विचार/ब्लग

कस्तो प्रयोगशाला रिपोर्टलाई गुणस्तरीय मान्ने ?

 राजेन्द्रदेव भट्ट

आजभोलि सञ्चार तथा सामाजिक सञ्जालको सहज पहुँचले हामी धेरै कुराको जानकारी सजिलै पाउँछौं। सञ्चार माध्यमकै जिम्मेवार तथा नियमित खबरदारीले गर्दा बेला–बेलामा ‘प्रयोगशालापिच्छे फरक रिपोर्ट, भर्‍याङमुनि ल्याब, स्वास्थ्यमा कमिसनको जालो’ जस्ता समाचार हेर्न/पढ्न/सुन्न पाउँछौं। दुर्भाग्य नै मान्नुपर्छ, प्रविधि र सञ्चारको स्वर्णीम युगमा पनि हामी सामान्य रगतको जाँचसमेत कुन प्रयोगशालामा गराउने भन्ने गम्भीर द्विविधामा हुन्छौं।

हाम्रो देशमा कहाँ, कति र कुन स्तरका स्वास्थ्य प्रयोगशाला छन् ? कस्तो प्रयोगशालालाई गुणस्तरीय भन्ने ? तिनीहरुको गुणस्तरमा विश्वास गर्ने आधार के हुन् ? जस्ता प्रश्न आम मानिसले उठाउँछन्। 

प्रयोगशाला चिकित्सा भनेको हाम्रो शरीरमा रोग छ, छैन पुष्टि गर्ने, रोगको संवेदनशीलता निर्धारण गर्ने, उपचार तथा रोकथामपछि सुधार भए–नभएको मापन गर्ने र विभिन्न रोगको कारण पत्ता लगाएर जिम्मेवारीपूर्वक जवाफ दिने विज्ञान हो। अझै सरल भाषामा भन्ने हो भने आधुनिक चिकित्साशास्त्रको मेरुदण्ड हो प्रयोगशाला चिकित्सा।

कुनै पनि प्रयोगशालाको रिपोर्ट जुन किफायती, सुलभ, विश्वसनीय, सान्दर्भिक तथा तथ्यगत हुन्छ र उचित समयमै बिरामी तथा उपचारमा संग्लग्न चिकित्सक समक्ष पुग्छ भने त्यसलाई गुणस्तरीय मान्न सकिन्छ। गुणस्तरीय रिपोर्ट उत्पादन गर्न प्रत्येक प्रयोगशालाले गुणस्तरलाई ग्यारेन्टी गर्न सक्ने प्रणालीको विकास एवं अनुशरण गरेको हुनुपर्छ। 

के हो ग्यारन्टी दिन सक्ने प्रणाली ?
प्रयोगशाला चिकित्सालय अथवा स्वास्थ्य प्रयोगशालाले विभिन्न परीक्षण गरी बिरामी अथवा चिकित्सकलाई दिने महत्वपूर्ण जानकारीलाई रिपोर्ट भनिन्छ।

स्वास्थ्य प्रयोगशालामा गरिने परीक्षण एउटा जटिल प्रक्रिया हो। यसलाई सजिलोका लागि तीन भागमा विभाजन गरिएको हुन्छ, पूर्वपरीक्षण, परीक्षण तथा परीक्षणपछिको अवधि। यी तीनवटै तहमा हुनसक्ने गल्तीलाई न्यूनीकरण गर्न एउटा प्रणाली विकास गरिएको हुन्छ, जसलाई गुणस्तरको ग्यारेन्टी (क्वालिटी एस्युरेन्स) भनेर बुझिन्छ।

यो प्रणाली अपनाउन प्रयोगशालाले गुणस्तरका सूचकांकहरुको अधिकतम एवं व्यवस्थित ढंगले अनुशरण गरेको हुनुपर्छ।

परीक्षण पूर्व हुने गल्ती 
डाक्टरले बिरामीलाई परीक्षण गर्न सुझाव दिएको समयदेखि प्रयोगशालामा परीक्षण गर्नुभन्दा अगाडिसम्मको अवधिलाई पूर्वपरीक्षण अवधि भनिन्छ। प्रयोगशालामा नमूना परीक्षण गर्नुभन्दा पहिले नै हुनसक्ने गल्तीलाई पूर्वपरीक्षण गल्ती भनिन्छ। विभिन्न अनुसन्धान अनुसार प्रयोगशालामा हुने कुल गल्तीमध्ये ७० प्रतिशत सम्म गल्ती यही अवधिमा हुन्छ। 

