विचार/ब्लग

सूर्तीजन्य पदार्थ होइन, स्वास्थ्य रोजौं

 गंगाराज अर्याल

-

हरेक वर्ष मे ३१ मा मनाइने सूर्तीजन्य पदार्थ विरुद्धको दिवस यस वर्ष 'सूर्तीजन्य पदार्थले मुटुलाई क्षति पुर्‍याउँछ, स्वास्थ्य रोजौं सूर्तीजन्य पदार्थ होइन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ।

सूर्तीजन्य पदार्थमा कार्बन मोनोअक्साइड, निकोटिन, टार, बेञ्जोपाइरिन, एमोनिया जस्ता ४ हजारभन्दा बढी रासायनिक तत्व हुन्छन्। यस्तै, ४० जति क्यान्सर बेञ्जोपाइरिन लगायतका क्यान्सर उत्पन्न गर्ने रसायनले गर्दा क्यान्सर लागेर मृत्यु समेत गराउँछ। यस्ता सूर्तीजन्य पदार्थमा मिसाइने निकोटिन नामक तत्व एकपटक सेवन गरेपछि पुनः तलतल लाग्ने भएर लत नै बसाउँछ। 

पृष्ठभूमि

सूर्तीजन्य पदार्थको सेवनबाट विभिन्न स्वास्थ्य समस्या देखिने तथ्य सन् १९५० तिर पत्ता लागेको हो। १९८८ तिर गरिएको अनुसन्धानको प्रतिवेदनले अमेरिका जस्ता विकसित मुलुकमा सूर्तीजन्य पदार्थको सेवनबाट जटिल स्वस्थ्य समस्या उत्पन्न गरेको प्रमाणित गरेको थियो। ती मुलुकका करिब तीन चौथाइ नागरिकले कुनै न कुनै रुपमा यस्ता पदार्थ सेवन गर्ने, एक चौथाइ जतिमा लत नै बस्ने र एक चौथाइ जति दुव्र्यसनमै पर्ने गरेको पाइएको छ। 

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार विश्वभरका ५० लाखभन्दा बढी व्यक्तिले सूर्तीजन्य पदार्थको सेवन गर्छन् भने सन् २०३० सम्ममा १ करोडभन्दा बढी सूर्ती सेवनकर्ताको सूर्ती सेवनकै कारण उत्पन्न स्वास्थ्य समस्याबाट मृत्यु हुने अनुमान गरिएको छ। यसरी सेवन गर्नेमध्ये ८५ प्रतिशत मानिस अल्पविकसित मुलुकका छन्। सूर्तीजन्य पदार्थ सेवनकै कारण अमेरिकाली मुलुकमा बर्सेनि ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ भने नेपालका २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ। नेपालका १५ वर्ष उमेर र त्यसमाथिका ३७ प्रतिशत युवाले सूर्तीजन्य पदार्थको सेवन गर्ने र विश्वभरिमा नेपालका महिलाले बढी सूर्तीजन्य पदार्थको सेवन गरेको पाइएको छ।

सूर्तीजन्य पदार्थ नियन्त्रणका चुनौती

विशेषतया नेपालका ग्रामीण भेगका मानिसहरु सूर्तीजन्य पदार्थका असरबारे अनभिज्ञ छन्। तिनीहरुमध्ये प्रायःमा सामान्यतया एउटा अम्मल सबैको हुनैपर्ने सोच रहेको पाइन्छ। फलस्वरुप सूर्तीजन्य पदार्थको सेवन गर्ने क्रमले बढावा पाएको छ। 

सूर्तीजन्य पदार्थको खुला बिक्री–वितरण रोक्न सरकारले २०६८ सालमै बलियो कानुन बनाए पनि कानुन मिचेरै त्यस्तो कार्य भइरहेको छ। शिक्षित र चेतनशील व्यक्तिहरु समेत सूर्तीजन्य पदार्थ सेवन गरिरहेका छन्। 

स्वास्थ्य सेवा विभागको आर्थिक वर्षको २०७२/०७३ को प्रतिवेदनमा नेपालमा सरुवा रोगभन्दा नसर्ने रोगहरुको बाहुल्य भएको र ती रोग निम्त्याउन सूर्तीजन्य पदार्थको प्रमुख भूमिका रहेको उल्लेख छ। त्यसमा पनि खासगरी मुटुको रोग (कोरोनरी हर्ट डिजिज), क्यान्सर र मस्तिष्कघात (ब्रेन स्ट्रोक) गराउन यसले मुख्य भूमिका खेल्छ। सूर्तीजन्य पदार्थले मुखका साथै घाँटी, श्वास–प्रश्वास सम्बन्धी (निमोनिया, ब्रोङ्काइटिस, दम), मुटु, मिर्गौला, नसा सम्बन्धी गरी टाउकोदेखि पैतालासम्मका सबै अंगमा रोग निम्त्याउन सक्छ। 

