प्रदेश ७ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ। प्रदेश सरकारले शुक्रबार आगामी आवका लागि २५ अर्ब ५६ करोड रुपैयाँको बजेट ल्याएको हो ।
कुल बजेटमध्ये प्रदेशले चालूतर्फ १३ अर्ब ३५ करोड र पुँजीगततर्फ ११ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ।
बजेटमा स्वास्थ्य क्षेत्रमा एयरलिफ्टिङ्गदेखि दुर्गममा विशेषज्ञ सर्जरी सेवासम्मका कुराहरु समावेश छन्।
हेरौं बजेटमा स्वास्थ्यका विषय
१. सुरक्षित मातृत्व र बाल स्वास्थ्य सूचांकका उपलब्धि न्यून रहेका जिल्लाहरुमा सुधारका कार्यक्रमहरु प्रभावकारी तरिकाले सञ्चालन गरी मातृ मृत्युदर, नवजात तथा बाल मृत्युदरमा कमी ल्याइनेछ । सुरक्षित प्रसुति सेवा उपलब्ध गराउन अहोरात्र खटिई रहनु भएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई आगामी आर्थिक वर्षमा वार्षिक एकमुष्ठ रु १० हजारका दरले प्रोत्साहन स्वरुप प्रदान गर्न रु ६ करोड ३ लाख ७० हजार विनियोजन गरेको छु।
२. प्रसुति सेवालाई प्रभावकारी बनाई मातृशिशु स्वास्थ्यमा सुधार ल्याउन आगामी आर्थिक वर्षभित्रै ४५ वटा स्थानीय तहमा प्रसुति केन्द्र भवनको निर्माण गरिनेछ । यस कार्यक्रमको लागि रु ११ करोड २५ लाख विनियोजन गरेको छु।
३. पहाडि ७ जिल्लाका १६ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा अत्याधुनिक उपकरण सहितको एम्बुलेन्स सञ्चालनको लागि रु ६ करोड ४० लाख विनियोजन गरेको छु।
४. जटिल प्रकृतिका प्रसुति, दुर्घटना, सर्पदंशका बिरामीहरुलाई एयरलिफ्टिङ्गप्रेषणमा सहयोग गर्न रु १ करोड विनियोजन गरेको छु।
५. स्वास्थ्य सेवाको पहुँच अभिवृद्धिको लागि सहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाईहरुको भवन निर्माण गर्न रु ३ करोड १० लाख विनियोजन गरेको छु ।
६. स्थानीय तहबाट सञ्चालन हुँदै आएको आधारभूत स्वास्थ्य सेवा प्रभावकारी बनाउन थप कार्यक्रमहरु विस्तारको लागि रकम बिनियोजन गरेको छु ।
७. प्रदेश स्तरीय सुविधा सम्पन्न अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापनाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइनेछ । प्रदेशको माग धान्न सक्ने क्षमताको अक्सिजन प्लान्टको स्थापना गरिनेछ ।
८. सबै सार्बजनिक स्थल र सवारी साधनहरुमा धुम्रपान र मदिरा सेवन निषेध गरिनेछ। मदिरा र सुर्तीजन्य पदार्थको उत्पादन, आयात तथा बिक्रि वितरणलाई व्यवस्थित गरिनेछ ।
९. अति दुर्गम र अस्पतालको पहुँच भन्दा टाढा रहेका क्षेत्रमा बिशेषज्ञ चिकित्सकबाट सर्जरी समेत गर्ने गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
१०. प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालबाट प्रदान गरिने बिशेषज्ञ सेवा सहितका अन्य सेवाहरुलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक बजेटको व्यवस्था गरेको छु । प्राथमिक स्वास्थ्य केन्द्र स्तरमा एआरटि सेवा, सर्पदंस उपचार सेवा बिस्तार र स्वास्थ्य चौकीहरुमा समेत माग र आवश्यकताका आधारमा प्रयोगशाला सेवा बिस्तार गरिनेछ ।
११. प्रदेश स्तरमा प्रादेशिक पञ्चकर्म तथा योगकेन्द्र निर्माण, प्रादेशिक स्तरको हर्बल गार्डेन, प्रादेशिक आयुर्वेद प्रतिष्ठान स्थापना र प्रदेश स्तरीय योग कन्फरेन्स हल पूर्वाधार निर्माणको कार्य प्राथमिकताका साथ अगाडी बढाइनेछ ।
१२. विपद तथा महामारी रोग नियन्त्रण, निवारण र व्यवस्थापनको लागि आवश्यक स्रोतको व्यवस्थापन गरेको छु । छिमेकी मुलुक भारत आवातजावत गर्ने कामदारहरु फर्की आउँदा स्वास्थ्य जाँच र परामर्शको लागि नमूनाको रुपमा कंचनपुरको गड्डा चौकी, कैलालीको त्रिनगर र खकरौला नाकामा हेल्थ डेस्क स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
१३. थारु समुदायमा देखिएको सिकल सेल एनिमियाको नियन्त्रण एवं रोकथामको लागि सामुदायिक अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाएको छु । जसका लागि रु १ करोड ६० लाख विनियोजन गरेको छु ।
१४. सरकारले निशुल्क उपलब्ध गराउने औषधिहरु सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने व्यवस्थाका लागि नेपाल सरकारसँग आवश्यक समन्वय गरिनेछ ।
१५. यस प्रदेशका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न कम्तीमा १5 देखि २५ सैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्नको लागि स्थानिय तहलाई उत्प्रेरित गर्नुको साथै नेपाल सरकारसँग निरन्तर समन्वय गरिनेछ ।
१६. प्रदेशस्थित सबै किसिमका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, औषधी तथा स्वास्थ्य सेवाको मापदण्ड र व्यवस्थापनको प्रभावकारिता बढाउन अनुगमन र मूल्यांकन पद्धति कडाइका साथ लागु गरिनेछ ।
१७. प्रदेशमा आउन सक्ने महामारी तथा विपद्बाट हुन सक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणको लागि प्रदेश सरकारले औषधी र उपकरण सहितको एक स्वास्थ्य इकार्इ गठन गरी विपद् व्यवस्थापन कार्य द्रुत गतिमा सञ्चालन गर्नका लागि आवश्यक स्रोतको व्यवस्थापन गरेको छु ।
१८. सामाजिक स्वास्थ्य बीमा कार्यक्रम क्रमशः प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा लागू गर्न नेपाल सरकारसँग निरन्तर समन्वय गरिनेछ ।