विचार/ब्लग

अछाममा पहिलोपल्ट आन्द्रामा प्वाल परेको बिरामीको सफल शल्यक्रिया

गरिबीका कारण जटिल रोगका बिरामी जोखिममा

 डा. विकास गौचन, बयालपाटा अस्पताल, अछाम

स्वास्थ्य सेवा सुविधाको हिसाबले होस् वा विकासका अन्य पूर्वाधारको हिसाबले होस् प्रदेश नम्बर ७ को अछाम जिल्ला पछाडी नै छ । अछाममा उपचार सम्भव नभएका बिरामीलाई आपत्कालिन अवस्थामा बाहिर पठाउँदा कम्तिमा ९ घण्टा लाग्छ । त्यतिबेलासम्म बिरामीको अवस्था झनै खतरामा पुग्छ । त्यो पनि पैसा भएकाहरुले तुरुन्तै लिन सक्छन् तर आर्थिक अवस्था कमजोर भएकाहरु घर फर्किन्छन्।

बयालपाटा अस्पतालमा पनि यस्ता धेरै समस्याहरु आएका छन् । हामीले यता सम्भव हुने रोगहरुको उपचारमा कुनै कसुर नराखी काम गरीरहेका छौं । तर पनि कुनै रोगहरु बाहिर जिल्लाका ठूला अस्पतालमा पठाउनु पर्ने हुन्छ । यस्ता केसहरुमा आर्थिक अवस्था कमजोर भएकाहरु अस्पताल होइन घर फर्किन तयार हुन्छन्।

यस्तै घटना मध्येको एक घटना यही जेठ १७ गते बयालपाटा अस्पतालमा आयो । साँफेबगर नगरपालिका अन्तर्गतको अति दुर्गम वडा न. १३ बाब्लाका ५२ बर्र्षीय अम्मरे बिस्ट पेट दुख्ने समस्या लिएर आउनुभयो । घरबाट अस्पताल धेरै टाढा भएकोले  पेट दुखेको तीनदिन पछि मात्रै  पेट धेरै दुख्न थालेपछि उहा अस्पतालमा पुग्नुभएको थियो । अम्मरेको साथमा आएकी उनकी श्रीमती कोकिला  निकै तनावमा थिइन् । के हुने हो ? कसो हुने हो ? भन्ने डरले होला उनी रोइरहेकी थिइन् । धेरै बोल्न सक्ने अवस्थामा थिइनन्  । सायद श्रीमानलाई सञ्चो भएर घर लिने कुरा मात्र उनको मनमा खेलिरहेको थियो । ‘मेरा बड्डालाई अब घर लिइकन बाइजान्या हुँ,’ उहाँले रुदै भन्नुभयो । उहाँको अवस्था देखेर हाकी पनि भावुक भयौं।

तुरुन्तै अम्मरेलाई हामीले बयालपाटा अस्पतालमा कार्यरत डा. पवन अग्रवालले चेकजाँच गर्नेगरी आकस्मिक कक्षमा परीक्षण गर्न पठायौं । ‘उहाँको आन्द्रामा प्वाल परेर पेटभित्र संक्रमण फैलिएको पाइयो । संक्रमणको कारणले मिर्गौलामा असर देखिन सुरु भइसकेको छ,’ डा. अग्रवालले भन्नुभयो । अम्मरेको अवस्था हेर्दा ठूलो अस्पतालमा जहाँ आइसीयुका साथै शल्यक्रियाको भरपर्दो टिमले  मात्र थप उपचार गर्नुपर्ने देखियो।

आन्द्रामा प्वाल परी संक्रमण भएको बिरामीको यो भन्दा अगाडी बयालपाटा अस्पताल र अछाम जिल्ला अस्पतालमा शल्यक्रिया  नभएको हुँदा अम्मरेलाई पनि ठूलो अस्पतालमा पठाउनु पर्ने देखियो । ‘बाहिर लैजानुस्’ पनि भन्यौं । तर उहाँको आर्थिक अवस्था धेरै नाजुक भएकाले उहाँले लैजान सक्नुभएन । बिरामीलाई पूरै बेहोस बनाई पेटको ठूलो शल्यक्रिया गर्न अस्पतालको स्तर धेरै माथिको हुन जरुरी हुन्छ । जस्तैः शल्यक्रिया पछि आइसीयु. चाहिन सक्छ । बिशेषज्ञको ठूलो टिम नै परीचालन गर्नुपर्ने अवस्था पनि आउन सक्छ।

गरिबीको कारण अम्मरे बिस्टको परिवारले उहालाई ठूलो अस्पताल लैजान नसक्ने जानकारी गराएका थिए । बयालपाटा अस्पतालबाट सिरियस बिरामी  रिफर गर्नु परेमा ठूलो अस्पताल (धनगढी वा नेपालगञ्ज) पुग्न कम्तिमा ९ र बढीमा १२ घण्टा लाग्छ  । जुन समयमा बिरामीले धेरै गारो परेको हामीले धेरै भोगेका छौं ।  छिटो ठूलो अस्पतालमा पु¥याउन अछामका करिब ९८ प्रतिशत मानिसलाई धेरै नै गाह्रो छ।

यदी बिरामीलाई घर लगेमा उहाको बाँच्ने सम्भावना धेरै कम रहेको जानकारी हामीले उहाँको परीवारलाई गरायौं।  बिस्टकी श्रीमतीलाई के गर्ने, के नगर्ने  ? निर्णय लिन धेरै  मुश्किल पर्यो ।  यसै सन्दर्भमा बयालपाटा अस्पतालमा उपचार सम्भव नभए बाहिरको ठूलो अस्पतालमा लैजान नसक्ने बरु घरमै लैजाने कुरा सुरुवातमै गर्नुभएको थियो ।  जोखिमपूर्ण अवस्थामा बिरामीलाई घर लैजानु भन्दा अन्य वैकल्पिक कुरा अपनाउनुपर्ने हामीले देख्यौं । हामीले उहा“को नगरपालिकाको वडाअक्ष्यलाई फोन गरि बोलायौं ।  वडाअध्यक्षले बिरामीको सबै परीवारसँग सल्लाह गरी यत्तिकै घर लैजानु भन्दा बयालपाटा अस्पतालमै शल्यक्रियाको कोशिस गरी ज्यान बचाउन लाग्नु राम्रो हुने बिचार राख्नुभयो । र, परिवारको सदस्यलाई सम्झाउनुभयो।

बयालपाटा अस्पतालमा यस्तो खालको शल्यक्रिया पहिला भएको थिएन । तर, चिकित्सकहरु भने पहिला यस्तो शल्यक्रिया गरेको अनुभव भएका थिए । अनुभवी चिकित्सक बयालपाटा अस्पतालसँग भएकाले अन्ततः विष्टको शल्यक्रीया गर्न अस्पतालको टोली जुट्यो।

अस्पतालका एनेस्थेसिया विभागका महेन्द्र कुँवर बेहोस बनाउन आवश्यक पर्ने औषधि र औजारहरु तयार पार्न लाग्नुभयो । डा. विप्लब श्रेष्ठले उहाँलाई साथ दिने निर्णय भयो । नर्सहरुमा निलम महरा र कन्चन चौधरी तयार हुनुभयो । हेल्थ असिस्टेन्ट देउपाल जप्रेल पनि सहयोगी हात बन्न तयार हुनुभयो । ओ. टि. सहायकहरु दीपा बम र लक्ष्मी बि. क. तयार हुनुभयो । बिरामीलाई पूरै बेहोस बनाई डा. पवन अग्रवाल र म सर्जरी गर्न तयार भयौं। हामीलाई सर्जरीमा कन्चन चौधरीले साथ दिइरहन भएको थियो।

शल्यक्रिया गर्दै गर्दा बिरामी विष्टको सानो आन्द्रको करिब बीच भागमा दुईटा प्वाल परेको थियो । जसले गर्दा रसायनिक पदार्थ लिक भएर पेट भित्र संक्रमण भएको रहेछ  । उहाँको के कारणले आन्द्रामा प्वाल परेको भन्ने  यथार्थ पत्ता लागेन।

शल्यक्रियाकै क्रममा पेटभित्र फैलिएको फोहोरलाई सफा गरियो । प्वाल परेको आन्द्रा सिलाइयो  । पछि निस्कने फोहोर बाहिर आओस्  भनेर पेटमा एउटा पाइप राख्यौं । त्यसपछि छाला सिलाई उहाँलाई होसमा ल्याउने काम महेन्द्र कुँवरजीले गर्नुभयो  । अहिले शल्यक्रिया पछिको स्वास्थ्य सेवा लिँदै अम्मरे अस्पतालको अन्तरंग विभागमा हुनुहुन्छ ।
हालसम्म अछाममा नभएको शल्यक्रिया अस्पतालको टिमले सफलता पूर्वक सम्पन्न गरेपछि हामी पनि खुसी भएका छौं । विष्टको शल्यक्रिया सफल भएको खबर सुनेर वडाअध्यक्षले हामीलाई धन्यवाद समेत दिनुभयो ।‘मृत्युको नजिक पुगेको बिरामीलाई आफ्नो सिप र क्षमताकोे पूरा प्रयोग गर्दै बचाउन भूमिका खेल्ने सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई धन्यबाद दिन चाहन्छु ।’ खुसी हुँदै अम्मरेको वडाअध्ययज्यु फोन गर्नुभयो  । यसले हामीलाई पनि हौसला र ऊर्जा थपेको छ।

यता नेपालको संबिधान २०७२ लाई हेर्दा प्रत्येक नागरिकलाई आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउने हक हुनेछ भनेको छ । के अम्मरे र उहाँ जस्ता नागरिकहरु गरिब भएकै कारण, दुर्गममा बसेकैले गर्दा संबिधान अनुसार स्वास्थ्य सेवा पाउनबाट बञ्चित हुनुपर्ने हो ? मेरो मनमा यो कुरा अझै खेलिरहेको छ।

धनी नेपालीहरुले त पैसा तिरेर  स्वास्थ्य सेवा पाइरहेकै छन्  । तर गरिबहरु कहिलेसम्म राम्रो स्वास्थ्य सेवाबाट बञ्चित हुनु पर्ने हो ? यस्ता धेरै प्रश्नले उत्तर खोजिरहेका छन् ।  संविधान बनेर स्थानीय, प्रदेश र केन्द्र सरकार गठन भइसके पनि प्रत्येक नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गनृ स्रकारले अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।

 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

राम राज लेख्नुहुन्छ जेठ २३, २०७५ बुधवार २०:०८:११
बयलपाटा अस्पताल ले सुदुर पस्श्चिम का जनता लाई ठुलो राहत पुर्याएको छ । डाक्टर लागाए...

यसमा तपाइको मत



पढ्नै पर्ने