सूर्तीजन्य पदार्थमा हुने निकोटिनले महिलाको पाठेघरका साथै अरु अंगमा प्रत्यक्षरुपमा प्रतिकूल असर गर्छ भने गर्भमा रहेको भ्रुणको शारीरिक तथा मानसिक विकासमा अवरोध पैदा गर्छ। जसका कारण कम तौलको शिशु जन्मने र जन्मेपछि पनि सम्पूर्ण वृद्धि/विकासमा अवरोध आउँछ। 

यस्तै, सूर्तीजन्य पदार्थ सेवन गर्ने परिवारको १० प्रतिशतभन्दा बढी खर्च सूर्ती सेवनका कारणले लाग्ने रोगको उपचारका लागि हुने गर्छ। यसले विश्वको आर्थिक अवस्थामा समेत नकारात्मक असर पारेको छ।

सूर्तीजन्य पदार्थ विरुद्धका प्रयास

सूर्तीजन्य पदार्थ सेवनका कारणले उत्पन्न हुने स्वास्थ्य समस्याबाट बचाउन विश्व स्वास्थ्य संगठनको २०३० सम्ममा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने रणनीतिको नेपाल सदस्य राष्ट्र समेत भएको छ। यसै रणनीतिको कार्यान्वयनस्वरुप सरकारले २०६८ बैसाखमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन तथा नियमावली लागू गरेको हो। 

सूर्तीजन्य पदार्थको बिक्री–वितरण नियन्त्रणका लागि बलियो कानुन निर्माण गरेकोमा  अन्तर्राष्ट्रिय स्तरमा नेपाल पुरस्कृत भएको छ। कडा कानुन अन्तर्गत सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पेटी वा पार्सलमा ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देशयुक्त चित्र अंकित गर्नुपर्ने, १८ वर्षभन्दा कम उमेरका तथा गर्भवतीले खरिद गर्न नपाउने, २० खिल्लीभन्दा कमको प्याकेट बनाउन नपाउने र १ खिल्ली मात्र बिक्री गर्न नपाउने, जनचेतना अभिवृद्धि गर्न र नियमन गर्न सूर्तीजन्य पदार्थको सेवनका कारणले फोक्सो, मुख र मस्तिष्कको क्यान्सरबाट मृत्यु भएका थाइल्यान्ड, सिंगापुर र फिपिन्सबाट मृत व्यक्तिको तस्बिर ल्याई सूर्तीबाट निर्मित प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने निर्देशन दिइएको छ।

नेपालमा सार्वजनिक स्थानमा कुनै पनि प्रकारका सूर्तीजन्य पदार्थ बिक्री मात्र होइन, सेवन गर्न समेत नपाइने र सूर्तीजन्य पदार्थ उपहार दिन नपाउने कानुन जारी गरिएको छ। हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कानुन कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। तर, विडम्बनाको कुरा के छ भने, यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। 

नियन्त्रणका उपाय

सूर्तीजन्य पदार्थको नियन्त्रण गर्न निम्न उपाय अपनाउनु आवश्यक छः 

१. नीति/नियम पालनामा अनुगमन : सूर्तीजन्य पदार्थ सेवन नियन्त्रण तथा नियमन गर्न सरकारले २०६८ बैसाखमा जारी गरेका ऐन तथा नियमावलीको पालना भए/नभएको अनुगमन गरी कार्यान्वयनमा कडाइका साथ अघि बढ्नुपर्छ।

२. नागरिकको सुरक्षा : सूर्तीजन्य पदार्थका प्रतिकूल असरबारे व्यापकरुपमा जनचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि अमेरिकाली मुलुकमा यसका सेवनकर्ताको संख्या र स्वास्थ्य समस्या ह्वात्तै घटेको थियो। त्यसैले हरेक व्यक्ति, सूर्ती सेवनकर्ता समेतलाई टोल–टोलमा समुदाय÷वडास्तरदेखि गाउँपालिका, जिल्लास्तर तथा महानगरपालिका स्तरसम्म चेतनामूलक सामग्री र सन्देशको प्रचारप्रसार गर्नुपर्छ। विद्यालयस्तरसम्म यसको नियन्त्रण गर्ने ऐन÷नियमबारे जानकारी दिँदै अभिमुखीकरण गर्नुपर्छ। यसको प्रभावले नागरिकको ज्ञान, धारणा र बानीमा परिवर्तन ल्याई सूर्तीजन्य पदार्थ सेवन गर्न सुरु नगर्न र सेवन गर्दै आएका भए आजैदेखि छाड्न सक्छन्।

