तिमीहरु सडकमै सुत भनेको हो कि ?’ उनी भन्छन्,‘हामी जस्ता बिरामीको पीडा कस्तो हुन्छ कसैले बुझेन।’ आफुहरुको माग सम्बोधन नभए सरकारविरुद्ध आन्दोलनमा उत्रिने तयारी उनीहरुको छ। बजेटमा सो कार्यक्रम राख्न उनीहरुले माग गरेका छन्।
नीति तथा कार्यक्रममा यससम्बन्धि विषय समाबेश नभएपछि उनीहरुले आन्दोलन सुरु गर्न लागेका हुन्। उनीहरुले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पुगेर ५ हजार भत्ता कहिले पाइन्छ भनेर प्रश्न गरिरहेका छन्।