काठमाडौं- त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले अाजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेका छन्।
१४ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको माग सुनुवाई गर्न सरकारले चासो नदिएको र जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै उनीहरुले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेका हुन्।
आवासीय चिकित्सकहरुको संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनका अध्यक्ष डा सुमित पाण्डे र सचिव डा विश्वराज तिमल्सिनाले विज्ञप्तीमा जारी गर्दै सरकार मौन बस्नुले आफूहरु स्तव्ध भएको भन्दै आन्दोलनको कार्यक्रम गर्नुपरेको उल्लेख छ। एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन्।
हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैं रहने विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको उल्लेख गरेको छ ।