भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नयाँ आर्थिक वर्ष ०७५/७६ देखि ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ।
नगरका बस्ती–बस्तीमा स्वास्थ्य जाँच सेवा सञ्चालन गरी ८५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुको घरघरमा सेवा दिन लागिएको नगर उपप्रमुख उमा काफ्लेले बताइन्। अभियान अन्तर्गत ज्येष्ठ नागरिकलाई आवश्यकता अनुसार एक हजार ५ सयसम्मको औषधि समेत निःशुल्क वितरण गरिने उनले जानकारी दिइन्।
‘हामीले आगामी बजेटमा ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्था गरेका छौं, यसलाई प्रभावकारी रुपमा अगाडि बढाउँछौं’, उपप्रमुख काफ्लेले भनिन्, ‘सबै ज्येष्ठ नागरिक नगरपालिकामा आउन सक्नुहुन्न, त्यसैले हामीले आफ्नो दायित्व सम्झेर सीमित स्रोत र साधनका बीच पनि घरघरमा ज्येष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सञ्चालन गर्न लागेका हौं।’
उपप्रमुख काफ्लेले आफूहरुले सबै ज्येष्ठ नागरिकलाई सेवा दिने चाहना भए पनि तत्कालका लागि ८५ वर्षमाथिकालाई मात्र प्राथमिकतामा राखिएको बताइन्।
१३ वटा वडा रहेको नगरपालिकामा करिब दुई सय ज्येष्ठ नागरिक रहेको नगरपालिकाले जनाएको छ। नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरपालिकाको बोर्ड बैठक बसी अभियान थालनीको मिति तय गर्ने प्रमुख प्रशासकिय अधिकृत ख्यामबहादुर थापाले बताए।
नगरपालिकाले अभियानमा विशेषज्ञ डाक्टर, सहयोगी संस्था, नर्सहरु, नगरका प्रतिनिधि, स्वयंसेविकाहरु परिचालन गर्ने जनाएको छ। त्यसका लागि नगरपालिकाले बजेटमा पाँच लाख रुपैयाँ छुट्याएको छ भने सामाजिक विकास अन्तर्गत ३ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ। यसमा नगरभित्र रहेका अस्पताल, सामाजिक संघसंस्था एवं क्लबहरुको पनि सहयोग रहने जनाइएको छ।
‘अभियानलाई सफल बनाउन हामीले सबैसँग सहकार्य गछौं, विगतमा हातेमालो गरेका संघसंस्थाले आगामी दिनमा पनि सहयोग गर्ने हाम्रो विश्वास छ’, प्रशासकीय अधिकृत थापाले भने, ‘सबैको साथ र सहयोग भयो भने वर्षभरि अभियान चलाउने योजना बनाएका छौं।’
अभियानले ज्येष्ठ नागरिकहरूलाई सेवा दिनुका साथै स्वास्थ्य सम्बन्धी चेतना अभिवृद्धि समेत गर्ने नगरपालिकाले जनाएको छ।