डाक्टरले लेखेको अक्षर नबुझिनु, संकलित नमूनाको पहिचान गलत हुनु, संकलित नमूना पर्याप्त नहुनु, संकलित नमूना गलत सिसीमा राखिनु, नजमेको रगत चाहिने ठाउँमा जमेको रगत आउनु, भोको पेटको अवस्थामा संकलन गर्नुपर्ने रगतको नमूना त्यसअनुसार नहुनु, विशेष समयमा मात्र गर्नुपर्ने जाँचको नमूना त्यसै अनुसार संकलित नहुनु, संकलित नमूना उचित अवस्था वा समयमा प्रयोगशालामा नपुग्नु जस्ता कारणले परीक्षण पूर्वको अवधिमा गल्ती हुनेगर्छ।

यी धेरैजसो त्रुटि निवारण गर्न सकिने किसिमका भएकाले हरेक प्रयोगशालाले त्यस्तो प्रणालीको विकास गरेको हुनुपर्छ, जसले परीक्षण पूर्व नै हुनसक्ने गल्तीलाई निवारण गर्न सकियोस् र बिरामी तथा चिकित्सकहरु स्तरीय सेवामा ढुक्क हुन सकुन्।

परीक्षण गर्दा हुने गल्ती
बिरामीको संकलित नमूना प्रयोगशालामा पुगिसकेपछि पूर्व परीक्षणात्मक त्रुटि भए नभएको जाँच गरेर उपयुक्त भए मात्रै परीक्षण गर्नुपर्छ। प्रयोगशालामा परीक्षण गर्दा कुनै गल्ती हुन्छ भने त्यसलाई परीक्षणात्मक गल्ती भनिन्छ। यस किसिमको गल्ती प्रतिशतका हिसाबले कम देखिए पनि गम्भीर रुपमा लिनुपर्छ।

यो चरणमा गल्ती भयो भने कुनै एउटा बिरामीको मात्र नभई अरु बिरामीको रिपोर्टमा पनि गल्ती हुने सम्भावना हुन्छ। दैनिक आन्तरिक क्वालिटी कन्ट्रोल नगर्नु, नियमित रुपमा बाह्य क्वालिटी कन्ट्रोलमा भाग नलिनु, उपकरणको नियमित मर्मत सम्भार नगर्नु, योग्य एवं दक्ष प्राविधिक जनशक्ति नहुनु, कमसल तथा म्याद नाघेका रिएजेन्ट्स प्रयोग गर्नु, मानक सञ्चालन प्रक्रिया पालन नगर्नु, हतारमा परीक्षण गर्नु जस्ता कारण नै परीक्षणको समयमा हुने गल्तीहरु हुन्। 

परीक्षणपछि हुने गल्ती 

प्रतिशतका हिसाबले दोस्रो धेरै गल्ती हुने अवधि यसैलाई मानिन्छ। यसमा मुख्यतः बिरामीको नमूनाको परीक्षण सही गरिएको हुन्छ तर विभिन्न कारणले बिरामीले पाउने रिपोर्ट गलत हुन्छ। जस्तैः बिरामीको नाम, उमेर, लिङ्ग आदि गलत हुनु,  रिपोर्ट नै तलमाथि हुनु (सुगरको मात्रा युरियामा र युरियाको मात्रा सुगरमा लेखिनु), एउटै नाम भएका बिरामीको रिपोर्ट साटिनु, प्रिन्ट गर्दा गलत इन्ट्री गर्नु आदि।

गुणस्तरका आधारभूत सूचांकहरु
माथि उल्लेखित धेरै कुरा नितान्त प्राविधिक छन्। सर्वसाधारणले नबुझ्न पनि सक्छन्। यस्तो अवस्थामा प्रयोगशालाले गुणस्तर सुनिश्चित गर्ने प्रणाली अनुशरण गरेको छ कि छैन भनेर कसरी थाहा पाउने ? निश्चय नै यो कुरा सर्वसाधारणको बुझाइमा आउन सजिलो छैन।

त्यसो भए यो जिम्मेवारी कसको हो त ? चलनचल्तीको भाषामा भन्ने हो भने यो दायित्व सरकारको हो, जसले आफ्ना हरेक नागरिकको स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न सक्नुपर्छ। नेपाल सरकारको मातहतमा भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले केही हदसम्म त्यो प्रयास गरेको पनि देखिन्छ। जसले देशभरिका प्रयोगशालाको वर्गीकरण गर्ने जमर्को गरेको छ। यो पर्याप्त नभए पनि सराहनीय छ। तर, सरकारको मात्रै भर परेर बस्नुभन्दा सेवा प्रदायकहरुले इमान्दारीपूर्वक गुणस्तरका अधिकतम सूचकांकको उपयोग गरी गुणस्तरीय सेवा दिनुपर्छ र सेवाग्राहीले पनि चनाखो हुनुपर्छ। 

