काठमाडौं- सरकारले संघीयता कार्यान्वयनका क्रममा स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य र परिवार स्वास्थ्य महाशाखालाई एउटैमा गाभेको छ।
परिवार स्वास्थ्य र बाल स्वास्थ्यलाई जोडेर परिवार कल्याण महाशाखा बनाइएको छ। विगतमा मातृ स्वास्थ्यसँग सम्बन्धित काम परिवार स्वास्थ्य र नवजात शिशु तथा बालबालिकाको स्वास्थ्य र पोषणको काम बाल स्वास्थ्य महाशाखाले गर्दै आएको थियो। आमा र बच्चाको स्वास्थ्यका कार्यक्रमलाई छट्टाछुट्टै राख्दा समस्या आएको भन्दै यी दुई महाशाखालाई एकै स्थानमा राख्नुपर्ने विषयमा पहिला पनि बहस हुँदै आएको थियो।
नयाँ बनाइएको महाशाखामा डा आरपी बिच्छालाई निर्देशकको जिम्मेवारी दिइएको छ। डा बिच्छा यसअघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए। यसअघि छुट्टै रहेको बाल स्वास्थ्यका निर्देशक डा विकास लामिछानेलार्इ मन्त्रालयमा तानिएको छ। परिवार स्वास्थ्यका डा तारानाथ पोखरेललाई भने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको जिम्मेवारी दिइएको छ।