३. सूर्तीजन्य पदार्थ सेवन छाड्न सघाउने पाटो 

प्रतिबद्धता : सूर्तीजन्य पदार्थबाट श्वासप्रश्वासदेखि दम, क्षयरोग, मुटु, कलेजो, मिर्गौला र क्यान्सर जस्ता रोग लाग्छन्, जसको उपचार गर्दा धेरै महँगो, दुःख र तनाव हुन्छ भने यस्ता रोग प्राणघातक पनि हुन्छन्। त्यसैले सूर्तीजन्य पदार्थका  प्रतिकूल असरबारे जानकारी लिई सचेत र जागरुक भई सेवन गर्न सुरु नगरेकाहरुले गर्दै नगर्ने, भर्खर सिक्न लागेको भए सल्काउनु वा खोल्नु अगाडि एकपटक चेतनामूलक सन्देश अध्ययन गर्नु राम्रो हुन्छ।

-  उपभोग दर घटाउने : सूर्तीजन्य पदार्थ सेवनकर्ताले आजैदेखि दिनमा सेवन गर्ने खिल्ली वा प्याकेट वा बट्टा घटाउनुपर्छ। यसो गर्दा उपभोग दर क्रमशः थाहा नपाई घटिरहेको हुन्छ। सूर्तीजन्य पदार्थको प्याकेट, बट्टा खोल्नुभन्दा पहिले अठोटपूर्वक तिनमा अंकित सन्देश र तस्बिर राम्ररी हेरेमा छाड्न सजिलो हुन्छ।

- अतिरिक्त कार्यक्रमा आफूलाई व्यस्त राख्ने : सूर्तीजन्य पदार्थ सेवनबाट टाढा रहन हलुका व्यायाम, खेलकुद तथा अध्ययनतिर ध्यान केन्द्रित गर्नुपर्छ। यसो गर्दा आफू निरोगी हुने त छँदै छ, थाहै नपाई सूर्तीजन्य पदार्थ छाड्न पनि सजिलो हुन्छ।

उपचार : सूर्तीजन्य पदार्थको सेवनबाट उम्कन नसक्नेगरी दुव्र्यसनमा फस्ने ठूलो डर हुन्छ। यदि दुर्व्यसनमा फसिसकेको भए ढिलो नगरी यसको उपचारमा लाग्नुपर्छ। यसो गर्दा लत लागेको भए उपचार भई दीर्घरोगको सिकारबाट बच्न सकिन्छ। त्यसैले सूर्तीजन्य पदार्थको लत/दुर्व्यसनको उपचारका लागि समयमै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राखिहाल्नुपर्छ।

४. चेतावनी : सूर्तीजन्य पदार्थको सेवनका कारण धेरै किसिमका सरुवा तथा नसर्ने रोग लाग्न सक्ने चेतावनीका लागि थाइल्यान्ड, सिंगापुर, फिलिपिन्समा फोक्सो, मुख र मस्तिष्कको क्यान्सर भई मृत्यु भएका व्यक्तिको खास तस्बिर ल्याई सूर्तीजन्य पदार्थका प्याकेट, बट्टा र कार्टुनमा छाप्नुपर्ने व्यवस्था गरिएको छ। आम नागरिकलाई सूर्तीजन्य पदार्थको सेवन छाडिदिन र सेवन गरिरहेमा यसबाट विभिन्न ज्यानै जाने सरुवा र नसर्ने रोग समेत उत्पन्न गराउने चेतावनीमूलक सन्देश फैलाउन सरकारले ‘सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक’ जस्ता सन्देश छाप्न उत्पादनकर्तालाई निर्देशन दिएको छ। सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ सेवन गरेमा चेतावनीस्वरुप सुरुमा १ सय रुपैयाँदेखि ५० हजारसम्म जरिवाना गर्न हरेक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ। 

५. करवृद्धि : सूर्तीजन्य पदार्थ सेवनकर्तालाई छुटाउने उपायमध्ये करवृद्धि  एक हो। तर, दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकमध्ये नेपालमा सूर्तीजन्य पदार्थमा जम्मा २८ प्रतिशत मात्र कर लगाइएको छ। थोरै कर लगाउँदा यसको उत्पादन लागत समेत सस्तो हुन्छ र सेवनकर्तालाई प्रोत्साहन हुन्छ। त्यसैले सूर्तीजन्य पदार्थमा कर २८ प्रतिशतबाट बढाएर कम्तीमा ७० प्रतिशत गराउनुपर्छ। त्यसो गर्दा सूर्तीजन्य पदार्थ महँगो भर्ई सेवनकर्ता निरुत्साहित हुन्छन्।

(अर्घाखाँचीको पाणिनी–८, पाली निवासी अर्याल स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी निर्देशकबाट सेवा निवृत्त भएका हुन्।)

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने