काठमाडौं– सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुने गरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएकी हुन्।
वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिइरहेको छ। राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराएकी छिन्।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्। राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि स्पष्ट पारिन्। उनले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान पटक–पटक आग्रह गरेको पनि स्मरण गराइन्।
राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठ्यारोमा पार्ने काम गर्न नहुने धारणा राखिन्।