काठमाडौं- गृहसचिव प्रेमकुमार राईले सरकार र डा गोविन्द केसीसँग साउन १० गते भएको ९ बुँदे सहमति विपरित प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताएका छन्।
नेपाल प्रहरी अस्पताल महाराजगंजको मंगलबार निरीक्षण तथा अवलोकन भ्रमण गरेपछि सचिव राईले अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गर्ने बताएका हुन्।
सरकार र डा केसीबीच भएको ९ बुँदे सहमतिमा काठमाडौं उपत्यकामा १० वर्ष मेडिकल कलेज नखोल्ने कुरा पनि छ। संसदको शिक्षा तथा स्वास्थ्य समितिमा रहेको चिकित्सा शिक्षा विधेयकमा उक्त सहमति अनुसारका बुँदा समावेश गर्न संशोधन समेत परेको छ।
तर, उक्त सहमति र विधेयकमा राखिने मुल विषय विपरित सचव राईले मेडिकल कलेज बनाउन पहल थाल्ने धारणा राखेका छन्।
भ्रमणको क्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई सम्बोधन गर्दै गृहसचिव राईले प्रहरी अस्पतालले अन्य अस्पताल सरह उत्कृष्ट स्वास्थ्य सेवासुविधा प्रदान गरेको चर्चा गर्दै मेडिकल कलेज बनाउनका लागि आवश्यक पहल गर्ने कुरामा जोड दिएको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा समेत उल्लेख छ।
निरीक्षणका क्रममा अस्पतालमा कार्यरत प्राविधिक जनशक्तिलाई अझै दक्ष बनाउने र वृत्तिविकासमा ध्यान दिई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै गृहसचिव राईले यसका लागि स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरिने पनि बताएका छन्।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी अस्पताललाई नमूना अस्पतालको रुपमा विकास गर्न अझै उत्कृष्ट र बिरामीमैत्री सुविधा सेवा प्रदान र वातावरण उपलब्ध गर्नुपर्नेमा जोड दिए।
अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा.दिनेशचन्द्र पोखरेलले विविध समस्याका बाबजुद अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन भौतिक पूर्वाधार, अस्पताल व्यवस्थापन, बिरामीलाई गर्ने व्यवहार, औषधी वितरण लगायतका विषयमा सकारात्मक परिवर्तन गर्दै आएको बताए।