चितवन– चितवनका अस्पतालहरुमा भाइरल ज्वरो र रुघाखोकीका बिरामीको चाप बढेको छ ।
चितवनको भरतपुर अस्पताल, कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, नारायणी सामुदायिक अस्पताल, रत्ननगर अस्पताल, पुष्पाञ्जली अस्पताल, चितवन अस्पताल, चितवन मोडल अस्पताल, मनकामना अस्पताल, निको बाल अस्पतालमा उपचारका लागि अउने बिरामी बढिरहेका छन्।
यी अस्पतालहरुको बहिरंग सेवामा आएका बिरामी मध्ये २० प्रतिशत भाइरल ज्वरोका बिरामी रहेका डा. भोजराज अधिकारीले जानकारी दिए ।
गत वर्षभन्दा यसवर्ष भाइरल ज्वरोका बिरामीको संख्या ३० प्रतिशत बढेको चिकित्सकहरुले बताएका छन् । कुनै घरका सबै सदस्यहरु बिरामी भएर एकै पटक अस्पताल भर्ना हुन आएका छन्।
बिरामीहरुले लामो समय कुरेर मात्रै उपचार गराउन पाएको समेत बिरामीहरुका आफन्तले गुनासो गरेका छन् ।
अधिक ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने र रुघा लाग्ने भाइरल ज्वरोको लक्षण रहेको चिकित्सकहरुको भनाइ छ । अहिलेको ज्वरो समयमै उपचार गराए एक हस्ता भित्र निको हुने भएपनि बेवास्ता गर्न नहुने सरुवा प्रकृतिको भाइरल ज्वरोले एक छि अर्कोलाई आक्रमण गर्ने भएकाले सर्तक रहन चिकित्सकहरुले सुझाव दिएका छन्।
भाइरल ज्वरोबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन्।
उनले अहिले भरतपुर अस्पतालमा रुघाखोकी र ज्वरो आएकाहरु बढी देखिएको बताए । बढी गर्मी र पानी पर्ने गर्दा यस्ता खालको बिरामी बढी आउने गरेको उनको भनाइ छ।
भरतपुर अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. रविन खड्काले दैनिक एक हजार बिरामीले सेवा लिने अस्पतालमा ज्वरोका बिरामी विगतभन्दा निकै बढेको भन्दै सचेत हुन सर्वसाधारणलाई आग्रह गर्छन्।
अहिलेको अवस्था हेर्दा केही बिरामीलाई आइसियूमा राख्नुपरेको भए पनि डेगंको सम्भावना देखिएको छैन तर र्सतक हुन सबैमा आग्रह चिकित्सकहरुले आग्रह गरेका छन्।
ज्वरोबाट बच्न उमालेको पानी प्रयोग गर्ने, गर्मीमा गाह्रो काम नगर्ने, बाहिरका खाने कुरा नखाने, धेरै पानी खाने, झोलिलो खाने कुरा खाने, भीडभाडमा नजाने, माक्सको प्रयोग गर्ने, अरुसँग सकेसम्म हात नमिलाउने, एक मिटरभन्दा पर बस्न चिकित्सकहरुले सुझाव दिएका छन्।
के हो भाइरल ?
भाइरल फिबर एक गम्भीर संक्रमण हो । मानिसमा देखिने अधिकांश भाइरल फिबर ‘सिजनल फ्लु’ अथवा ‘इन्प्लुफन्जा फ्लु’ हो । भाइरल फिबरको संक्रमण सबैभन्दा बढी र छिटो बच्चाहरुमा हुन्छ।
जसको मुख्य कारण बच्चाहरुमा हुने कम रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) हो । भाइरल फिबर मौसम परिवर्तनको समयमा बढी देखिन्छ । मौसम परिवर्तनको समयमा मानिसको रोग प्रतिरोधात्मक प्रतिक्रिया (इम्युन रेस्पोन्स) मा कमी आउने गर्दछ।
बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण करिब सातदेखि दश दिनसम्म रहन सक्छ । जब रोग प्रतिरोधात्मक क्षमताको पर्याप्त विकास हुन्छ, भाइरल सङ्क्रमण आफै कम हुँदै जान्छ । दुई वर्षभन्दा कम उमेरका बच्चाहरुमा भाइरल फिबरको सङ्क्रमण भएमा अन्य खतराहरु समेत बढ्ने प्रबल सम्भावना हुन्छ । भाइरल फिबर धेरै भाइरसहरुको सङ्क्रमणबाट हुन्छ । उपचार नगराएको खण्डमा बच्चाहरुमा हुने इन्फ्लुलुन्जा फ्लु’ ले निमोनियासम्म गराउन सक्छ ।
भाइरल फिबरबाट कसरी जोगिने ?
– यदि तपाईंको बच्चा छ महिनादेखि २ वर्षभित्रको छ भने ‘फ्लु’ विरुद्धको खोप दिइनुपर्छ । यसका लागि डाक्टरसँग आवश्यक सल्लाह लिन जरुरी हुन्छ ।
– खोपको माध्यमबाट जीवनभर ‘भाइरल फिबर’ बाट जोगिन भने सकिँदैन किनभने खोप पनि निश्चित २ वा ३ फरक भाइरसको विरुद्ध मात्र तयार पारिएको हुन्छ ।
– संक्रमित व्यक्तिहरुबाट टाढा रहने ।
– हाच्छ्युँ गर्दा, खोक्दा रुमालले मुख छोप्ने । हात नमिलाउने ।
– पखाला अथवा वान्ता भएको छ भने व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
– हात राम्ररी साबुन–पानीले पखाल्ने ।
– ‘भाइरल फ्लु मौसम परिवर्तनको समयमा बढी देखिने हुनाले यो समयमा सचेत रहने । ‘भाइरल फ्लु भएका बच्चाहरुलाई कसरी सहयोग गर्ने ?
– प्रशस्त झोलिलो पदार्थ खुवाउने ।
– आमाको दूध प्रशस्त खुवाउने ।
– पखाला लागेमा जीवनजल खुवाउने ।
– दालको सुप, सागसब्जी तथा फ्लु खुवाउने ।
– घरैमा आराम गराउने ।
– बच्चाको स्याहार गर्ने व्यक्तिले राम्ररी साबुन–पानीले हात पखाल्ने जसको कारण परिवारका अन्य सदस्य सङ्क्रमणबाट जोगिन सक्छ ।
– घरका भ्याल–ढोका र भेन्टिलेसन खुल्ला राख्ने जसको कारण पर्याप्त हावाको आवागमन सहज बनोस् ।
– चाँडोभन्दा चाँडो बच्चालाई अस्पताल लैजाने ।
खतराका लक्षणहरु के–के हुन् ?
– दुई हप्ताभन्दा बढी खोकी लागेमा ।
– दुई हप्ताभन्दा बढी पखाला लागेमा दिसामा रगत देखिएमा ।
– एक हप्ता वा सोभन्दा बढी ज्वरो आइरहेमा ।
– लगातार वान्ता गरेमा ।
– सास फेर्न गाह्रो भएमा ।
– असाधारण निन्द्रा लागेमा ।
– खुट्टाहरु सुन्निएमा ।