चिकित्सकले परीक्षण गर्न सुझाव दिने बेलादेखि रिपोर्ट हेर्ने बेलासम्मका सम्पूर्ण प्रक्रियामा कतै पनि गल्ती हुन सक्छन्। यसलाई न्यूनीकरण गर्न दर्जनौं सूचकांकहरु प्रयोग गर्नुपर्छ। जस्तैः बिरामीकै पुर्जामा ‘टेस्ट’ लेख्नुको साटो छुट्टै फारम हुनु, रगत संकलन गर्दा भ्याक्युटेनरको प्रयोग गर्र्नुु, नमूना संकलित सिसीमा बिरामीको नाम, उमेर आदि हातले लेख्नुभन्दा प्रिन्ट गरेर बारकोडको प्रयोग गर्र्नुु, दिनहँु आन्तरिक क्वालिटी कन्ट्रोल गर्नु र नियमित बाह्य क्वालिटी कन्ट्रोलमा भाग लिनु जस्ता कुरा क्वालिटी सूचकका केही उदाहरण हुन्। जसले अधिकतम गुणस्तरका सूचकको सही प्रयोग गर्छन् त्यस्ता प्रयोगशालालाई गुणस्तरीय मान्न सकिन्छ। 

अझै सरल भाषामा भन्नुपर्दा, प्रयोगशालाले प्राविधिक, प्रविधि र प्रबन्धन हेर्नुपर्छ। यी तीन विषयले धेरै कुरा ठीक पार्न सक्छ। प्रविधिको विकासले आजभोलि प्रयोगशालामा तुलनात्मक रुपले त्रुटि कम हुँदैछन्। तर शतप्रतिशत त्रुटिरहित परीक्षण लगभग असम्भव जस्तै छ।

प्रयोगशालाको गुणस्तरमा सर्वसाधारणको भूमिका
प्रयोगशाला बिरामीले मात्रै जाने ठाउँ होइन। सामान्य अवस्थामा पनि आफ्नोे शरीरमा बोसोको मात्रा, सुगर, युरिक एसिड, भिटामिन आदि कुराको मात्रा कति छ भनी आफंै गएर परीक्षण गराउन मिल्ने ठाउँ हो। तर, कुनै परीक्षणको मात्रा अलि तलमाथि छ भने धेरैपटक धेरै ल्याबमा त्यही जाँच गराएर आफैंलाई मानसिक तथा आर्थिक भार थोपर्नुको साटो चिकित्सकसँग सल्लाह लिनु उचित हुन्छ। 

चिकित्सकले सिफारिस गरेको प्रयोगशालामा जाँच गर्नु उचित भए पनि अहिले कमिसनका कुरा पनि सुनिन थालेका छन्। त्यसैले बिरामी अथवा सर्वसाधारण आफंैले प्रयोगशालाको मूल्यांकन गर्न सक्छन्। त्यसका लागि प्रयोगशालाका सरोकारवालासँग सोधपुछ गर्न सकिन्छ।

जस्तैः टेस्ट गर्ने मान्छे को हो ? प्राविधिकको योग्यता तथा अनुभव के हो ? क्वालिटी कन्ट्रोल गरेको छ कि छैन ? कस्ता किसिमका उपकरण छन् ? त्यो जाँच त्यहीँ हुन्छ कि बाहिर पठाउँछन् ? यस्ता किसिमका प्रश्न सर्वसाधारणबाट आउन थालेपछि सुधार हुन सक्छ। जबसम्म उपभोगकर्ता आफैं चनाखो हुँदैनन् तबसम्म त्यो ठाउँको सुधार हुँदैन। हरेक सर्वसाधारणमा ‘मेरो रिपोर्ट ठीक छ भनी कसरी ग्यारेन्टी गर्न सक्नुहुन्छ?’ भनेर प्रयोगशालासँग बिना हिच्किचाहट सोध्ने अधिकार छ। यसको जवाफ प्रयोगशालाकर्मीले तथ्यसहित पुष्टि गर्न सक्नुपर्छ। 

(भट्ट धुलिखेल अस्पतालका क्लिनिकल बायोकेमिस्ट तथा अध्यापक हुन्)
 

प्रतिकृया दिनुहोस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने