काठमाडौं- चिकित्सा शिक्षा विधेयकमा प्रतिपक्षले सदन अवरुद्ध गर्ने अडान कायमै राखेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक सूचना टाँसेर स्थगित भएको छ।
आज १ बजेका लागि तय गरिएको बैठक साउन ११ गते शुक्रबार १ बजे बस्नेगरी स्थगित भएको हो। सभामुख कृष्णबहादुर महराले विशेष कारणवश भन्दै बैठक स्थगित भएको सूचना टाँस गराएका हुन्।
सरकारले विधेयक संसदमा पेस गर्ने तयारी गरे पनि व्यापक विरोध भएपछि बुधबारको बैठकको कार्यसूचीबाट हटाइएको थियो। कार्यसूचीबाट हटाए पनि विधेयक संशोधनसहित दर्ता हुनुपर्ने मागसहित नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरुले विरोध गर्ने तयारी गरेका थिए।
बुधबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने प्रस्तावबाट सरकार पछाडि हटेको थियो। कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएकोमा प्रतिपक्षको अवरोधलाई ध्यान दिँदै विधेयक कार्यसूचीबाट हटाइएको थियो।