काठमाडौं– दुखाई कम गर्न प्रयोग हुने ‘ट्र्यामाडोल’ एकल तथा समिश्रित औषधि विक्री वितरणबाट रोक लगाइएको छ । औषधि व्यवस्था विभागले सूचना जारी गर्दै यही भदौ १५ गतेदेखि यसको खुला विक्री वितरणमा रोक लगाउने भएको हो।
ट्र्यामाडोल दुःखाइ कम गर्न प्रयो हुने औषधी हो। खुला विक्री हुँदा लागूऔषध दुर्व्यसनीले विभिन् औषधीसित मिसाइ सेवन गर्ने गरेको पाइएको विभागका महानिर्देशक नारायण ढकालले बताए।
उनले भने, 'बजारमा यस औषधीको दुरुपयोग तथा विक्री वितरणमा पनि व्यापक अनियमितता बढेकाले यसको विक्री वितरणमा कडाइ गर्न लागिएको हो।'
ढकालका अनुसार विदेशमा पनि यसलाई लागू औषध सरह नै सुचिकृत गरेको पाइएकाले यसको नियन्त्रित प्रयोगका लागि प्रिस्कृप्सनको आधारमा रेकर्ड राखेर मात्र उपलब्ध गराउन लागिएको हो।
ढकाल भन्छन् ‘यो बजारमा नभए यसका अरु वैकल्पिक औषधीहरु छन्। यो नभइकन बिरामीलाई कुनै अवरोध हुने हुँदैन।’
औषधि सल्लाहकार समिति २०७५ असार २९ गतेको बैठकले ती बनावटका औषधीहरु सीमित स्थानहरुबाट मात्र विक्रीवितरण गर्ने निर्णय गरेको हो। साथै अस्पताल र फार्मेसीबाट चिकित्सकको प्रिस्कृप्सनको आधारमा रेकर्ड राखेर मात्र सिफारिस गर्न सूचना जारी गरेको छ।