जुम्ला– २० दिनदेखि अनशनमा रहेका डा गोविन्द केसी अन्ततः उपचारका लागि काठमाडौं जान तयार भएका छन्। उनलाई लिन बिहीबार बिहान हेलिकप्टर जुम्ला ल्याइएको थियो।
सुरुमा काठमाडौं जान अस्वीकार गरेका केसीलाई त्यहाँका विद्यार्थी र अन्य सर्वसाधारणले पनि साथ दिएका थिए। उनीहरुले मानव सांलो बनाएर प्रहरीलाई अस्पताल परिसरभित्र जान दिएका थिएनन्।
तर प्रहरीले विद्यार्थीमाथि दमन गरेपछि डा केसी काठमाडौं जान तयार भएका हुन्। 'प्रहरीले विद्यार्थीलाई समेत लाठी प्रहार गर्यो। सरकार हिंसामा उत्रियो', डा केसीले भने, 'यस्तो हिंसा म हेर्न सक्दिनँ। म काठमाडौं जान तयार छु।'
डा केसीले केही बेरमै पत्रकार सम्मेलन गरी काठमाडौं जाने जानकारी दिएका छन्।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले अन्धाधुन्द अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीले अश्रुग्यास प्रहार गरेपछि डा गोविन्द केसी केही समय बेहोस भएका थिए।
अस्पतालमा भित्रै प्रहरी प्रहार गरेको अश्रुग्यासका कारण अस्पतालमा रहेका बिरामी, डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुको भागाभाग भएको थियो।
प्रहरीको लाठीचार्जका कारण प्रतिकारमा उत्रिएका केही विद्यार्थी तथा स्थानीयहरु घाइते भएका छन्।