काठमाडौं– सरकारले मरोस् भन्ने चाहना राखेको भन्दै डा गोविन्द केसीले स्वास्थ्य परीक्षण गर्न अस्वीकार गरेका छन्। सत्याग्रहको १४ दिन र आफूले वार्ताका लागि पहल गरेको ३ दिन बितिसक्दा पनि सरकारले कुनै चासो नदिएकाले सरकारले आफ्नो मृत्यु चाहेको उनले बताए। रगत परीक्षणका लागि गएका एक चिकित्सकले डा केसीले उद्घृत गर्दै भने, 'सरले भावुक हुँदै भन्नुभयो– सरकारले 'मरे मरोस्' भन्ने ठानेको रहेछ। सरकारको चाहना त्यस्तै हो भने भने म पनि आज उपरान्त कुनै स्वास्थ्य परिक्षण र उपचार गराउँदिन।'
तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार रहेको उनको भनाइ थियो। सरकारले वार्ता गर्न नचाहेको उनले बताएका छन् । उनले भने, 'डा केसी काठमाडौं आएपछि मात्रै वार्ता हुने बताउनु सरकारको मलार्इ झुक्याउने चाल हो । वार्ता गर्ने चाहेको भए काठमाडौंमै मेरो वार्ता टोली छ।'
डा केसीको स्वास्थ्य अवस्था भने बिग्रदो छ । विगतका अनसनको तुलनामा जुम्लाको चिसो मौसम र उच्च क्षेत्रको हावापानीका कारण नयाँ-नयाँ समस्याहरु देखिन थालेको उपचारमा संलग्न चिकित्सक बताउँछन्। दोस्रो- तेस्रो दिनदेखि रगतमा अक्सिजनको मात्रा घट्न थालेको थियो । अहिले त्यसैका कारण सास फेर्न गार्हो हुने, बोल्दा सास बढ्ने, उठ्न गाह्रो हुने समस्या छ। उनलार्इ निरन्तर कृतिम अक्सिजन दिइएको छ।
बिहीबार दिउसो दुर्इपटक अर्ध बेहोसी जस्तो अवस्था देखिएको चिकित्कस बताउँछन्। उपचाररत चिकित्सकहरुका अनुसार ब्रेनसम्म जाने रगतमा अक्सिजन र ग्लुकोजको मात्रा दिनानुदिन कम भएका कारण यस्तो भएको हो। उनीहरुका अनुसार केही दिनसम्म अझै यस्तै रगतको सन्चार भइरहे डा.केसी बेहोस हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने हुनसक्छ।
छातीको दुखाइ पहिलेको तुलनामा झन् बढेको बताइएको छ। मुटुको चालमा त्यति बिघ्न गडबढी नदेखिएतापनि गति असामान्य रहेको छ । कोल्टे फेर्दा वा हलचल गर्दा मात्रै पनि मुटुको गति १०० भन्दा माथी पुग्ने गरेको छ (सामान्यत स्वस्थ मानिसको मुटुको गति ७०-८० को बिचमा रहन्छ )।
सुरुकै दिनबाट निरन्तर घटिरहेको सेतो रक्तकोशिकाको संख्या हिजोको रगतको रिपोर्ट अनुसार ४००० भन्दा कम भइसकेको छ । यसका कारण डा केसी विभिन्न खाले संक्रमणको उच्च जोखिममा छन्। चिकित्सकहरुका अनुसार सामन्य रुघाखोकी र ज्वरो आएको खण्डमा पनि त्यसले अकल्पनीय क्षति निम्त्याउन सक्छ।
कमजोरी, चक्कर लाग्ने, वाकवाकी लाग्ने, मांसपेशी बाउँडिने समस्यामा खास सुधार हुन सकेको छैन।
पिसाबमा 'केटोन बडी' अत्याधिक देखिन थालेको छ । चिकित्सकका अनुसार शरिरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ । यसैका कारण पहिलो दिनको तुलनामा डा केसीको तौल ९ केजी घटेको चिकित्सक बताउँछन्।